
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी रे हार्मनीलाई ह्वाइट हाउसकी सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त गरेका छन् । हार्मनी यसअघि ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट हाउस संवाददाताका रूपमा कार्यरत थिइन् । उनले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछिन् ।
हार्मनीले सन् २०२५ को सेप्टेम्बरमा ‘रियल अमेरिकाज भ्वाइस’मा काम सुरु गरेकी थिइन् । त्यसअघि उनले इलिनोइसको स्प्रिङफिल्डमा समाचार प्रस्तोताका रूपमा काम गरेकी थिइन् । पछिल्लो समय उनी ह्वाइट हाउसका गतिविधि कभर गर्ने सञ्चारकर्मीको समूहमा नियमित रूपमा देखिँदै आएकी थिइन् र ट्रम्पसँग आयरल्यान्ड भ्रमणमा समेत सहभागी भएकी थिइन् ।


हार्मनीको नियुक्तिसँगै उनी पत्रकारिताबाट सिधै ट्रम्प प्रशासनको सञ्चार टोलीमा प्रवेश गरेकी छन् । ह्वाइट हाउसकी प्रधान उप प्रेस सचिव अन्ना केलीले हार्मनीको नियुक्तिको स्वागत गर्दै उनी सञ्चार टोलीको महत्वपूर्ण हिस्सा बन्ने बताएकी छन् । हार्मनीले पनि ट्रम्पले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गरेकी छन्।

यसैबीच, ह्वाइट हाउसको प्रेस सचिव पद भने अझै रिक्त छ । पूर्वप्रेस सचिव क्यारोलिन लेभिटले अगस्टको अन्त्यमा पद छाडेपछि ट्रम्प प्रशासनले उनको स्थायी उत्तराधिकारी नियुक्त गरेको छैन। हार्मनीको नियुक्ति प्रेस सचिवको स्थायी प्रतिस्थापन भने होइन, उनी सहायक प्रेस सचिव र प्रवक्ताका रूपमा सञ्चार टोलीमा रहनेछिन् ।




