
मलेशिया एयरलाइन्सले आफ्नो चिनियाँ बजार पहुँच र सेवा विस्तार गर्ने उद्देश्यले चीनका तीन प्रमुख प्रविधि कम्पनीहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । डिजिटल प्लेटफर्म र ग्राहक संलग्नतालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित गरिएको यो साझेदारीले चिनियाँ यात्रुका लागि यात्रा योजना र बुकिङ प्रक्रियालाई थप सहज बनाउने कम्पनीले जनाएको छ । बिहीवार सार्वजनिक विज्ञप्तिअनुसार मलेशिया एयरलाइन्सले चीनमा आफ्नो बलियो उपस्थिति देखाउन डिजिटल इकोसिस्टमको प्रयोगलाई प्राथमिकता दिएको छ ।
यस साझेदारीले यात्रुहरूलाई विमानस्थलको यात्राभन्दा बाहिर डिजिटल माध्यमबाटै सूचना र सेवामा पहुँच पु¥याउनेछ ।

क्वालालम्पुरलाई चीन र अन्य क्षेत्रीय मुलुकबीचको प्रमुख ट्रान्जिट हबको रूपमा थप सुदृढ पार्न यो रणनीतिले सहयोग गर्ने विश्वास एयरलाइन्सको छ ।


मलेशिया एयरलाइन्सले सन् २०२६ को पहिलो ६ महिनामा चीनबाट ६ लाखभन्दा बढी यात्रुलाई सेवा दिएको छ । यो तथ्याङ्क गत वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो भने औसत सिट क्षमता उपयोग (लोड फ्याक्टर) ८४ प्रतिशत रहेको छ । आगामी ‘गोल्डेन विक’ बिदाको समयमा चीनबाट हुने यात्रुको चापलाई मध्यनजर गर्दै एयरलाइन्सले आफ्नो तयारी तीव्र पारेको छ । उक्त अवधिमा ५२ हजारभन्दा बढी यात्रुले सेवा लिने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । चीनमा बढ्दो यात्रु मागलाई सम्बोधन गर्न एयरलाइन्सले प्रविधिमा आधारित सेवालाई थप प्राथमिकतामा राखेको हो ।




