
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो नेतृत्वमा रहेको सरकारले पछिल्लो ६ महिनामा गरेका काम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। पार्टीले आगामी दिनमा सरकारको कामको गति अझ तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।
शनिबार सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सरकारको कार्यसम्पादनबारे समीक्षा गरेको हो। बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकार नियत सफा राखेर काम गरिरहेको र सुशासनको आधारशिला निर्माण गर्ने दिशामा अघि बढेको पार्टीको निष्कर्ष रहेको जानकारी दिनुभयो।


रास्वपाले आगामी ६ महिनामा सरकारको कामलाई थप प्रभावकारी र तीव्र बनाउन पार्टी पंक्तिबाट आवश्यक सहयोग गर्ने जनाएको छ।

बैठकले संगठन विस्तार तथा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने विषयमा समेत निर्णय गरेको छ। रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू असोज २० गतेदेखि ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा पुग्ने गरी अभियान अघि बढाइने पार्टीले जनाएको छ। अभियानमा सरकारका पछिल्ला ६ महिनाका कामबारे जानकारी गराउने तथा स्थानीय तह र आगामी निर्वाचनसम्बन्धी विषयमा नागरिकसँग संवाद गर्ने योजना रहेको छ।
यससँगै बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत संगठनसम्बन्धी विषयमा समेत छलफल भएको जनाइएको छ।

#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD #रास्वपा #राष्ट्रियस्वतन्त्रपार्टी #हामीआउँदैछौँ #रवि लामिछाने #राजनीति #नेपालसमाचार










