
कुवेत सिटीको प्रमुख व्यापारिक केन्द्र तथा ऐतिहासिक स्थल अल हमरा टावरमा आयोजित ‘पिक रेस २०२६’ मा नौ सयभन्दा बढी धावकहरूले आफ्नो शारीरिक क्षमताको परीक्षण गरेका छन् । टावरको ६० तल्लासम्म भ¥याङ चढेर गरिने यो विशिष्ट ‘भर्टिकल रेस’ मा सहभागीहरूले उच्च प्रतिस्पर्धा प्रदर्शन गरेका छन् ।
आयोजककाअनुसार यस वर्षको दौडमा पुरुष र महिला दुवै समूहका लागि व्यक्तिगत तथा रिले स्पर्धा समावेश गरिएको थियो । प्रतिष्पर्धामा व्यावसायिक धावकदेखि लिएर विभिन्न उमेर समूहका युवाहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।


विशेषगरी शारीरिक सहनशीलता र गति मापन हुने यस भर्टिकल रेसमा जुनियर विधालाई समेत समावेश गरिएको थियो, जसले गर्दा प्रतियोगितामा थप रौनक थपिएको थियो । अल हमरा टावरको अग्लो संरचनामाथि दौडिनु शारीरिक रूपमा निकै चुनौतीपूर्ण मानिए पनि सहभागीहरूको उत्साहमा कुनै कमी देखिएको थिएन । कुवेतका लागि यस्ता शाहसिक खेलकुदले पर्यटन र स्वास्थ्य सचेतनाको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । सुरक्षाका कडा प्रवन्धबीच सम्पन्न भएको यस प्रतियोगितामा सहभागीहरूले निर्धारित ६० तल्ला पार गर्दै आफ्ना कीर्तिमान कायम गर्ने प्रयास गरेका थिए ।





