टर्कीमा ठूलो लगानी कोष संकटः साढे चार लाख लगानीकर्ता जोखिममा, सरकारद्वारा छानबिन शुरु

टर्कीको पुँजी बजारमा देखिएको गम्भीर लगानी कोष संकटका कारण करिव साढे चार लाखभन्दा बढी लगानीकर्ताको वचत जोखिममा परेको छ । शेयर बजारमा कृत्रिम मूल्य वृद्धि गरी ठगी गरेको आरोपमा सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनीहरू खारेजीको प्रक्रियामा छन् भने टर्कीको पुँजी बजार बोर्डले यस प्रकरणमा वृहत अनुसन्धान अघि बढाएको छ । सेप्टेम्बर १७ मा जारी गरिएको आदेशअनुसार सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनीहरू मातहतका १३१ वटा कोषहरूलाई खारेजी प्रक्रियामा लगिएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार यसबाट ४ लाख ५५ हजार ७५८ लगानीकर्ता प्रभावित भएका छन् । बजारमा कृत्रिम रूपमा सेयरको भाउ बढाएर सर्वसाधारणलाई आकर्षित गर्ने र पछि बजार खस्किएपछि लगानीकर्ता फसाउने गिरोह सक्रिय भएको पाइएको छ । यस संकटले गर्दा गत साता इस्तानबुल स्टक एक्सचेन्जको सूचकांकमा ७.५ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो ।

जसले टर्कीको समग्र आर्थिक स्थायित्वमाथि प्रश्न उठाएको छ। वित्तीय विज्ञहरूका अनुसार ५ लिरा मूल्यका शेयरलाई अनावश्यक रूपमा ५०० लिरासम्म पु¥याइएको थियो, जसले गर्दा साना लगानीकर्ताहरू सबैभन्दा बढी प्रभावित भएका छन् । टर्कीका नियामक निकायहरूले प्रभावित कोषहरूको खारेजी अवधि तीन महिनाबाट बढाएर छ महिना पु¥याएका छन् ।

पुँजी बजारका कानुनविद् याल्सिन ओजगे ओकातकाअनुसार यो प्रक्रिया सामान्य कर्पोरेट टाट पल्टिने प्रक्रियाभन्दा फरक हो । कोषका सम्पत्तिहरू विक्री गरेर दायित्व चुक्ता गरिने र बाँकी रकम लगानीकर्तालाई फिर्ता गर्ने प्रयास भइरहेको छ ।

अनुसन्धानको दायरा फराकिलो बनाउँदै अधिकारीहरूले यस प्रकरणमा संलग्न उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरेका छन् । साथै, संदिग्धहरूको सम्पत्ति रोक्का, यात्रा प्रतिबन्ध र शंकास्पद सामाजिक सञ्जाल खाताहरू बन्द गर्ने काम पनि जारी छ । बजार विश्लेषकहरूले यस घटनाले विदेशी लगानीकर्ताहरूमा समेत त्रास फैलाएको र टर्कीको अर्थतन्त्रमा अल्पकालीन दबाब सिर्जना गरेको चेतावनी दिएका छन् ।