
काठमाडौँ । आज सेप्टेम्बर ३० मा अन्तर्राष्ट्रिय अनुवाद दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको औपचारिक दिवसका रूपमा रहेको यस अवसरले अनुवादक, दोभाषे र शब्दावली विशेषज्ञलगायत भाषा व्यवसायीको योगदानलाई सम्मान गर्छ । उनीहरूले विभिन्न भाषा बोल्ने समुदायबीच संवाद र समझदारी बढाउन तथा अन्तर्राष्ट्रिय सहकार्य र शान्ति प्रवर्द्धन गर्न सहयोग पुर्याउँछन् ।


सन् २०२६ का लागि अन्तर्राष्ट्रिय अनुवादक महासंघ (एफआईटी) ले ‘भाषिक विविधता र भाषिक अधिकार’ विषय तय गरेको छ । यसको उपशीर्षक ‘बुझिन पाउनुको शक्ति’ हो भन्ने रहेको छ । अनुवाद, दोभाषे सेवा र शब्दावली व्यवस्थापनले भाषिक समावेशिता तथा मानिसको भाषिक अधिकारलाई कसरी टेवा दिन्छ भन्ने विषयमा यस वर्ष जोड दिइएको छ ।

यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर ३० मा मनाइनुको कारण अनुवादकका संरक्षक सन्त मानिने सेन्ट जेरोमको पर्वसँग जोडिएको छ । चौथो शताब्दीका जेरोमले बाइबलका अधिकांश भाग ग्रीकबाट ल्याटिनमा अनुवाद गरेका थिए । उनको निधन सन् ४२० सेप्टेम्बर ३० मा बेथलेहेम नजिक भएको थियो ।
संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१७ मे २४ मा यस सम्बन्धि प्रस्ताव पारित गर्दै सेप्टेम्बर ३० लाई अन्तर्राष्ट्रिय अनुवाद दिवस घोषणा गरेको थियो । भाषिक विविधता र अनुवाद पेशाको महत्त्व उजागर गर्दै राष्ट्रहरूबीच शान्ति, समझदारी र विकासलाई प्रोत्साहन गर्नु दिवसको उद्देश्य हो ।





