अमेरिकी प्रतिवन्धको मारमा टर्की–इरान हवाई सेवाः पर्यटन क्षेत्रमा संशय

इरानको उड्डयन क्षेत्रमाथि अमेरिकाले लगाएको नयाँ प्रतिवन्धले टर्की र इरानबीचको हवाई सम्पर्कमा गम्भीर अवरोध सिर्जना गरेको छ । यो कदमले टर्कीको पर्यटन उद्योगमा प्रत्यक्ष असर पार्ने देखिएको छ, किनकि इरानी पर्यटकहरू टर्कीको पर्यटन बजारका लागि एक प्रमुख आधार मानिन्छन् ।

अमेरिकी अर्थ मन्त्रालयले हालै इरानको उड्डयन क्षेत्रलाई लक्षित गर्दै नयाँ प्रतिवन्ध घोषणा गरेको छ । यसअन्तर्गत, गैर–अमेरिकी एयरलाइन्सहरूलाई अमेरिकी निर्मित वा नियन्त्रित व्यावसायिक विमानहरू इरानमा उडाउन दिइएको अनुमति खारेज गरिएको छ ।

साथै, २७ वटा इरानी एयरलाइन्सहरूलाई पनि कालोसूचीमा राखिएको छ । यस विकासक्रम र क्षेत्रमा बढ्दो तनावका कारण टर्कीका प्रमुख वायुसेवा कम्पनीहरूले इरानतर्फका उडानहरू स्थगित गरेका छन् । ‘इकोनोमी’ नामक अनलाइन पोर्टलकाअनुसार टर्किश एयरलाइन्स र बजेट एयरलाइन्स ‘एजेट’ले सन् २०२७ को मार्चसम्मका लागि इरानका गन्तव्यहरूमा हुने सम्पूर्ण निर्धारित उडानहरू आफ्ना बुकिङ प्रणालीबाट हटाएका छन् । त्यसैगरी, पेगासस एयरलाइन्सले पनि इरानका लागि हुने आफ्नो सेवा बन्द गरेको छ ।

सन् २०२४ मा मात्रै करिव ३२ लाख इरानी नागरिकले टर्की भ्रमण गरेका थिए। यसले दुई देशबीचको पर्यटन, पारिवारिक भेटघाट र व्यावसायिक सम्बन्धमा हवाई सेवा कति महत्वपूर्ण छ भन्ने पुष्टि गर्छ । टर्कीको पर्यटन क्षेत्र पहिले नै क्षेत्रीय तनावको मारमा छ, जसका कारण सरकारले सन् २०२६ को पर्यटन राजश्व लक्ष्य ६८ अर्ब डलरबाट घटाएर ६५ अर्ब डलरमा झारेको छ ।एशोसिएशन अफ टर्किश ट्राभल एजेन्सीजका बोर्ड सदस्य हामित कुकले यातायातविना पर्यटन सम्भव नहुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।