आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै पार्टीभित्र महत्वपूर्ण निर्णय गरेको छ । असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको बैठकले पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनित गरेको छ । बैठकले सात जनालाई स्थायी कमिटी सदस्य चयन गर्नुका साथै ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनित हुन बाँकी सदस्यहरूलाई मनोनित गरेको छ। ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा स्थायी कमिटी सदस्य चयन भएका छन् । त्यस्तै यसअघि छुटेका र पार्टीमा समायोजन भएका मध्येबाट केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन माग गरेको छ। एमालेले बाढीमा १ हजार ४ सयभन्दा बढीको ज्यान गएको र ६ हजारभन्दा बढी अझै बेपत्ता रहेको उल्लेख गर्दै विस्थापित बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई केन्द्रमा राखेर पुनर्स्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । समसामयिक राजनीतिक विषयमा बैठकले सरकारमाथि विभिन्न आरोप लगाउँदै भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ। एमालेले पार्टी अध्यक्ष ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै सरकारको आलोचना गरेको छ। त्यस्तै, सुकुम्बासी विस्थापन, मानव अधिकार तथा मिडिया स्वतन्त्रताका विषयमा पनि बैठकले सरकारको आलोचना गरेको छ । बैठक समापन गर्दै अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टीका रूपमा प्रस्तुत भएको बताएका थिए। बैठकले स्थायी कमिटी पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद्, विभाग तथा ज्येष्ठ कम्युनिस्ट मञ्च गठनसम्बन्धी बाँकी कामको निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ। पार्टीको आन्तरिक एकता सुदृढ गर्दै पुनर्जागरण र सुदृढीकरणका योजनासहित आगामी दिनमा लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा केन्द्रित हुन बैठकले पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

२-   सरकारले खेलकुद क्षेत्रको विकासका लागि सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ । यससम्बन्धी समझदारीपत्रमा बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेका छन् । मन्त्री पोखरेलले तल्लो तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए। पहिलो चरणमा सातै प्रदेशमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हल निर्माण गरिने उनले जानकारी दिए । विद्यालय तहदेखि खेलकुदप्रति आकर्षण बढाउन पाठ्यक्रममा समेत खेलकुदलाई जोड्ने तयारी भइरहेको मन्त्री पोखरेलले बताए। नयाँ पूर्वाधारले विद्यालय तहबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाइ छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत आगामी तीन वर्षभित्र ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला स्तरोन्नति गर्ने तथा विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कम्तीमा २ हजार दर्शक क्षमताका बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने लक्ष्य राखेको छ । त्यस्तै, प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ ।

३- प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई आज रातिको सत्रमा सम्बोधन गर्दैछन् । राष्ट्रसंघले सार्वजनिक गरेको कार्यतालिका अनुसार न्यूयोर्क समयअनुसार २४ सेप्टेम्बर २०२६, बिहीबार दिउँसो ३ बजेदेखि शुरु हुने सत्रमा बोल्ने पालो छ । जुन नेपाली समयअनुसार यो सत्र शुक्रबार मध्यरात पौने १ बजेदेखि शुरु हुनेछ । नेपालको पालो दोस्रो सेसनको १७औं स्थानमा रहेको छ, जसअनुसार प्रधानमन्त्री शाहको पालो नेपाली समयअनुसार भोलि बिहान ४ बजेदेखि साढे ४ बजेको आसपास मात्र आउने देखिन्छ । प्रधानमन्त्री शाहले त्यसअघि राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस भ्रमणमा उनको अन्य भेटवार्ताको कुनै कार्यक्रम तय नभएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । महासभाको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक वेव टिभीको लिंक webtv.un.org मा प्रत्यक्ष प्रशारण हुनेछ । महासभामा परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका प्रतिनिधिहरुसँग साइडलाइन भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्री शाह भने सम्बोधन पछि तुरुन्तै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

४- इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी जलाशयमा वर्षायाममा पानीको सतह बढ्दै जाँदा बाँधको सुरक्षाका लागि साइरन बजाएर चेतावनी दिने व्यवस्था गरिएको जनाएको छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार बाँधको मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई साइरनमार्फत पूर्वसूचना दिइनेछ । पहिलो चेतावनी स्वरूप करिब एक मिनेट लामो साइरन बजाइनेछ । यस अवस्थामा जलाशयमा पानी भरिन लागेको जनाउँदै खोला किनारमा जुनसुकै उद्देश्यले जान पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । दोस्रो चेतावनी स्वरूप करिब दुई मिनेट लामो साइरन बजाइनेछ । यसलाई उच्च सतर्कताको संकेतका रूपमा लिइनेछ । जलाशयको सतह उच्चतम बिन्दुमा पुगेको अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा गर्भवतीलाई सुरक्षित स्थानमा लैजान आग्रह गरिएको छ । साथै, हेटौंडा–कुलेखानी–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन भनिएको छ । तेस्रो तथा अन्तिम चेतावनी स्वरूप लगातार छोटो–छोटो अन्तरालमा तीन पटक साइरन बजाइनेछ । यस अवस्थामा बाँधको मुख्य ढोका खोलिएको र नदीको सतह उच्च जोखिममा पुग्न सक्ने भएकाले नागरिकलाई तत्काल खोला किनार तथा गहिरो भाग छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । साथै, हेटौंडा–कुलेखानी–सिस्नेरी सडकखण्डमा आवतजावत नगर्न सूचित गरिएको छ ।

५- नेपाली कांग्रेसले १५ औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । विहिबार सामाजिक सञ्जालमार्फत् काँग्रेसले महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो ।  ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन- परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरिएको छ । त्यस्तै १५औं महाधिवेशनको लोगोमा पार्टीका यसअघिका सभापतिहरुलाई स्थान दिइएको छ । जसमा बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ । काँग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत हाल नगर अधिवेशन जारी रहेको छ भने त्यसपछि जिल्ला र प्रदेश हुदै यहि असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुने कार्यतालिका रहेको छ ।

६- बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभर ६५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ । मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले थप जनशक्ति तथा उद्धार सामग्रीसहित पूर्वतयारी योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । विपद् व्यवस्थापन तालिमप्राप्त २ हजार ६० जनासहित १३३ गोताखोर र २२४ जना डोरी उद्धार तथा उच्च भूभाग खोज तथा उद्धारमा तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ । डुबानमा परेकाको उद्धारका लागि १०३ वटा र्‍याफ्ट बोट र ५८ वटा मोटरबोट तयारी अवस्थामा राखिएको छ। खोज तथा उद्धारलाई प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त कुकुरसहितका टोली र पाँचवटा विशेष ड्रोनसमेत तयारी अवस्थामा राखिएको छ । सडक अवरोध हटाउन तथा ठूला उद्धारका लागि जोखिमयुक्त नदी करिडोर र प्रदेशस्थित बाहिनी मुख्यालयमा ह्विल लोडर, क्रेन र एक्साभेटरलगायत उपकरण तयारी अवस्थामा राखिएको छ । सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी, बागमती तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते र नख्खुलगायत नदी तथा खोलामा आवश्यक उद्धार सामग्रीसहित जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा थप १०/१० वटा र्‍याफ्ट बोट तयारी अवस्थामा राख्ने योजना पनि बनाइएको छ। मौसमको पूर्वानुमान र आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरीले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन माइकिङ गर्ने जनाएको छ । अत्यावश्यक कामबाहेक सडकमार्गबाट यात्रा नगर्न र सम्भावित विपद्बाट जोगिन विशेष सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।

७- नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज विहिबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५ अर्ब ४४ करोड ७३  लाख १३ हजार १६८ मा कारोबार भएको थियो । आज निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी नेपाल लुब आयलको शेयर १२.४७ प्रतिशतले बढेको छ भने सोनापुर मिनरल्सको शेयर ७.६५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मिड सोलु हाइड्रोको शेयर ११.५८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३५ करोड ८१ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टीलरीको ३५ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

images

८- जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । विहिबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३४-२५ ले पराजित गरेको थियो ।  श्रीलंकाविरुद्धको जितसँगै नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ । नेपाल अब प्रतियोगिताको सेमिफाइनलमा खेल्नेछ । नेपालले यसअघि चाइनिज ताइपेइसँग हार बेहोरेको थियो भने थाइल्याण्डलाई पराजित गरेको थियो ।

९- सर्वोच्च अदालतले भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ । विहिबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न परमादेश जारी गरेको हो । दाहाल पक्राउ परेपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो ।

images

१०- काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व. शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो । शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ । नेपालको उच्च तथा प्राविधिक शिक्षा विकासका अग्रणी व्यक्तित्वका रूपमा परिचित शर्माको बुधबार निधन भएको थियो । उनले दुई दशकभन्दा लामो समय काठमाडौँ विश्वविद्यालयको नेतृत्व गर्दै विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय र अन्तर्राष्ट्रिय पहिचानयुक्त शैक्षिक संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का संस्थापक निर्देशकसमेत थिए । उनले जुम्ला, दोलखाको जिरी र धनकुटामा पुगेर प्राविधिक शिक्षा सुरु गरेका थिए । शर्माले बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत काम गरेका थिए ।

११- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झट्का लागेको छ । संघीय न्यायाधीश टिमोथी केलीले सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउसमा पुनः प्रवेश दिन ट्रम्प प्रशासनलाई आदेश दिएपछि ट्रम्पलाई झट्का लागेको हो । तीन सञ्चारमाध्यमका पत्रकारमाथि ह्वाइट हाउस प्रवेशमा लगाइएको रोक असंवैधानिक हुन सक्ने प्रारम्भिक निष्कर्ष अदालतले निकालेको छ । ट्रम्प प्रशासनले सेप्टेम्बर १८ मा आफूलाई गलत र झुटा समाचार प्रकाशन गरेको आरोप लगाउँदै ती सञ्चारमाध्यमका पत्रकारको प्रवेश रोकेको थियो। उनीहरूको प्रेस परिचयपत्रसमेत निष्क्रिय गरिएको थियो । सञ्चारमाध्यमले अमेरिकी संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । अदालतमा न्याय विभागले ह्वाइट हाउस प्रवेश पत्रकारको असीमित अधिकार नभई विशेषाधिकार भएको दाबी गर्दै राष्ट्रिय सुरक्षासँग सम्बन्धित कारण देखाएको थियो । सञ्चारमाध्यमका तर्फबाट भने प्रतिबन्धको सुरुवाती कारण समाचार सामग्रीलाई बनाइएको र पछि राष्ट्रिय सुरक्षाको तर्क अघि सारिएको दाबी गरिएको थियो । अदालतको आदेशसँगै ट्रम्प प्रशासनले ती तीन सञ्चारमाध्यमका पत्रकारको ह्वाइट हाउस प्रवेश पुनःबहाल गर्नुपर्ने भएको छ ।

images

१२- नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ सिरिजको बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले सिरिज २०२५ अन्तर्गतको एक हजार रुपैयाँको नोट असोज ५ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्रसँगै दायाँतर्फ लालीगुराँसको पानीछाप रहनेछ । पानीछापमा ‘१०००’ अंकसमेत रहनेछ । नोटको अगाडिको तल्लो भागमा दृष्टिविहीनले स्पर्शबाट पहिचान गर्न सक्ने गरी ‘एम’ अक्षरसहित १०/१० वटा तेर्सा रेखा राखिएको छ । नोटमा चलायमान विशेषता भएको सुरक्षण धागोमा ‘एनआरबी’ र ‘१०००’ अंकसमेत उल्लेख गरिएको छ । नोटको पछाडिको भागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा रहेका नेपाली हात्तीमध्ये ‘देवकली’बाट जन्मिएका दुर्लभ मानिने ‘राम’ र ‘लक्ष्मण’ नामका दुई हात्तीको चित्र राखिएको छ। चित्रमाथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको पछाडिको बायाँ भागमा सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसको चित्र राखिएको छ । दायाँतर्फ ‘रुपिज वन थाउजेन्ड’ लेखिएको छ भने हनुमानढोकास्थित ऐतिहासिक महत्वको नौतले दरबारको आकृति पनि राखिएको छ । नोटको तल्लो भागमा ‘२०२५ एडी’ सिरिज नम्बर उल्लेख गरिएको छ। नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ । राष्ट्र बैंकले यसअघि एक हजार रुपैयाँ दरको बैंकनोट सिरिज २०१९ चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेकोमा अहिले सिरिज २०२५ को नोट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ । राष्ट्र बैंकले नयाँ नोट पनि प्रचलित एक हजार रुपैयाँकै दरमा चल्ने र पुरानो नोटको कानुनी मान्यता कायमै रहने जनाएको छ ।

१३- नेकपा एमालेका सांसद गुरु बरालले पछिल्लो समय न्यायिक प्रणालीमाथि पटक–पटक प्रहार भइरहेको भन्दै प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बरालले सत्तापक्षका सांसदले अदालतका फैसलाप्रति राजनीतिक आक्रोश पोख्ने, न्यायाधीशलाई धम्की दिने तथा आरोप लगाउने गरेको भन्दै आपत्ति जनाए । अदालतलाई दबाबमा राख्ने वा नियन्त्रण गर्ने प्रयासले नागरिकको न्याय पाउने मौलिक अधिकार प्रभावित हुने उनले बताए । संसद्ले कानुन बनाउने भए पनि संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार न्यायपालिकासँग रहेको उनको भनाइ थियो । सरकार वा सत्तारूढ दल संविधान र कानुनको सीमाबाहिर जान खोज्दा रोक्नु अदालतको संवैधानिक जिम्मेवारी भएको भन्दै बरालले अदालतसँग बदला लिने प्रवृत्ति लोकतान्त्रिक संस्कार नभएको बताए । उनले न्यायपालिकाको स्वतन्त्रता र संविधानको सर्वोच्चता कायम राख्दै आवश्यक सुधारका पक्षमा एमाले रहेको बताए । बरालपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नियमापत्ति गर्दै आफूहरूले अदालतलाई कमजोर बनाउन नभई कमजोर बनेको अदालतलाई सक्षम, उत्तरदायी र प्रभावकारी बनाउन संसद्मा आवाज उठाएको बताए । अदालतमा सिन्डिकेट कायम रहेको आरोप लगाउँदै न्यौपानेले त्यसको अन्त्य गरी सक्षम न्यायाधीशबाट न्याय सम्पादन हुनुपर्ने धारणा राखे । संसद्ले मुद्दाको पुनरावेदन नसुने पनि अदालतका गलत फैसलाबारे अध्ययन र छलफल गर्न सक्ने उनको तर्क थियो । त्यसपछि एमाले सांसद बरालले पुनः आपत्ति जनाउँदै अदालतका फैसलाबारे संसद्ले अध्ययन गर्न नमिल्ने व्यवस्थालाई ख्याल गर्न न्यौपानेलाई आग्रह गरेका थिए । अदालतका कामकारबाही, सुधार तथा आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी न्याय परिषद्को रहेको उनले बताए ।

१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा तत्काल टुंग्याउन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कुँवरले आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि युवाका माग सम्बोधन नभएको भन्दै किन ढिलाइ भइरहेको छ भन्दै सरकारलाई प्रश्न गरेकी छन् । उनले भनिन्- ‘असन्तोष एकै दिन जन्मिँदैन र परिवर्तनको चाहना पनि एकै दिन सडकमा आउदैन् । हामी सबैको आआफ्ना क्षमता र योगदान संघष होलान् । आज हामी जुन ठाउँमा छौँ । जुन आवाज लिएर यस सदनमा उभिएका छौँ । त्यसको दिन जेनजी आन्दोलन हो भन्ने कुरा हामीले बिर्सन हुदैन् ।’ उनले कानुन कार्यान्वयनमा समस्या भए सुधार गर्न र न्याय प्रक्रियामा ढिलाइ भएको भए त्यसलाई तत्काल सम्बोधन गर्न आग्रह गरिन् । आन्दोलनबाट प्रभावित परिवार अझै न्यायको प्रतीक्षामा रहेको भन्दै उनले चाडपर्वको समयमा पनि धेरै आमाहरू आफ्ना छोराछोरी घर फर्किने आशामा रहेको उल्लेख गरिन् ।

१५- संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई प्रक्रिया अघि बढेको छ । बिहीबार बसेको समितिको बैठकले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेको प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।  प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिएका छन् । सुनुवाइका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नामबारे आम नागरिकलाई जानकारी गराउन तथा प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विधुतिय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कल्याणराज शर्मा, चीन , चिरनजंग थापा, संयुक्त राज्य अमेरिका, पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, बेलायत,५. जिग्यान कुमार थापा, जापान, सुरेशकुमार कर्ण, इजरायल,  प्राप्ति शेरचन, स्पेन,  सरू जोशी, जर्मनी, डा. पद्माक्षी राणा, ओमान, १०. चूडामणि खरेल, मलेसिया,  प्रा. डा. सङ्गम श्रेष्ठ, दक्षिण कोरिया, डा. मंचल झा, श्रीलंका,. गिरीबहादुर सुनार साउदी अरेबियाका  लागि राजदूत सिफारिस गरेको हो । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

Nepal life insurance

१६-  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले भारत, घाना, नेपाल, ताजिकिस्तान, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत देशका नागरिकलाई कथित रूपमा झुक्याएर रूस लगिएको र युद्धको मैदानमा प्रयोग गरिएको बताएका हुन् । उनले सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकको सुरक्षा गर्न र उनीहरूलाई युद्धको मोर्चामा पुग्नबाट रोक्न आग्रह गरेका छन् । जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना नागरिकलाई युद्धमा तान्न नदिन सम्बन्धित देशले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । रूसलाई युद्ध जारी राख्न आवश्यक पर्ने आर्थिक स्रोत र सैन्य क्षमता सीमित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । उनले रूससँग व्यापार गरेर ठूलो रकम उपलब्ध गराउने देशहरूले अप्रत्यक्ष रूपमा युद्ध लम्ब्याउन सहयोग पुगिरहेको दाबी गर्दै रूसमाथि आर्थिक दबाब बढाउन आह्वान गरेका छन् । अमेरिकाले रूसमाथि लगाएका नयाँ प्रतिबन्धको उदाहरण दिँदै अन्य देशलाई पनि त्यस्तै कदम चाल्न आग्रह गरेका छन् । जेलेन्स्कीले भारतको नाम ब्ल्याक सीमा तनाव कम गर्ने प्रयासका सन्दर्भमा पनि उल्लेख गरेका छन् । उनका अनुसार भारत, इजिप्ट र टर्कीले ब्ल्याक सी मा व्यावसायिक पानीजहाजको सुरक्षित आवागमन पुनःस्थापित गर्न प्रस्ताव गरेका छन् । युक्रेन समुद्री युद्धविरामका लागि तयार रहेको र अब रूसको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको उनले बताएका छन् । जेलेन्स्कीले आगामी जाडोमा युक्रेनका लागि कठिन हुन सक्ने बताएका छन् । रूसबाट भइरहेका क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण युक्रेनको हवाई सुरक्षा प्रणाली थप बलियो बनाउनुपर्ने उनले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटमा युक्रेनको हवाई सुरक्षा तथा प्याट्रियट क्षेप्यास्त्रको उत्पादन क्षमता बलियो बनाउने विषयमा छलफल भएको उनले जानकारी दिएका छन् । जेलेन्स्कीले युद्धलाई थप लम्बिन नदिन रूसमाथि दबाब बढाउन आवश्यक रहेको बताएका छन् । साथै नेपाल र भारतसहित ४७ देशलाई आफ्ना नागरिकलाई रूस–युक्रेन युद्धबाट टाढा राख्न उनले पुनः आग्रह गरेका छन् ।

१७- नेपालगन्जबाट उडेको सीता एयरको जहाज डोल्पाको जुफाल विमानस्थलमा अवतरणको क्रममा एउटा पांग्रा फुस्किएको छ । प्रहरीका अनुसार नेपालगन्जबाट उडेको सीता एयरको ९एन एजे जहाज बिहान ८:२५ बजे डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममामा जहाजको पछाडिको चक्का फुस्किएको थियो । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

१८-  परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा देखिएको जलवायुजन्य विपत्तिलाई मानवीय संकटसँगै विकास, न्याय र अस्तित्वको संकटका रूपमा लिनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिवको जलवायु कार्य तथा न्यायोचित रूपान्तरणसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालले भोगेको विपत्तिलाई ‘हिमाली सुनामी’को संज्ञा दिएका छन् । उनले यो आफूहरूले देखेको सबैभन्दा दुःखद हिमाली विपत्ति भएको उल्लेख गर्दै अहिले देखिएको विनाश मात्र शोकको विषय नभई विश्व समुदायले बेवास्ता गरिरहेमा भविष्यमा अझ ठूलो खतरा उत्पन्न हुने चेतावनी दिएका छन् । मन्त्री खनालले नेपालको जलवायु विपत्तिले वर्षौँको प्रयासबाट हासिल भएका विकासका उपलब्धिसमेत उल्ट्याइरहेको बताएका छन् । उनका अनुसार यो अवस्था मानवीय आपत्काल मात्र नभई विकास, न्याय र अस्तित्वसँग जोडिएको संकट हो । उनले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सहज रूपमा उपलब्ध हुने जलवायु वित्त, अनुकूलनका कार्यक्रम विस्तार, पूर्वसूचना प्रणालीको विकास तथा सुलभ प्रविधिको पहुँच आवश्यक रहेको बताएका छन् । मन्त्री खनालले जलवायुजन्य क्षति र नोक्सानीका लागि पर्याप्त स्रोतसहितको कोष आवश्यक रहेको पनि बताएका छन् । उनले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने लक्ष्य कायम राख्न विश्व समुदायले थप प्रभावकारी र ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

१९- जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को पहिलो खेलमा अफगानिस्तानले आयोजक जापानलाई ४८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । निसिनस्थित कोरोगी खेलकुद पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछाएको जापानले १९.३ ओभरमा अल आउट हुदै ८१ रन मात्र बनाएको थियो । यसअघि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । जापानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। अफगानिस्तानले सुरुवातमा केही संयमित ब्याटिङ गरे पनि मोहम्मद अक्रम र करिम जनातको महत्वपूर्ण योगदानमा सम्मानजनक योगफल खडा गरेको थियो । यससँगै अफगानिस्तानले समूह ‘ए’ मा महत्वपूर्ण २ अंक जोडेको छ । समूहमा अफगानिस्तान, नेपाल र जापान रहेका छन् । अफगानिस्तानले अब अर्को खेलमा शुक्रबार नेपालसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

२०- चिनियाँ राष्ट्रपति सी जीनपिङबीच अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर सीको स्वागत गरेका छन् । राष्ट्रपति सी पत्नी पेङ लियुआन र चिनियाँ प्रतिनिधिमण्डलसहित अमेरिका पुगेका हुन् । राष्ट्रपति ट्रम्पले पत्नी मेलानियासँगै विमानस्थल पुगेर सीको स्वागत गरेका थिए । विमानस्थलमा अमेरिकी सेनाले सीलाई सम्मान गार्ड अफ अनरसमेत दिएको थियो । ट्रम्प र सीबीचको भेटवार्ता विश्वका दुई प्रमुख शक्तिबीचको सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका लागि विश्वभरका प्रतिनिधि न्युयोर्कमा भेला भएका बेला उनीहरूबीच वार्ता हुन लागेको हो । वार्तामा पश्चिम एसियाको पछिल्लो अवस्था, इरानमाथि दबाब, व्यापार, प्रविधि तथा क्षेत्रीय सुरक्षालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । अमेरिका र चीनबीच जारी व्यापार विवादलाई सम्बोधन गर्दै दीर्घकालीन व्यापार सम्झौताको आधार तयार गर्ने विषय वार्ताको प्रमुख एजेन्डामा रहनेछ । दुई देशबीचको व्यापारमा लगाइएको महसुल तथा व्यापारिक प्रतिबन्धबारे पनि छलफल हुने बताइएको छ । कृत्रिम बौद्धिकताका उन्नत प्रणालीबाट उत्पन्न सुरक्षा जोखिम तथा अमेरिकी अर्धचालक र चिप निर्यातमा लगाइएका नियन्त्रणबारे पनि छलफल हुने सम्भावना छ । कृत्रिम बौद्धिकता तथा हरित ऊर्जाका लागि आवश्यक दुर्लभ खनिज र धातुको आपूर्तिसँग सम्बन्धित विषय पनि वार्ताको एजेन्डामा रहनेछ । चीनले यस्ता सामग्रीको निर्यातमा लगाएका प्रतिबन्ध तथा त्यसमा सम्भावित सहजताबारे छलफल हुन सक्नेछ । ताइवान तथा हिन्द–प्रशान्त क्षेत्रमा सैन्य सन्तुलन र ताइवान जलडमरूमध्यमा स्थिरता कायम गर्ने विषयमा पनि दुवै नेताबीच छलफल हुने अपेक्षा गरिएको छ । पश्चिम एसियाको संकट, इरानसँग सम्बन्धित तनाव तथा विश्वव्यापी लागुऔषध तस्करी नियन्त्रणमा चिनियाँ सहयोगका विषयमा पनि छलफल हुन सक्नेछ । अमेरिका र चीनबीच प्रत्यक्ष संवाद अघि बढ्दा विश्व अर्थतन्त्र, एसियाली बजार तथा क्षेत्रीय राजनीतिक वातावरणमा यसको प्रभाव पर्न सक्ने भएकाले भारतलगायत अन्य देशले पनि वार्तालाई चासोका साथ हेरिरहेका छन् ।