
उत्तरी सुडानको अल–गोलिड इलाकामा पर्ने साल्नाराती गाउँका बासिन्दाहरूले बढ्दो गर्मी छल्न आधुनिक कङ्क्रिटका घरभन्दा आफ्ना पुर्खाले सिकाएको माटोको घरलाई नै बढी प्राथमिकता दिइरहेका छन् । अत्यधिक तापक्रम सहन सक्ने क्षमता र स्थानीय स्तरमै उपलब्ध निर्माण सामग्रीका कारण यी परम्परागत घरहरू यस क्षेत्रमा अझै पनि उत्तिकै लोकप्रिय छन्। ।
साल्नारातीका वासिन्दाकाअनुसार यी घरहरू निर्माण गर्न निकै सरल छ । यहाँका बासिन्दाले माटोका बाक्लो भित्ता र खजुरका रुखका काण्ड तथा पातहरू प्रयोग गरेर छानो बनाउने गर्छन् । यो विधि आधुनिक सिमेन्ट र कङ्क्रिटको घरभन्दा निकै सस्तो र वातावरणमैत्री मानिन्छ । स्थानीय वासिन्दा अब्देल–रउफ मोहम्मदकाअनुसार माटो र खजुरका पात सुडानको परम्परागत वास्तुकलाका मुख्य आधार हुन् ।


यद्यपि, यी घरहरूका केही चुनौतीहरू पनि छन् । स्थानीय अब्दल्ला अब्दुल–कादिरकाअनुसार आर्थिक रूपमा किफायती भएपनि वर्षायाममा यी घरहरू निकै जोखिममा पर्छन् । पानीले माटोको संरचनालाई क्षति पु¥याउन सक्ने भएकाले वर्षाको समयमा यी घरहरूको मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्ने बाध्यता रहेको छ ।

जे भएपनि सुडानको उत्तरी भेगका बासिन्दाका लागि यी घरहरू केवल बासस्थान मात्र होइनन्, बरु पुस्तौँदेखिको ज्ञान र स्थानीय हावापानीसँग तालमेल मिलाउने एउटा जीवन्त उदाहरण हुन् । आधुनिक निर्माण सामग्रीको पहुँच बढ्दै गए पनि यो परम्परागत वास्तुकलाले अझै पनि आफ्नो सान्दर्भिकता कायम राखेको छ ।




