
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ । पछिल्लो अपडेट अनुसार चीन ९८ स्वर्ण, ३७ रजत र २४ कांस्यसहित कुल १५९ पदक जितेर शीर्ष स्थानमा रहेको छ । आयोजक जापान २८ स्वर्ण, ४३ रजत र ४४ कांस्यसहित ११५ पदक जितेर दोस्रो स्थानमा छ भने दक्षिण कोरिया १३ स्वर्ण, १७ रजत र ३४ कांस्यसहित ६४ पदक जितेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै, कजाकिस्तान ८ स्वर्ण, ८ रजत र १४ कांस्यसहित ३० पदक जितेर चौथो तथा उज्बेकिस्तान ७ स्वर्ण, १५ रजत र ९ कांस्यसहित ३१ पदक जितेर पाँचौँ स्थानमा छन् । इरानले ६ स्वर्ण, ११ रजत र ७ कांस्यसहित २४ पदक जितेको छभने थाइल्यान्डले ६ स्वर्ण, ६ रजत र ८ कांस्यसहित २० पदक जित्दै सातौँ स्थान ओगटेको छ । हङकङले ४ स्वर्ण, ११ रजत र ११ कांस्यसहित २६ पदक जितेको छ भने उत्तर कोरियाले ४ स्वर्ण, ४ रजत र ३ कांस्यसहित ११ पदक तथा बहराइनले ४ स्वर्ण, २ रजत र २ कांस्यसहित ८ पदक जितेका छन् । मलेसिया ४ स्वर्ण, १ रजत र ५ कांस्यसहित १० पदकसहित ११औँ स्थानमा छ भने भारत २ स्वर्ण, ९ रजत र १२ कांस्यसहित २३ पदक जितेर १२औँ स्थानमा तथा चाइनिज ताइपेईले २ स्वर्ण, ५ रजत र १६ कांस्यसहित २३ पदक जितेको छ । फिलिपिन्सले २ स्वर्ण, २ रजत र ५ कांस्यसहित ९ पदक जितेको छ भने कतारले २ स्वर्ण, २ रजत र १ कांस्यसहित ५ पदक तथा कुवेतले २ स्वर्ण, १ रजत र २ कांस्यसहित ५ पदक जितेका छन् । त्यस्तै, ताजिकिस्तानले २ स्वर्ण, १ रजत र १ कांस्यसहित ४ पदक जितेको छ भने सिंगापुरले १ स्वर्ण, ५ रजत र ३ कांस्यसहित ९ पदक जितेको छ । त्यसैगरी, इन्डोनेसियाले १ स्वर्ण, ४ रजत र १७ कांस्यसहित २२ पदक जितेको छ भने मकाउले १ स्वर्ण, ४ रजत र १ कांस्यसहित ६ पदक तथा भियतनामले १ स्वर्ण, १ रजत र १६ कांस्यसहित १८ पदक जितेका छन् । त्यस्तै, जोर्डन र म्यानमारले समान १ स्वर्ण, १ रजत र १ कांस्यसहित ३–३ पदक जितेका छन् भने साउदी अरबले २ रजत र ४ कांस्यसहित ६ पदक तथा किर्गिस्तानले १ रजत र ३ कांस्यसहित ४ पदक जितेको छ । त्यसैगरी, अफगानिस्तान र इराकले समान १ रजत र २ कांस्यसहित ३–३ पदक जितेका छन् भने लेबनानले १ रजत र १ कांस्यसहित २ पदक जितेको छ । त्यस्तै, श्रीलंका र तुर्कमेनिस्तानले समान १ रजत पदक जितेका छन् भने कम्बोडियाले ४ कांस्य पदक जितेको छ । नेपालले भने २ कांस्य पदक जितेको छ । नेपालसँगै पाकिस्तानले पनि २ कांस्य पदक जितेको छ । यसअघि कराँतेमा कास्य जितेको नेपालले शुक्रबार महिला कबड्डीमा कास्य पदक जितेको हो । त्यसैगरी बंगलादेश, ब्रुनाई, मंगोलिया र सिरियाले समान १–१ कांस्य पदक जितेका छन् ।


२- राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा आयोजित विशेष कार्यक्रममा सरिक भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गरेकी थिइन् । इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्र अवलोकन गर्न राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका थिए । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

३- लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनका लागि नयाँ समयतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको अविरल तथा भारी वर्षाका कारण सडकमा अत्यधिक चाप परेको भन्दै मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा तोकिएको समयअनुसार मात्रै सञ्चालन गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार हेटौंडाबाट काठमाडौं जाने सवारीसाधनले चौकीटोलबाट असोज ९ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै यात्रा गर्न पाउनेछन् । त्यस्तै, असोज १० गते बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म हेटौंडाबाट काठमाडौं जाने सवारीसाधन सञ्चालन गर्न सकिनेछ । काठमाडौंबाट हेटौंडातर्फ आउने सवारीसाधनका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ९ गते साँझ ७ बजेदेखि राति ११ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ । असोज १० गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म काठमाडौंबाट हेटौंडातर्फ सवारी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । यसैबीच, अर्को व्यवस्था नभएसम्म इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा ठूला र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा पूर्ण रूपमा निषेध गरिएको छ । यात्रुवाहक सवारीसाधनको हकमा भने ११ मिटर लम्बाइसम्मका सवारीसाधनले मात्रै त्रिभुवन राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चालक, व्यवसायी तथा यात्रुलाई तोकिएको समयतालिकाअनुसार मात्रै यात्रा गर्न आग्रह गरेको छ ।


४- पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् । भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, आपसी सम्पर्क विस्तारलगायत विभिन्न विषयमा गहन छलफल भएको छ । राजदूत झाङले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा चीनले सक्दो सहयोग जारी राख्ने बताएका छन् ।
५- वेस्टइन्डिज क्रिकेट बोर्डले आर्थिक संकटका कारण आफ्ना क्रिकेटरको पारिश्रमिकमा २५ प्रतिशत कटौती गरेको छ । बोर्डले खर्च घटाउने उद्देश्यले यस वर्षको पुरुष सुपर–५० र महिला टी–२० ब्लेज प्रतियोगितासमेत स्थगित गरेको छ । मिडिया रिपोर्टका अनुसार घरेलु खेलाडीको सम्झौता अवधि घटाएर सात महिनामा सीमित गरिएको छ । अन्तर्राष्ट्रिय खेलाडीका लागि भने १२ महिनाको पारिश्रमिक सम्झौता यथावत् रहनेछ । वेस्टइन्डिज क्रिकेटका प्रमुख कार्यकारी क्रिस डेहरिङले बोर्डले आर्थिक, विकास र प्रतिस्पर्धात्मक क्षेत्रमा विभिन्न चुनौती सामना गरिरहेको बताएका छन् । उनले पारिश्रमिक कटौती आदर्श निर्णय नभए पनि आर्थिक स्थायित्वका लागि आवश्यक रहेको बताएका छन् । डेहरिङका अनुसार पछिल्लो १५ वर्षमा क्रिकेट वेस्टइन्डिजले घरेलु हवाई यात्रामा ८ करोड अमेरिकी डलर खर्च गरेको छ । तर त्यसबापत बोर्डले कुनै प्रायोजन प्राप्त नगरेको उनको भनाइ छ । यात्रा र बसोबासमा हुने खर्चले बोर्डमाथि आर्थिक दबाब बढाएको उनले बताएका छन् । आर्थिक संकटबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले क्रिकेट वेस्टइन्डिजलाई १ करोड ६० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । तर उक्त रकम प्राप्त गर्न बोर्डले परिषद्ले तोकेका आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ । स्थगित गरिएका सुपर–५० र टी–२० ब्लेज प्रतियोगिताको सट्टा सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि पुरुष र महिला क्रिकेटको छनोट प्रतियोगिता आयोजना गर्ने निर्णय बोर्डले गरेको छ । वेस्टइन्डिज क्रिकेटले विश्वभर भइरहेका आकर्षक टी–२० फ्रेन्चाइज प्रतियोगिताका कारण खेलाडीलाई राष्ट्रिय टोलीसँग जोडिराख्ने चुनौती पनि सामना गर्दै आएको छ । पारिश्रमिकमा कटौतीपछि खेलाडीलाई केन्द्रीय सम्झौतामा टिकाइराख्ने चुनौती थप बढ्न सक्ने देखिएको छ ।

६- नेपालको टी-२० वरियतामा दुई स्थानको सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) ले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालको २ स्थानको सुधार आएको हो । नेपाल १६औं स्थानबाट १४औं स्थानमा उक्लिएको छ । नेपाल लामो समयदेखि १६औं स्थानमा यथावत रहेको थियो । नेपालले आजै एशियाली खेलकुद अन्तर्गत अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टी–२० अन्तर्राष्ट्रियको शिर्ष स्थानमा भारत रहेको छ । अफगानिस्तान आज नेपालसँग हारेपछि एक स्थान तल झरेर १०औं स्थानमा ओर्लिएको छ भने श्रीलंका नवौं स्थानमा उक्लिएको छ ।
७- भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले मनाङका विभिन्न उच्च हिमाली क्षेत्रमा तीन दिन पदयात्रा गर्न रोक लगाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । सम्भावित मानवीय क्षतिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मनाङको असोज ८ गतेको निर्णयअनुसार असोज ९ देखि ११ गतेसम्म तिलिचो ताल, थोरङ्लापास, आइस लेक, कालापास र भीमथाङ क्षेत्र तथा अन्य उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ । यसअघि नै पदयात्राका लागि बाटोमा रहेका पर्यटकलाई समेत सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय मनाङले अनुरोध गरेको छ ।
८- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउसो २ बजेसम्म १ हजार ४५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५१ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
९- अमेरिकाको एटलान्टा चिडियाखानामा केही दिनमै दुईवटा विशाल पाण्डा नयाँ बासस्थानका रूपमा पुग्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जीनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको ह्वाइट हाउसको स्वागत समारोहमा बोल्दै यसको जानकारी दिएका हुन् । चीन वन्यजन्तु संरक्षण संघ र एटलान्टा चिडियाखानाबीच गत वर्ष विशाल पाण्डाको संरक्षण तथा अनुसन्धानमा नयाँ चरणको अन्तर्राष्ट्रिय सहकार्य सुरु गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार चीनको छेन्दुस्थित विशाल पाण्डा प्रजनन अनुसन्धान केन्द्रबाट भाले पिङ पिङ र पोथी फु श्वाङलाई १० वर्षे संरक्षण सहकार्यका लागि अमेरिका पठाइने भएको हो । पाण्डाको स्वास्थ्य तथा सुरक्षित बसोबास सुनिश्चित गर्न अमेरिकी पक्षले उनीहरूको आगमनअघि चिडियाखानास्थित पाण्डा राख्ने संरचनाको स्तरोन्नति र पुनर्निर्माण गरेको छ । चिनियाँ विज्ञहरूले समेत संरचना, हेरचाह, व्यवस्थापन, खाद्य सामग्री तथा स्वास्थ्य उपचारसम्बन्धी मापदण्डबारे प्राविधिक मार्गदर्शन दिएका छन् । चीन र अमेरिकाबीच विशाल पाण्डा संरक्षणसम्बन्धी सहकार्य लामो समयदेखि सञ्चालन हुँदै आएको वन्यजन्तु संरक्षण कार्यक्रममध्ये एक हो । सन् १९९४ मा चीन वन्यजन्तु संरक्षण संघ र सान डिएगो चिडियाखानाबीच सम्झौता भएपछि दुई देशबीच पाण्डा संरक्षण सहकार्य सुरु भएको थियो । तीन दशकभन्दा लामो सहकार्यमा दुवै देशका अनुसन्धानकर्ताले पाण्डाको व्यवहार, पोषण, पशु उपचार, प्रजनन, आनुवंशिक अध्ययन तथा रोग रोकथामलगायत क्षेत्रमा संयुक्त अनुसन्धान गर्दै आएका छन् । अमेरिकामा रहेका विशाल पाण्डाबाट हालसम्म १७ वटा पाण्डाका बच्चा जीवित जन्मिएका छन् । तीमध्ये सान डिएगोमा ६, वासिङ्टनमा ४ र एटलान्टामा ७ वटा जन्मिएका छन्। प्रत्येक पाण्डाको जन्मले अमेरिकामा पाण्डाप्रति आकर्षण बढाउँदै आएको बताइएको छ । नयाँ चरणको चीन–अमेरिका सहकार्यअन्तर्गत पाण्डामा देखिने प्रमुख रोगको रोकथाम तथा उपचार, वैज्ञानिक तथा प्राविधिक आदानप्रदान, जंगली पाण्डाको संरक्षण र विशाल पाण्डा राष्ट्रिय निकुञ्जको विकासलगायत क्षेत्रमा सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ ।


१०- नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा सन्दीप जोराले सर्बाधिक ३४ रन बनाएका थिए भने रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए । त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए । त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए । अब नेपालले शनिबार जापानसँग खेल्ने तालिका छ ।
११- लगातार भइरहेको वर्षाका कारण फोहर ढुवानी तथा व्यवस्थापनमा समस्या भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि घरबाट फोहर बाहिर ननिकाल्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाका अनुसार फोहर ढुवानी गर्ने सडक तथा फोहर विसर्जन गर्ने ठाउँमा माथिबाट लेदोसहितको माटो खसिरहेका कारण फोहर संकलन, ढुवानी तथा विसर्जनमा असहजता उत्पन्न भएको हो । वर्षाका कारण केही समय फोहर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भएकाले महानगरपालिकाले घरधनी, व्यवसायी तथा सबै महानगरवासीलाई फोहर सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा अन्य खुला स्थानमा नफाल्न आग्रह गरेको छ । फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म घर वा आफ्नै परिसरभित्र फोहर सुरक्षित रूपमा राख्न तथा सड्ने र नसड्ने फोहर छुट्याएर व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गरेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । वर्षा तथा फोहर विसर्जन गर्ने ठाउँको अवस्था सामान्य भएपछि फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।
१२- नेपालभर देखिएको प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले मौसम प्रतिकुल भएपछि आन्तरिक उडान रद्ध या ढिला भएका छन् । सम्बन्धित वायुसेवा कम्पनीहरूले यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट वा मोबाइल एपमार्फत आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरेका छन् । यात्रुहरूलाई विमानस्थल पुग्न थप समय लाग्न सक्ने भएकाले सोहीअनुसार यात्रा योजना बनाउन पनि अनुरोध गरिएको छ ।

१३- अमेरिका र चीनबीच व्यापार तथा प्रविधिलाई लिएर तनाव जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । भेटवार्तामा ताइवान, कृत्रिम बुद्धिमत्ता, व्यापार तथा दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउने विषयमा छलफल भएको मिडिया रिपोर्टमा उल्लेख छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सीले अमेरिकासँग ‘ताइवानको स्वतन्त्रता’को विरोध गर्न आग्रह गरेका छन् । उनले ताइवानको विषयलाई सावधानीपूर्वक व्यवस्थापन गर्न पनि अमेरिकालाई आग्रह गरेका छन् । सीले चीनको राष्ट्रिय एकता र क्षेत्रीय अखण्डताबारे चीनको धारणा स्पष्ट रहेको बताएका थिए । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै राष्ट्रिय एकीकरणको पक्षमा रहेको बताउँदै आएको छ । ताइवान भने स्वशासित लोकतान्त्रिक व्यवस्थाअन्तर्गत सञ्चालन हुँदै आएको छ। भेटवार्तामा कृत्रिम बुद्धिमत्ताको विषय पनि महत्वपूर्ण रूपमा उठेको थियो । सीले अमेरिका र चीन दुवैसँग कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा बलियो क्षमता रहेको भन्दै प्रतिस्पर्धासँगै सहकार्य बढाउनुपर्ने बताएका थिए । कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुने जोखिम र फाइदाबारे निरन्तर संवाद गर्न तथा यसको गलत प्रयोग रोक्न दुवै देशले मिलेर काम गर्नुपर्ने उनको प्रस्ताव थियो । कृत्रिम बुद्धिमत्तामाथि मानिसको नियन्त्रण कायम रहनुपर्ने र यसको विकास मानव हितमा केन्द्रित हुनुपर्नेमा पनि सीले जोड दिएका थिए । राष्ट्रपति ट्रम्पले सीको भ्रमणलाई महत्वपूर्ण बताउँदै अमेरिका र चीनबीच आर्थिक तथा व्यापारिक वार्ता जारी राख्नुपर्नेमा जोड दिएका थिए । दुवै पक्षले निरन्तर संवादमार्फत थप राम्रो व्यापार सम्झौताको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो । कृत्रिम बुद्धिमत्ताका विषयमा पनि दुवै देशबीच संवाद र सहकार्य बढाउने विषयमा ट्रम्पले सहमति जनाएका थिए । उनले कृत्रिम बुद्धिमत्तालाई मानवताको भविष्यसँग जोडिएको महत्वपूर्ण प्रविधिका रूपमा उल्लेख गरेका थिए । सीले अमेरिका र चीनबीच रचनात्मक तथा रणनीतिक रूपमा स्थिर सम्बन्ध निर्माण गर्नुपर्ने बताएका थिए । सहकार्यलाई सम्बन्धको मुख्य आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्नुपर्ने र मतभेदलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो । हालै भएका आर्थिक तथा व्यापारिक वार्ताको उल्लेख गर्दै सीले सहकार्यका क्षेत्र विस्तार र विवादका विषय न्यूनीकरण गर्नुपर्ने बताएका थिए । समानता, पारस्परिक सम्मान र पारस्परिक लाभका आधारमा दुई देशले मतभेद समाधानको बाटो खोज्न सक्ने उनको धारणा थियो । दुवै नेताले ताइवान र कृत्रिम बुद्धिमत्ताबाहेक मध्यपूर्वको अवस्था, युक्रेन संकट तथा कोरियाली प्रायद्वीपका पछिल्ला घटनाक्रमबारे पनि विचार आदानप्रदान गरेका थिए । आगामी दिनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोगको आर्थिक नेताहरूको बैठक तथा जी-२० शिखर सम्मेलनको आयोजना गर्दा एकअर्कालाई सहयोग गर्ने विषयमा पनि दुवैबीच सहमति भएको जनाइएको छ । ट्रम्प र सीबीचको भेटवार्ता व्यापार, प्रविधि तथा अन्य रणनीतिक विषयमा दुई देशबीच संवाद जारी रहेका बेला भएको हो । भेटवार्तामा ताइवानजस्तो संवेदनशील विषयमा मतभेद कायम रहे पनि कृत्रिम बुद्धिमत्ता र व्यापारजस्ता क्षेत्रमा संवाद तथा सहकार्यलाई निरन्तरता दिने संकेत देखिएको छ ।
१४- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०/२० मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा सफलापूर्वक समाहित गरिएको हो । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ परीक्षण उत्पादन १५ दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक एवम् रघुगंगा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोभिड–१९ महामारी, बाढीलगायतका चुनौतीका बाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताए । उनले विद्युतको उच्च माग हुने साँझको समयमा (पिक) दैनिक दैनिक चार घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुक्खायाममा विद्युत् माग व्यवस्थापनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे । आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ । कुल वार्षिक ऊर्जामध्ये करिब ३४ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुनेछ । निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ रहेको छ । आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरण लगानी र भारतको एक्जिम बैंकको लाइन अफ क्रेडिटअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणबाट वित्तीय व्यवस्थापन गरिएको हो । आयोजनाको सिभिल संरचना तथा हाइड्रोमेकानिकल कार्य इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) ढाँचामा गर्न जयप्रकाश एसोसिएट्स लिमिटेड, भारतसँग ५ मंसिर २०७४ मा ठेक्का सम्झौता गरिएको थियो । उक्त सम्झौता १० जेठ २०७५ देखि कार्यान्वयनमा आएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भारत हेभी इलेक्ट्रिकल लिमिटेडसँग २८ असोज २०७६ मा ठेक्का सम्झौता गरिएको थियो भने उक्त सम्झौता १८ मंसिर २०७६ देखि कार्यान्वयनमा आएको थियो । आयोजनाको निर्माण सुपरीवेक्षण वाप्कोस लिमिटेड, भारतले गरेको हो । सुरुमा नेपाल विद्युत प्राधिकरण आफैंले निर्माण सुरु गरेको राहुघाट जलविद्युत् आयोजनाको प्रारम्भिक क्षमता ३२ मेगावाट थियो । निर्माणका क्रममा निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का रद्द गरिएको थियो । त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट कायम गरी प्राधिकरणको सहायक कम्पनीमार्फत कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार नयाँ ठेक्का सम्झौतामार्फत आयोजना निर्माण अघि बढाइएको थियो ।

१५- नेपाली महिला कबड्डी टिमले जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा कास्य पदकमै सिमित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा भारतसँग ४८-२४ ले पराजित हुदै नेपाल कास्य पदकमा सिमित भएको हो । भारत भने नेपाललाई हराउदै फाइनलमा पुगेको छ । नेपालले यसअघि श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । विहिबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३४-२५ ले पराजित गरेको थियो । नेपालले यसअघि चाइनिज ताइपेइसँग हार बेहोरेको थियो भने थाइल्याण्डलाई पराजित गरेको थियो । यसअघि १९औं एशियाली खेलकुदमा कास्य पदक जितेर इतिहास बनाएको महिला कबड्डी टिमले यस पटक पनि कास्य पदक जितेर इतिहास दोहोराएको छ । योसँगै जारी एशियाली खेलकुदमा नेपालले दोस्रो कास्य पदक जितेको छ ।
१६- लगातारको वर्षाका कारण विपी राजमार्गअन्तर्गत विभिन्न स्थानमा लेदो, पहिरो तथा ढुंगा खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बिपी राजमार्गअन्तर्गत चौकीडाँडामा आज बिहान ८ बजे रोशी खोलाले डाइभर्सन बगाएको छ । डाइभर्सन बगेपछि आज बिपी राजमार्ग खुल्ने सम्भावना नरहेको जनाइएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चार सयबेँसी र वडा नम्बर ८ गिम्दीबेँसीमा समेत अविरल वर्षाका कारण लेदो, पहिरो तथा ढुंगा खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । रातभर परेको वर्षाका कारण सडकमा लेदो तथा पहिरो आएपछि राजमार्ग बन्द भएको हो । यसैबीच, रोशी खोला पनौती जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
१७- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसंघको महासभामा गाजामा नरसंहार भएको आरोपलाई अस्वीकार गर्दै त्यसलाई ‘शताब्दीकै सबैभन्दा ठूलो झुट’ बताएका छन् । नेतन्याहू महासभाको मञ्चमा पुगेलगत्तै विभिन्न देशका ठूलो संख्यामा प्रतिनिधि बैठकबाट बाहिरिएका थिए । केही स्थानमा ताली र कतिपय ठाउँमा विरोधको आवाज सुनिएको थियो। त्यस क्रममा महासभा कक्षका धेरैजसो सिट खाली भएका थिए । नेतन्याहूले बहिर्गमन गर्ने प्रतिनिधिहरूलाई ‘नैतिक रूपमा कायर’ भन्दै आलोचना गरेका थिए । उनले गाजामा इजरायलमाथि लगाइएका नरसंहारका आरोप अस्वीकार गर्दै आफ्नो सैन्य कारबाही आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । उनले इरानविरुद्ध इजरायलले गरेको सैन्य कारबाहीको पनि बचाउ गर्दै इजरायलले आफ्नो सुरक्षासँगै अन्य देशको सुरक्षाका लागि समेत काम गरिरहेको दाबी गरेका थिए । यसअघि प्यालेस्टिनी पक्षले नेतन्याहूको भाषणका क्रममा सामूहिक रूपमा बैठकबाट बाहिरिन विभिन्न देशका प्रतिनिधिलाई आग्रह गरेको थियो । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भने प्यालेस्टिनीहरू आफ्नो मातृभूमि नछाड्ने बताएका थिए। उनले गाजा र पश्चिम किनारमा भइरहेको विनाश रोक्न अन्तर्राष्ट्रिय समुदायले ठोस कदम चाल्नुपर्ने माग गरेका थिए । गाजा युद्धलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला नेतन्याहूको भाषण भएको हो । इजरायल र हमासबीचको युद्ध २०२३ अक्टोबर ७ मा सुरु भएको थियो। त्यसयता गाजामा ठूलो मानवीय क्षति र भौतिक विनाश भएको छ ।
१८- लगातारको वर्षाका कारण पहिरो गएर विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्ला र आसपासका क्षेत्रमा विगत दुई दिनदेखि निरन्तर वर्षा भइरहेको र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको जनाएको छ । लगातार परेको बर्षका कारण कृष्णभीरलगायतका स्थानमा पहिरो गएको छ भने धारापानीसहितका स्थानमा सडक भाँसिएको छ । त्यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा पनि विभिन्न स्थानमा पहिरो गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना नभएसम्मका लागि सडक आवागमन बन्द गरेको छ । आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले समेत सूचना जारी गरेको छ । थप विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको हो । सम्बन्धित सबैलाई जोखिमयुक्त अवस्थामा यात्रा नगर्न र जारी सूचनाको पालना गर्न आग्रह गरिएको छ ।
१९- प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली बाढीलाई नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनी भएको बताए । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा बाढी, पहिरो, हिमताल विस्फोट र अन्य जोखिम बढाइरहेको भन्दै उनले अब चेतावनी सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिए । उनले बाढीबाट कम्तीमा १ हजार ४ सय जनाको मृत्यु भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको उल्लेख गर्दै पुनःस्थापनाको आवश्यकता नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर रहेको बताए । नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको उल्लेख गर्दै शाहले जलवायु न्यायका लागि बढी योगदान गर्ने र बढी क्षमता भएका देशले बढी जिम्मेवारी लिनुपर्ने बताए । प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थान संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका छन्। यसमार्फत हिमतालको निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण, तथ्यांक तथा विशेषज्ञता आदानप्रदान र विपद्का बेला सीमापार सहायता समन्वय गर्नुपर्ने उनको प्रस्ताव छ । जलवायु विपद्बाट प्रभावित गरिब मुलुकलाई ऋणभन्दा पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको बताउँदै उनले विद्यमान जलवायु वित्तीय संयन्त्र पर्याप्त नभएको बताए । सम्बोधनका क्रममा शाहले न्यायपूर्ण विश्वव्यवस्था, बहुपक्षीय सहकार्य, साना तथा गरिब मुलुकको प्रभावकारी आवाज र विश्वव्यापी आपूर्ति प्रणालीमा सुधारको आवश्यकता पनि औँल्याए । उनले आफ्नो सरकारको प्राथमिकता सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा, सुशासन र नागरिकलाई स्वदेशमै अवसर सिर्जना गर्नु रहेको बताए। साथै, जलवायु जोखिमसँग जुध्न पूर्वतयारी, बलियो पूर्वाधार, बीमा, नवप्रवर्तन र पूर्वसूचना प्रणालीमा लगानी गर्नुपर्नेमा जोड दिए । सम्बोधनको अन्त्यमा उनले भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून् र विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् भन्ने कामना गरेका थिए ।
२०- प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा महासचिव गुटेरेससँग भेट गरेका हुन् । महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए । उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरेका थिए । आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिएका थिए । भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए । भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो ।




