
जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न र तत्काल आपतकालीन नीतिहरू कार्यान्वयन गर्न माग गर्दै फ्रान्सको तेस्रो ठूलो शहर लियोनमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । सो प्रदर्शनमा सहभागीहरूले वातावरण संरक्षण, सामाजिक न्याय र विश्व शान्तिको पक्षमा चर्का नारा लगाएका थिए ।
विभिन्न उमेर समूहका नागरिकको बाक्लो उपस्थिति रहेको उक्त प्रदर्शनले जलवायु परिवर्तनका कारण विश्वभर बढ्दो संकटतर्फ ध्यानाकर्षण गराउने प्रयास गरेको छ । प्रदर्शनमा सहभागीहरूको संख्याबारे स्थानीय प्रशासन र आयोजकबीच फरक तथ्यांक सार्वजनिक भएको छ । स्थानीय प्रशासनले उक्त ¥यालीमा करिव ५ हजार मानिस सहभागी भएको जनाएको छ भने आयोजकहरूले सहभागी संख्या १० हजारको हाराहारीमा रहेको दाबी गरेका छन् ।


यो प्रदर्शन फ्रान्सका लागि निकै कष्टकर मानिएको गर्मीयामको लगत्तै भएको हो । सन् २०२६ मा फ्रान्सले ५० दिनभन्दा बढी समय ‘हिटवेभ’ (तातो लहर) को सामना गर्नुपरेको थियो । तापक्रममा आएको यो अनपेक्षित वृद्धिले पर्यावरण र जनजीवनमा पारेको असरका कारण स्थानीय बासिन्दा थप आक्रोशित देखिएका छन् ।

प्रदर्शनकारीहरूले हातमा बोकेका ब्यानरहरूमा ‘जलवायु संकट तत्काल समाधान गर’, ’पृथ्वी बचाऊ’ र ‘सामाजिक न्याय सुनिश्चित गर’ जस्ता नाराहरू लेखिएका थिए । फ्रान्समा पछिल्लो समय जलवायु नीतिलाई लिएर सरकारमाथि दबाब बढ्दो छ र यो प्रदर्शन सोही जनदबाबको एक कडी मानिएको छ ।




