बेलायतमा वायुसेना अड्डानजिक भएको घटनामा इरानको भूमिका !

काठमाडौँ । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले दक्षिण–पश्चिम इंग्ल्यान्डको एक गाउँमा शाही वायुसेनाको अड्डानजिक भएको घटनामा इरानको भूमिका रहेको बेलायतको विश्वास रहेको बताएका छन् । घटनाबारे बेलायतको आतंकवादविरोधी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आइतबार प्रहरीले करिब २० वर्ष उमेर समूहका पाँच बेलायती नागरिकलाई पक्राउ गरेको थियो । शाही वायुसेनाको फेयरफोर्ड अड्डानजिकै रहेको विलफोर्ड गाउँमा सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । त्यसपछि पाँचै जनालाई पक्राउ गरिएको थियो । उनीहरूलाई पछि कडा सर्तसहित जमानतमा रिहा गरिएको छ ।

फेयरफोर्ड अड्डामा ठूलो संख्यामा अमेरिकी वायुसेनाका सैनिक तथा सैन्य गतिविधि हुँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत पक्राउ परेका संदिग्धलाई जमानतमा रिहा गरिएको विषयमा प्रश्न उठाएका छन् । बर्नहमले पत्रकारहरूसँग कुरा गर्दै घटनामा इरानको भूमिका रहेको बलियो संकेत देखिएको बताएका छन् । यद्यपि उनले यो जटिल र अत्यन्त गम्भीर अनुसन्धान भएकाले यसबारे थप विवरण दिन नसकिने बताए ।

बर्नहमले आफूले सोमबार मन्त्रिपरिषद् कार्यालयमा आपत्कालीन बैठकको अध्यक्षता गरेको जानकारी दिए । उक्त बैठकलाई ‘कोब्रा बैठक’ भनिन्छ । उनले सरकारले घटनासम्बन्धी कुन सूचना सार्वजनिक गर्न सकिन्छ भन्ने पुष्टि हुन पर्खिरहेको बताएका थिए । अहिले भने घटनामा इरानको भूमिका रहेको सरकारको विश्वास रहेको पुष्टि गर्न सकिने उनले बताए । तर इरानले घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट रूपमा अस्वीकार गरेको छ । लन्डनस्थित इरानी दूतावासले घटनालाई ‘इरानलाई लिएर डर फैलाउने प्रयास’ भनेको छ ।

घटनाको गम्भीरताका बाबजुद पक्राउ परेका पाँच जनालाई किन जमानतमा छाडियो भन्ने प्रश्नमा बर्नहमले उनीहरूलाई रिहा गरिनुको अर्थ सामान्य रूपमा बुझिने किसिमको रिहाइ नभएको बताए । उनीहरूलाई अत्यन्त कडा सर्तसहित जमानतमा छाडिएको उनको भनाइ छ ।

अधिकारीहरूले घटनामाथि पूर्ण निगरानी राखिरहेको र अनुसन्धानमा उनीहरूको कडा नियन्त्रण रहेको पनि बर्नहमले बताए ।

यसबीच ‘द टाइम्स’ले पक्राउ परेका पाँच संदिग्धमध्ये एक जनाले घटनाभन्दा करिब एक घण्टाअघि नै स्वयं अधिकारीहरूसँग सम्पर्क गरेको समाचार प्रकाशित गरेको छ ।

बेलायतको आतंकवादविरोधी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। मंगलबार प्रहरीले वायुसेना अड्डानजिक रोकिएका सवारीसाधनमा कुनै विस्फोटक उपकरण फेला नपरेको जनाएको थियो । यद्यपि ती सवारीसाधनबाट केही मात्रामा पेट्रोल भने बरामद गरिएको प्रहरीले जनाएको छ ।

images

फेयरफोर्ड वायुसेना अड्डालाई पछिल्ला महिनामा अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण गर्न प्रयोग गरेको बताइएको छ । यसै साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि घटनामा ‘स्पष्ट रूपमा कुनै विदेशी पक्षको हात’ रहेको बताएका थिए। तर उनले त्यसबारे थप विवरण भने दिएका थिएनन् ।