
काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा २ जना गरी जम्मा ३५ जनाको मृत्यु भएको हो ।


जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १२ जना, मनाङमा ४ जना, म्याग्दीमा ७ जना, पाल्पामा ५ जना, रोल्पामा १ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् ।

बाढी, पहिरो लगायतका विपद्मा परी १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको र २ हजार ६९५ जनाको उद्दार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।





