सरकार ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन्ः रवि लामिछाने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने चर्चा निराधार रहेको दाबी गर्नुभएको छ ।

 
आईतवार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकार अस्थिर हुने भनी भइरहेका टीकाटिप्पणीलाई व्यङ्ग्य गर्दै वर्तमान सरकार इतिहास बदल्ने उद्देश्यका साथ बनेकोले तत्काल नढल्ने स्पष्ट पार्नुभएको हो । सभापति लामिछानेले सरकार ढल्छ भन्ने भाष्यलाई खारेज गर्नुभयो ।

उहाँले आफूहरूले व्यक्तिलाई नभई इतिहासलाई साक्षी राखेर प्रणाली सुधारको लक्ष्यसहित सरकार गठन गरेको जिकिर गर्नुभयो । उहाँले लोकतन्त्रको रक्षाको विषयमा पनि विशेष टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रको नाममा विधि, मूल्य र मान्यतालाई मिच्ने कार्यले नै मुलुकलाई संकटमा पार्ने चेतावनी दिनुभयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, अब ढल्छ, दशैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्मा ढल्छ । तर म स्पष्ट भन्न चाहन्छु, सरकार ढल्दैन । सरकार ढल्छ भनेर बारम्बार भन्नेहरू नै सरकार नढलेको देखेर ढल्न सक्छन्, तर सरकार ढल्दैन । किनकि यसपटक हामीले कुनै व्यक्तिलाई मात्र होइन, इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने संकल्पसहित सरकार गठन गरेका हौँ । लोकतन्त्रको रक्षाका विषयमा पनि म स्पष्ट पार्न चाहन्छु । दुई राजनीतिक दल बिना स्पष्ट उद्देश्य र आवश्यकताबिना एक ठाउँमा आउँदा संकट उत्पन्न हुन्छ भनेर मैले त्यतिबेलै संसद्मा भनेको थिएँ । आज त्यो कुरा प्रमाणित भएको छ । तर लोकतन्त्रको रक्षा कसैले आफ्नो ठेक्का लिएजस्तो गरेर गर्नु आवश्यक छैन। लोकतन्त्रलाई खतरा छैन; खतरा आए जनताले नै लोकतन्त्रको रक्षा गर्छन्। तर लोकतन्त्रको नाममा विधि, मूल्य र मान्यतालाई तोड्दै गयौँ भने त्यसले सरकार मात्र होइन, देशलाई नै संकटमा पार्न सक्छ । त्यसैले लोकतन्त्रको रक्षा नाराबाट होइन, विधि, संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको पालनाबाट गरौँ ।’

यसअघि संसद्मा आफूले व्यक्त गरेको धारणालाई स्मरण गर्दै लामिछानेले दुई ठूला दलहरू विना कुनै उद्देश्य वा संकट एक ठाउँमा आउँदा त्यसले राजनीतिक संकट निम्त्याउने गरेको दाबी गर्नुभयो । आफ्नो सो भनाइ अहिले सत्य सावित भएको बताउँदै उनले वर्तमान राजनीतिक परिस्थितिप्रति कटाक्ष गर्नुभयो ।