
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनभन्दा निर्वाचन नै एकमात्र वैधानिक र अचूक विकल्प भएको बताउनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनको नतिजालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको हो । सभापति लामिछानेले पछिल्लो समय सडक आन्दोलनमार्फत सरकार ढाल्ने र निर्वाचन प्रणालीमाथि नै प्रश्न उठाउने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउनु भयो ।
उहाँले निर्वाचनको सुरक्षामा खटिने नेपाली सेना र समग्र चुनावी प्रक्रियालाई लिएर गरिने टिप्पणीहरू जनताको अपमान भएको बताउनु भयो ।


उहाँले आफ्नो दल र नेतृत्वप्रति जनताले गरेको भरोसा र केही स्थानमा भएका मतदाताको असन्तुष्टिलाई पनि आफूले महशुस गरेको उल्लेख गर्नुभयो । लामिछानेले वीपी कोइरालाका अनुयायीहरूलाई सम्बोधन गर्दै काँग्रेसलाई एक कार्यकाल प्रतिपक्षमा बसेर जनताको सेवा गर्ने अवसर दिन आग्रह गर्नुभयो । आफ्ना दलका कार्यकर्ता र सदस्यहरूलाई लक्षित गर्दै लामिछानेले जवाफदेहिताको कसीमा रास्वपा अडिग रहेको दाबी गर्नुभयो । पाँच वर्षसम्म रास्वपाले काम गर्न नसके सबभन्दा पहिला पार्टीको सदस्यता च्यात्ने आँट आफूहरुले राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई विस्थापित गर्ने अचूक उपाय निर्वाचन हो । आन्दोलनबाट सरकार ढाल्ने होइन, अब चुनावबाट सरकार फेरौँ । लोकतन्त्रलाई निर्वाचनको अभ्यासबाट मात्रै बलियो बनाउन सकिन्छ । जनताले मतदान गरेर दिएको जनादेशलाई अपमान गर्ने, निर्वाचन नै गलत थियो भन्ने वा सुरक्षा निकाय र विदेशी हस्तक्षेपको आरोप लगाएर हल्का टिप्पणी गर्ने काम बन्द गर्नुपर्छ। सार्वभौम नेपाली जनताको मतको सम्मान गर्नुपर्छ । तपाईंहरू नेपाली काँग्रेसलाई र बीपी कोइरालालाई माया गर्नुहुन्छ भने एकपटक आफ्नो दललाई प्रतिपक्षमा राखेर हेर्नुहोस् । हामीले काम गर्न सकेनौँ भने अर्को निर्वाचनमा जनताले हामीलाई पराजित गरून्, यही लोकतान्त्रिक अभ्यास हो । यस ऐतिहासिक मञ्चबाट म यही कुरामा अडिग छु । आफ्नै दलका साथीहरूलाई पनि भन्न चाहन्छु, यदि रास्वपाले पाँच वर्षमा जनताको अपेक्षाअनुसार काम गर्न सकेन भने सबैभन्दा पहिले आफ्नै सदस्यतामाथि प्रश्न उठाउने आँट हामीले राख्नुपर्छ । सरकार परिवर्तनको बाटो आन्दोलन होइन, निर्वाचन हो । जनताको मत नै अन्तिम निर्णय हो ।’
आन्दोलन र अस्थिरताको राजनीतिले देशको निकास नदिने जिकिर गर्दै उहाँले वर्तमान राजनीतिक परिवेशमा लोकतान्त्रिक संस्कारको विकास गर्नुपर्ने खाँचो औंल्याउनु भयो ।





