आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१-  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ । भेटमा अध्यक्ष श्रेष्ठले आपूर्ति शृंखलामा देखिएको अवरोध कम गर्न तथा व्यापारी र उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल सञ्चालनका लागि चिनियाँ पक्षबाट आवश्यक पहल गर्न आग्रह गरेका थिए । उनले कठिन परिस्थितिमा व्यापारिक आवागमन सहज बनाउन र निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास कायम राख्न नेपाल–चीनबीच निरन्तर समन्वय आवश्यक रहेको बताए । उनले रसुवागढी र कोरला नाकामा समेत अवरोध आएपछि चाडपर्वको प्रमुख व्यापारिक मौसमअघि नेपाल–चीन व्यापार तथा आपूर्ति शृंखलामा थप दबाब परेको जानकारी गराए । रसुवागढी–केरुङ नाकामा बाढीबाट क्षति भएपछि बढेको व्यापारिक चाप कम गर्न तातोपानी नाका यथाशीघ्र सञ्चालन गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ । जवाफमा राजदूत झाङले बाढीबाट नेपाल र चीन दुवैतर्फ भएको मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै व्यापारिक मार्ग छिटो सञ्चालन गर्न दुवै देशका अधिकारीबीच संयुक्त रूपमा स्थलगत निरीक्षण भइरहेको जानकारी दिए । सडक तथा अन्य पूर्वाधारको मर्मत र पुनर्स्थापनाका लागि चिनियाँ पक्षले द्रुत कार्य टोली परिचालन गरेको पनि उनले बताए । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी–केरुङ नाकातर्फको पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह तथा काठमाडौंलाई चीनको सीमासँग जोड्ने करिब १४५ किलोमिटर सडकखण्डमध्ये ४५ किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएको छ । भेटमा महासंघका अध्यक्ष श्रेष्ठले चीनले कठिन समयमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै व्यापार तथा लगानीका चुनौती समाधानका लागि सहकार्य बढाउनुपर्नेमा जोड दिए । छलफलमा नेपाल र चीनका निजी क्षेत्रबीच व्यापार तथा लगानीका चुनौती, सम्भावना र आर्थिक पुनरुत्थानका दीर्घकालीन समाधान पहिचान गर्न संयुक्त व्यापार मञ्च आयोजना गर्ने विषयमा पनि छलफल भएको थियो। महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र महानिर्देशक डा. गोपालप्रसाद तिवारीले नेपाल–चीनबीच द्विपक्षीय व्यापार, लगानी तथा दीर्घकालीन आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

२- काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणालीसम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका लागि असोज १५ गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिनेछ ।  सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक कार्य गरिनेछ । असोज १५ गते सतुंगल बौथली क्षेत्र, असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र, असोज १७ गते मुलपानी क्षेत्र, असोज १८ गते गर्जुधारा क्षेत्र, असोज २० गते, मुलपानी क्षेत्रमा लाइन कटौती हुनेछ । त्यस्तै, असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ सतुंगल धौलागिरी आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिनेछ । मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् आपूर्ति कटौती गरिने छैन । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो । दोस्रो चरणमा काठमाडौं जिल्लाका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम भइरहेको छ । यस कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टेजका विद्युत् लाइनहरू भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ । भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा अभिवृद्धि हुनुका साथै वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्नेछ । सडक तथा सहरी क्षेत्रमा विद्युत, टेलिफोन र इन्टरनेट सेवा प्रदायकका तारहरू जथाभावी तथा गुजुल्टिएर रहँदा उत्पन्न हुने अव्यवस्थित दृश्यलाई समेत भूमिगत प्रणालीले व्यवस्थित गर्न सहयोग गर्नेछ ।यसबाट काठमाडौं उपत्यकाको सहरी सौन्दर्य अभिवृद्धि हुनुका साथै व्यवस्थित र आधुनिक विद्युत् वितरण प्रणाली निर्माणमा योगदान पुग्ने प्राधिकरणको अपेक्षा छ ।

३- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेला परेको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार खोजी तथा उद्धारका क्रममा अश गुरुङ, सुरज राई र कलाम बुढाको शव निकालिएको हो । यससँगै हिमपहिरोमा मृत्यु भएकामध्ये हालसम्म सात जनाको शव निकालिएको छ । अझै ९ जना बेपत्ता रहेका छन् । यसअघि चार जनाको शव निकालिएको थियो । आधार शिविर क्षेत्रमा करिब १४ फिटसम्म हिउँ जमेकाले हरेक स्थान हातैले खोतलेर खोजी गर्न कठिन र जोखिमपूर्ण भएको एसोसिएसनले जनाएको छ । अत्यधिक चिसो र अस्थिर हिउँका कारण उद्धार टोलीको काम थप चुनौतीपूर्ण बनेको बताइएको छ । हालको अवस्था सुरक्षित नभएकाले खोजी तथा उद्धार अभियान जारी रहेको एसोसिएसनले जनाएको छ । हिउँ र हिमालको अवस्थालाई निरन्तर निगरानी गर्दै सुरक्षित रहेर बेपत्ताको खोजी तथा शव निकाल्ने प्रयास गरिने जनाइएको छ । मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा असोज ११ गते गएको हिमपहिरोमा १२ जना भान्साका कर्मचारी र दुई जना गाइड बेपत्ता भएका थिए ।

४- चीनको राष्ट्रिय जलवायु केन्द्रले हाल विकसित भइरहेको एल निनो घटना अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण गरेको छ । केन्द्रका अनुसार भूमध्यरेखीय प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम सूचकांक नोभेम्बर आसपास ३.२ देखि ३.५ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ । राष्ट्रिय जलवायु केन्द्रका अनुसार भूमध्यरेखीय प्रशान्तको मध्य तथा पूर्वी क्षेत्रमा यस वर्षको मेदेखि एल निनोको अवस्था विकास भएको थियो । जुनदेखि अगस्टसम्म समुद्री सतहको तापक्रम सूचकांक औसत २.०९ डिग्री सेल्सियस पुगेको थियो भने अगस्टमा यो २.५९ डिग्री सेल्सियस पुगेको थियो । सेप्टेम्बरदेखि समुद्री सतहको तापक्रम निरन्तर बढिरहेको छ । पाँच दिन र १० दिनको अवधिमा पहिलोपटक सूचकांक ३ डिग्री सेल्सियसभन्दा माथि पुगेको केन्द्रले जनाएको छ । यसअघि सन् १९८२–८३, १९९७–९८ र २०१५–१६ मा तीनवटा अत्यन्त शक्तिशाली एल निनो घटना रेकर्ड भएका थिए । राष्ट्रिय जलवायु केन्द्रका निर्देशक चाओ छिङछेनका अनुसार हालको समुद्री तापक्रम सूचकांक र तापक्रम बढ्ने गति ती तीनवटै घटनाको सोही चरणको तुलनामा उल्लेखनीय रूपमा बढी छ । चीनको राष्ट्रिय मापदण्डअनुसार एल निनोको उच्चतम सूचकांक २.५ डिग्री सेल्सियस वा त्यसभन्दा माथि पुगेमा त्यसलाई अत्यन्त शक्तिशाली एल निनो मानिन्छ । राष्ट्रिय जलवायु केन्द्रका अनुसार विकसित भइरहेको एल निनोले शरद् र हिउँदभर चीनको मौसममा प्रभाव पार्नेछ । अक्टोबर र नोभेम्बरमा मध्य तथा पूर्वी चीनका अधिकांश क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । याङ्त्से नदीको दक्षिणमा पर्ने तटीय क्षेत्रका अधिकांश भाग तथा दक्षिणपश्चिम चीनका पूर्वी क्षेत्रका केही स्थानमा सामान्यभन्दा ५० देखि ८० प्रतिशतसम्म बढी वर्षा हुन सक्ने केन्द्रले जनाएको छ । यसले अत्यधिक वर्षा र त्यसबाट हुने प्राकृतिक विपद्को जोखिम बढाउने अनुमान गरिएको छ । सन् २०२६ को डिसेम्बरदेखि २०२७ को फेब्रुअरीसम्म चीनभर तापक्रम सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ । यद्यपि यस अवधिमा चिसो हावाको लहर केही बढी आउन सक्ने र तापक्रममा तीव्र उतारचढाव हुन सक्ने केन्द्रले जनाएको छ । एल निनो सन् २०२७ को वसन्त र गर्मीयाममा तीव्र रूपमा कमजोर हुँदै अन्त्य हुने अनुमान गरिएको छ । तर त्यसको जलवायु प्रभाव त्यसपछि पनि कायम रहन सक्ने बताइएको छ। विशेषगरी चरम मौसमका घटना तथा गर्मीयाममा बढी शक्तिशाली र व्यापक तातो हावा चल्ने सम्भावना रहेको छ । विश्व मौसम विज्ञान संगठनले पनि सेप्टेम्बर ३ मा सार्वजनिक गरेको पछिल्लो एल निनो विवरणमा यो घटना स्पष्ट रूपमा विकसित भइसकेको र वर्षको अन्त्यतिर उच्चतम अवस्थामा पुग्नुअघि अझ शक्तिशाली बन्न सक्ने जनाएको थियो ।  विश्व मौसम विज्ञान संगठनका अनुसार सन् २०२७ को फेब्रुअरीसम्म एल निनो कायम रहने सम्भावना करिब १०० प्रतिशत रहेको छ । प्रशान्त महासागरको सतहको पानी सामान्य अवस्थाभन्दा धेरै तात्ने प्राकृतिक जलवायु प्रक्रियालाई एल निनो भनिएको छ ।

५- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।  न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । आदेशमा भनिएको छ- ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए म्याद सूचना प्राप्त भएका मितिले बाटाको म्याद बाहेक ४८ (अठचालिस) घण्टा भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत प्रमाण समेत साथै राखी लिखित जवाफ पेस गर्नुहोला भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नुहोला ।’ प्रसाईंकी श्रीमती उमा प्रसाईले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।    प्रसाईलाई गत सोमबार बिहान साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

६- राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत डोनावित पुल्सावात, ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, फ्रान्सकी राजदूत फ्रान्स्वाज पुुइग–इन्जा, पाकिस्तानका राजदूत मोहम्मद आमिर खान र दक्षिण कोरियाका राजदूत पार्क जे–क्युङबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका हुन् । पाँचै राजदूतले आ–आफ्नो देशको प्रतिनिधिका रूपमा नेपालमा जिम्मेवारी सम्हाल्नुअघि राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

७- प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उनीहरुलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका थिए ।  प्रधानमन्त्री शाहले भने- ‘तपाईंहरु आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस् ।’ प्रधानमन्त्री शाहले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए । निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गरेका थिए ।

images

८- नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ४.८२ अंकले घटेर २८९८.८९ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर ४ अर्ब ७६  करोड ५१ लाख २७ हजार ८८५ मा कारोबार भएको थियो । आज हाइड्रो, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.३७ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ८.४१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर ३.७८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३९ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २२ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

९- शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन् । प्रतिवेदनअनुसार अनुमति पाउनेमा ४८५ पुरुष र १६३ महिला छन् ।  यस अवधिमा हिमाल आरोहणबाट सरकारले १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी संकलन गरेको विभागले जानकारी दिएको छ ।प्रतिवेदनअनुसार शरद् ऋतुमा सबैभन्दा बढी आरोहीको आकर्षण मनास्लु हिमाल बनेको छ । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ वटा दलका ५०० जनाले अनुमति पाएका छन् । यसमा ३७३ पुरुष र १२७ महिला छन् । मनास्लुबाट मात्रै १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर, अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसपछि धौलागिरि प्रथममा ३४ जना, गणेश हिमालमा १६ जना, गंगापूर्ण पश्चिममा ६ जना, थोराङ पिकमा ७ जना, नोरबु काङमा ४ जना र अन्नपूर्ण चौथोमा ४ जनाले आरोहण अनुमति पाएका छन् । त्यस्तै चाम्लाङमा ६ जना, बरुन सेमा १० जना, लामजुङ हिमालमा २ जना, पुमोरीमा ६ जना र पुथा हिलचुलीमा दुई समुहका २० जना आरोहीले अनुमति पाएका छन् । विभागको देशगत विवरणअनुसार ६८ देशका नागरिकले शरद् ऋतुमा हिमाल आरोहणका लागि अनुमति पाएका छन् । देशगत तथ्यांकमा चीनका ११८, रुसका ५७, फ्रान्सका ५१, जर्मनीका ३४, बेलायतका ३८ र अमेरिकाका ४१ जना रहेका छन् । त्यस्तै जापानका २१, भारतका १८, अस्ट्रेलियाका १७, चेक गणतन्त्रका १६, स्पेनका १५, स्विट्जरल्यान्डका १३, इटालीका ९, क्यानडाका १६, दक्षिण कोरियाका ९ र पोल्यान्डका १९ जना आरोहीले अनुमति पाएका छन् ।

images

१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने नोटबन्दी गर्न माग गरेका छन् ।  प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विगतमा भ्रष्टाचार गरेको पैसाले अहिले चलखेलको प्रयास गरिएको भन्दै एक हजार र पाँचसयका नोट बन्द गरेर नयाँ नोट छाप्न आग्रह गरेका हुन् । उनले भने-‘३५ बर्ष देखि यो देश लुटेकाहरुले राखेको कालोधनका कारण आज उनीहरुले आज शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा संघर्ष गर्ने भनेर यदाकदा सुनिदैछ । हामीलाई थाहा छ यो पैसा कालोधन हो, यो देश लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरुले विभिन्न ठाउमा गरेको सुनिएको छ । त्यसैले नोटबन्दी गर्नुपर्यो सरकारले । तत्काल यी नोटहरुलाई सरकारले लिएर बैकिंग प्रणालीमा ल्याउनुपर्यो र नयाँ नोट जारी गर्नुपर्यो ।’ सांसद न्यौपानेले भारतमा पनि यस्तै गरिएको भन्दै त्यसबाट सिक्नुपर्ने बताए ।

images

११- उडिरहेको विमानमा पाइलटबीच झगडा भएपछि दुबईबाट इजरायलको तेल अभिवतर्फ जाँदै गरेको फ्लाईदुबईको एउटा विमान बुधबार बिहान साउदी अरबको उत्तरपश्चिमको ताबुक विमानस्थलमा अवतरण गरेको गराइएको थियो । अचानक निर्धारित मार्गबाट भड्किएपछि विमानको सुरक्षालाई लिएर दुई देशमा चिन्ता बढेको थियो । १८० जना इजरायली यात्रु सवार रहेको विमानमा रहेका दुई पाइलटबीच विवाद भएपछि विमान निर्धारित गन्तव्य तेल अभिवतर्फ जानुको सट्टा साउदी अरबको दिशातर्फ अघि बढेको बताइएको छ । विमानले आफ्नो मार्ग परिवर्तन गरेपछि सुरक्षा निकायमा सम्भावित सुरक्षा घटनाको आशंका बढेको थियो । विमान निर्धारित मार्गबाट हटेपछि तथा आपत्कालीन अवस्थाको सूचना आएपछि विमान अपहरण भएको हुन सक्ने आशंका समेत गरिएको थियो । विमान सुरक्षित अवतरण भएपछि विमान चलाएका दुई पाइलटबीच झडप हुदा विमान गन्तव्यमा नगएको विषय खुलेको थियो ।

१२- श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले गएको जेठ १७ गते सीमाबारे संसदमा दिएको अभिव्यक्तिबारे जवाफ माग गरेको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिका सांसदहरुले बैठक शुरु हुना साथ उठेर विरोध गर्दै प्रधानमन्त्रीको जवाफ मागेका हुन् ।  बैठकमा बोल्दै सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन गरिएको मागको सम्बोधन कहिलेसम्म हुन्छ ? भन्दै प्रश्न गरेकी थिइन् । उनले लामो समयदेखि आफुहरुले राखेको माग सच्याउन वा सदनको रेकर्डबाट हटाउन माग गरेको तर आजसम्म पनि यो मागको सम्बोधन नभएकाले कहिलेसम्म हुन्छ ? भन्दै प्रश्न गरेकी थिइन् ।

१३- नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत्तले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि सफल नभएको बताएका छन् । पोखरामा देउवा समुहको सम्पर्क कार्यालय खोलेर पत्रकार सम्मेलन गर्दै नेता डा. महत्तले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि अहिलेको संस्थापन पक्षले इच्छा नदेखाएको आरोप लगाए । साथै नेता महत्तले अहिले पनि शेरबहादुर देउवा महाधिवेशन उद्घाटन गर्न आउने भन्दै झुट प्रचार गरिएको आरोप लगाउदै आफुहरु सत्यको लडाईमा रहेको बताउदै पार्टीमा झुटको बोली चलिरहेको बताए । अहिले सत्यको मुख बन्द गरिएको बताउदै बोलेपछि सामाजिक संजालमा गालीको बर्षा हुने गरेको उल्लेख गरे । उनले आफुहरुले पार्टीको अहिलेको अवस्था नचाहादा नचाहदै आएको बताए । नयाँ नेतृत्व नआएसम्म पार्टीले जित हासिल गर्न नसक्ने भन्दै निर्वाचन अघि विशेष महाधिवेशन गरिएको बताउदै उनले तर निर्वाचनको परिणाम त्यस्तो नआएको बताए । नेता महत्तले आफुहरुले विशेष महाधिवेशन पार्टीको विधान अनुसार नभएकोले नै पुनरावलोकनका लागि अदालतमा गएको बताए । आफुहरुले पार्टी एक भएर जानुपर्छ भन्ने विषयमा कोशिस गरेको र त्यो सफल नभएको बताउदै अदालतका अहिलेसम्मका निर्णय सहि नभएको कारणले आफुहरुलाई निस्सा दिइएको दाबी गरे । कांग्रेसको विवाद जारी रहेका बेला संस्थापन पक्षले असोज १८ गतेदेखि काठमाडौँमा १५औं महाधिवेशन गरिरहेको छ भने देउवा पक्षले मङ्सिरमा गर्ने महाधिवेशनका लागि भोली देखि वडा स्तरमा अधिवेशन शुरु गर्दैछ ।

१४- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २८ सयले बढेर तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर ४४२५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३९५ मा कारोबार भएको थियो ।

Nepal life insurance

१५-  इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमाथि आर्थिक नियम गम्भीर रूपमा उल्लंघन गरेको आरोपमा स्वतन्त्र आयोगले दोषी ठहर गरेपछि अब के हुन्छ भन्ने कौतुहलता बढेको छ । आयोगको निर्णयसँगै अब क्लबमाथि कस्तो कारबाही हुन्छ, त्यसका लागि छुट्टै सुनुवाइ हुने भएको छ । यो प्रकरणमा म्यानचेस्टर सिटीमाथि लागेको आरोप लामो समयदेखि प्रिमियर लिगको छानबिनको विषय बन्दै आएको थियो । स्वतन्त्र आयोगले क्लबलाई सबै आरोपमा दोषी ठहर गरेपछि अब सजाय निर्धारणको प्रक्रिया अघि बढ्ने भएको हो । स्वतन्त्र आयोगले म्यानचेस्टर सिटीले आफ्ना केही व्यावसायिक साझेदारसँग वास्तविक उद्देश्यभन्दा फरक प्रकृतिका ‘नक्कली’ सम्झौता गरेको निष्कर्ष निकालेको छ । आयोगका अनुसार यस्ता सम्झौतामार्फत क्लबले आफ्नो आम्दानी कृत्रिम रूपमा बढाएको र खर्च घटाएको थियो । यसबाट ९० करोड पाउन्डभन्दा बढीको रकमसँग सम्बन्धित वित्तीय विवरण प्रभावित भएको बताइएको छ । त्यस्तै, क्लबले लेखापरीक्षक र फुटबल नियामक निकायबाट आफ्नो वास्तविक आर्थिक अवस्थालाई लुकाउने गरी वित्तीय विवरण पेस गरेको आयोगको निष्कर्ष छ । म्यानचेस्टर सिटीले प्रिमियर लिग र युरोपेली फुटबल महासंघ दुवैका खर्चसम्बन्धी सीमाको गम्भीर उल्लंघन गरेको पनि आयोगले ठहर गरेको छ । प्रिमियर लिगले लामो समयसम्म गरेको छानबिनका क्रममा क्लबले सहयोग नगरेको र लिगसँग असल नियतका साथ व्यवहार नगरेको आरोप पनि पुष्टि भएको छ । दोषी ठहर भएपछि अब स्वतन्त्र आयोगले नै सजाय निर्धारण गर्नेछ । यसका लागि छुट्टै सुनुवाइ हुने बताइएको छ । सुनुवाइ कहिले हुनेछ भन्ने अझै स्पष्ट भइसकेको छैन । तर प्रिमियर लिगले यो प्रक्रिया यही सिजनभित्र टुंग्याउन चाहेको संकेत देखिएको छ । सुनुवाइमा प्रिमियर लिगले म्यानचेस्टर सिटीलाई कस्तो सजाय दिनुपर्ने हो भन्ने आफ्नो धारणा प्रस्तुत गर्नेछ । सिटीले भने आफ्नो पक्षमा तर्क गर्नेछ । त्यसपछि आयोगले दुवै पक्षका तर्क सुनेर उपयुक्त सजाय निर्धारण गर्नेछ । प्रिमियर लिगका नियमअनुसार स्वतन्त्र आयोगसँग विभिन्न प्रकारका कारबाही गर्न सक्ने अधिकार छ । यसमा जरिवाना, अंक कटौती तथा अन्य खेलसम्बन्धी कारबाही पर्न सक्छन् । यस्तो कारबाही यही सिजनमै लागू हुन सक्ने सम्भावना पनि छ । प्रिमियर लिगले आर्थिक नियम उल्लंघनका लागि निश्चित सजायको तालिका भने बनाएको छैन । क्लबहरूले यसअघि नै निश्चित सजाय तोक्न अस्वीकार गरेका थिए । नियम तोडेपछि पहिले नै सजाय थाहा हुने हो भने केही क्लबले नियम उल्लंघन गरेर त्यसको सजाय स्वीकार गर्न सक्ने जोखिम रहेको तर्क गरिएको थियो । प्रिमियर लिगका प्रमुख कार्यकारी रिचर्ड मास्टर्सले सन् २०२५ को फेब्रुअरीमा विभिन्न नियम उल्लंघनका लागि पहिल्यै सहमति गरिएको सजायको ढाँचा बनाउने विषयमा लिगले अध्ययन गरिरहेको बताएका थिए ।

१६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले अत्याधुनिक कृत्रिम बौद्धिकता प्रणालीको सुरक्षा सुनिश्चित गर्न संयुक्त सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अत्याधुनिक कम्प्युटिङ तथा कृत्रिम बौद्धिकता प्रणालीको सुरक्षा सुनिश्चित गर्न चार तहको नियन्त्रण र लेखापरीक्षण व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाइएको छ । भविष्यमा यी व्यवस्थालाई कानुनी रूप दिन सकिने सम्भावनालाई पनि खुला राखिएको छ । ट्रम्पले सहमतिपछि आफूले प्रविधि कम्पनीहरूबाट प्रभावकारी रूपमा आफैंमाथि निगरानी गर्ने प्रतिबद्धता देखेको बताएका छन् । कम्पनीहरूले आफ्नो प्रविधिको विकास र प्रयोगमा आफैं निगरानी गर्नुपर्ने उनको भनाइ थियो । ‘अत्याधुनिक कृत्रिम बौद्धिकताप्रतिको संयुक्त जिम्मेवारी’ नाम दिइएको यो दस्तावेज ह्वाइट हाउसमा आयोजित उच्चस्तरीय बैठकपछि सार्वजनिक गरिएको हो । बैठक प्रशासनले औपचारिक रूपमा ‘सुपर इन्टेलिजेन्स’ नाम दिएको विषयमा केन्द्रित थियो । अत्याधुनिक कृत्रिम बौद्धिकताको विकास तीव्र गतिमा भइरहेको र भविष्यमा यसमाथिको नियन्त्रण गुम्न सक्ने जोखिम रहेको भन्दै प्रविधि कम्पनीका प्रमुखहरूले सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने सुझाव दिएका थिए । सहमतिमा राष्ट्रपति ट्रम्पसँगै प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले पनि हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा गुगलका सुन्दर पिचाई, एन्थ्रोपिकका डारियो अमोदेई, मेटाका मार्क जुकरबर्ग, ओपनएआईका ग्रेग ब्रकम्यान, एक्सएआईका एलन मस्क र एनभिडियाका जेन्सेन हुआङ रहेका छन् । संयुक्त घोषणामा अमेरिकी नागरिक तथा विश्वका लागि सुरक्षित भविष्य निर्माण गर्न प्रत्येक कम्पनीले आफ्नो प्रविधिलाई सुरक्षित ढंगले विकास गर्नुपर्ने उल्लेख गरिएको छ । प्रविधिको विकासले ग्राहक तथा सर्वसाधारणको विश्वास बढाउनुपर्नेमा पनि जोड दिइएको छ । अत्याधुनिक कृत्रिम बौद्धिकता प्रणालीको विकास र प्रयोग गर्ने कम्पनीले सम्भावित समस्या तत्काल समाधान गर्न बलियो प्रक्रिया अपनाउनुपर्ने सहमतिमा उल्लेख छ । यसका लागि चार तहको नियन्त्रण र लेखापरीक्षण व्यवस्था लागू गर्ने भनिएको छ । पहिलो तहमा, कम्पनीहरूले प्रणालीको विकास र प्रयोगका क्रममा त्यसको क्षमता तथा सुरक्षा व्यवस्थामाथि निगरानी गर्न बलियो आन्तरिक नियन्त्रण लागू गर्नुपर्नेछ । साइबर सुरक्षा, जैविक सुरक्षा र रासायनिक जोखिमजस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्नेछ। प्रणालीले अनपेक्षित रूपमा प्राविधिक संरचनामा प्रवेश गर्ने वा त्यसलाई क्षति पुर्‍याउने अवस्था आउन नदिन आवश्यक व्यवस्था गर्नुपर्नेछ । दोस्रो तहमा, कम्पनीभित्रै एउटा अधिकारसम्पन्न टोली गठन गर्नुपर्नेछ। उक्त टोलीले नियन्त्रण, निगरानी र जोखिम पहिचान गर्ने प्रणालीले प्रभावकारी रूपमा काम गरिरहेका छन् कि छैनन् भन्ने हेर्नेछ। समस्या देखिएमा त्यसलाई समाधान गर्ने जिम्मेवारी पनि उक्त टोलीको हुनेछ । तेस्रो तहमा, स्वतन्त्र बाह्य जाँचको व्यवस्था गरिनेछ। प्रविधि कम्पनीहरूले स्वतन्त्र लेखापरीक्षक वा मूल्याङ्कनकर्तामार्फत आफ्नो नियन्त्रण, निगरानी तथा जोखिम पहिचान गर्ने प्रणाली प्रभावकारी भए–नभएको परीक्षण गराउनुपर्नेछ । चौथो तहमा, सञ्चालक समितिअन्तर्गत स्वतन्त्र समिति गठन गर्ने व्यवस्था गरिएको छ । उक्त समितिले नियन्त्रण सञ्चालन गर्ने टोली तथा आन्तरिक र बाह्य लेखापरीक्षक एवं मूल्याङ्कनकर्ताको कामको निगरानी गर्नेछ । समितिले उनीहरूबाट प्रतिवेदन लिने र पहिचान भएका समस्या समाधान भए–नभएको सुनिश्चित गर्नेछ । संयुक्त घोषणामा यी चारै तहका नियन्त्रण र लेखापरीक्षणले कम्पनी, ग्राहक तथा सर्वसाधारणलाई प्रविधि सुरक्षित रूपमा सञ्चालन भइरहेको विश्वास दिलाउने उल्लेख गरिएको छ । सहमतिमा सहभागी प्रविधि कम्पनीहरूले नियमित रूपमा बैठक बसेर कृत्रिम बौद्धिकता प्रणालीको क्षमता बढ्दै जाँदा आवश्यक नयाँ सुरक्षा मापदण्ड र प्रभावकारी अभ्यास तय गर्ने पनि सहमति गरेका छन् । यो सहमति तत्काल लागू हुने सरकारी कानुन नभई कम्पनीहरूले स्वेच्छाले अपनाउने आत्मनियमनको प्रतिबद्धता हो। तर सहभागी कम्पनीहरूले भविष्यमा यस्ता सुरक्षा व्यवस्था अनिवार्य संघीय कानुनको रूप लिन सक्ने सम्भावनालाई औपचारिक रूपमा स्वीकार गरेका छन् ।

१७- कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुडिएको छ । बुधबार बिहान पुलको बीचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुडिएको हो । महाकाली नदीमाथि निर्माण गरिएको यो पुल दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महत्वपूर्ण संरचना रहेको थियो । नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ । पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ । महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा आवतजावत सहज बनाउँदै आएको थियो । यो पुल भीमदत्त नगरपालिकाबाट करिब १२ किलोमिटर दक्षिणपश्चिममा, महाकाली बाँधभन्दा करिब ८ किलोमिटर तल तथा भारतीय सीमाबाट करिब ५.५ किलोमिटर दक्षिणतर्फ रहेको छ । दोधारा–चाँदनी झोलुङ्गे पुलमा २०६२ सालदेखि आवतजावत शुरु भएको थियो ।

१८- स्पेनले युरोपेली नेसन्स लिगको समूह चरणमा क्रोएसियामाथि ४-१ गोलको शानदार जित निकालेको छ । सेभियामा भएको खेलमा स्पेनले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । खेल सुरु भएको दुई मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । फर्मिन लोपेजको चलाखीपूर्ण पासपछि यामालले क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचलाई छक्याउँदै गोल गरेका थिए । तर क्रोएसियाले पहिलो हाफमै खेल बराबरीमा ल्यायो । इभान पेरिसिचको क्रसमा डियोन बेल्जोले हेडमार्फत गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा आफ्नो पहिलो गोल गरेका थिए । स्पेनले त्यसको दुई मिनेटमै पुनः अग्रता लियो । यामालको उत्कृष्ट पासमा मार्क पुबिलले हेडमार्फत गोल गर्दै स्पेनलाई २–१ ले अघि बढाए । त्यसपछि यामालले खेलको ३४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । पेड्रीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै यामालले नजिकैबाट गोल गरेका थिए । खेलको अन्तिमतिर निको विलियम्सले ८९औँ मिनेटमा स्पेनका लागि चौथो गोल गरे । उनले क्रोएसियाको डिबक्सभित्र बल नियन्त्रणमा लिएर शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । यससँगै स्पेनले नेसन्स लिगको नयाँ सत्रमा लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई ३–२ गोलले पराजित गरेको थियो ।

१९-  कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे छानबिन गर्न समिति गठन गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको हो। वनविज्ञान संकायका डीन डा. गान्धिव काफ्लेको संयोजकत्वमा गठित समितिमा कृषि संकायका सह–डीन (प्रशासन) डा. कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका सह–डीन (प्रशासन) राजेन्द्र बस्याल र सह–प्रशासक सहदेव चौधरी सदस्य छन् । कर्मचारी प्रशासन महाशाखाका का.मु. उप–प्रशासक दिनेश अधिकारी सदस्य–सचिव छन् । समितिले विश्वविद्यालय स्थापना भएदेखि वा अन्य विश्वविद्यालय तथा निकायबाट समायोजन भई विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवामा रहेका र अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति, अध्ययनको अवस्था, बिदाको प्रयोजन तथा बिदा अवधिमा भए/गरेका गतिविधिबारे छानबिन गर्नेछ । त्यसैगरी, अध्ययन बिदाको स्वीकृति प्रक्रिया, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिलाई समेत छानबिनको आधार बनाइने विश्वविद्यालयले जनाएको छ । समितिले तोकिएको कार्यादेशअनुसार अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी २०८३ साल पुस १३ गतेभित्र विश्वविद्यालयको रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनुपर्नेछ ।

२०- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) का जोखिमलाई ‘होक्स’ अर्थात् कपोलकल्पित कुरा ठहर्‍याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँग असहमति जनाएका छन् । एआईको तीव्र विकाससँगै देखिएका सम्भावित जोखिम वास्तविक र गम्भीर भएकाले सुरक्षा उपाय र सरकारी निगरानी आवश्यक रहेको उनको भनाइ छ । ट्रम्पले एआई विकासको गति सुस्त पार्ने वा कडा नियमन गर्ने मागले चीनलाई अनुचित फाइदा पुग्न सक्ने बताएका थिए । गेट्सले भने सुरक्षा मापदण्ड लागू गर्दा अमेरिकाको प्रतिस्पर्धी क्षमता कमजोर नहुने र चीनसहित सबै देशले एआईका लागि सुरक्षा व्यवस्था चाहने तर्क गरेका छन् ।  गेट्सले यस विषयमा ट्रम्पसँग प्रत्यक्ष कुरा गर्ने इच्छा पनि व्यक्त गरेका छन् । एआईको क्षमता र जोखिमबारे आफ्नो लामो प्राविधिक अनुभवका आधारमा अमेरिकी नेतृत्वलाई सुरक्षा, निगरानी र नियमनको आवश्यकता बुझाउन सकिने उनको विश्वास छ । उनले एआई कम्पनीहरूको स्वनियमन मात्र पर्याप्त नहुने भन्दै कानुन निर्माता र कार्यान्वयन निकायलाई सुरक्षाका मापदण्डबारे छलफलमा सहभागी गराउनुपर्ने बताएका छन् । खराब ढङ्गले व्यवस्थापन गरिए उन्नत एआईले व्यापक मानवीय क्षति निम्त्याउन सक्ने जोखिम रहेको उनको चेतावनी छ । एआईमा सुरक्षा व्यवस्था कति कडा बनाउने भन्ने विषयमा प्रविधि क्षेत्रमै मतभेद छ । ओपनएआईका साम अल्टम्यान र एन्थ्रोपिकका डारियो अमोडेईले सुरक्षा जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राख्दै आएका छन् भने केही प्रविधि प्रमुखले कडा नियमनले नवप्रवर्तन र प्रतिस्पर्धामा असर पार्न सक्ने बताउँछन् । गेट्सले भने एआईको विकाससँगै जोखिम नियन्त्रणका नियम र बलियो सुरक्षा ढाँचा पनि आवश्यक रहेकोमा जोड दिएका छन् ।