
काठमाडौँ, २० असोज । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले आज (अक्टोबर ६) आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय म्याच खेलेका छन । गत ३१ अगस्ट २०२६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेस्सीका लागि अर्जेन्टिनी फुटबल संघले घरेलु मैदानमा भव्य ‘फेयरवेल म्याच’ (बिदाइ खेल) को आयोजना गरेको हो।
सन् २००५ मा १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि २० वर्षसम्म निरन्तर योगदान दिएका छन्। यस अवधिमा उनले देशका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्, जुन अर्जेन्टिनी फुटबल इतिहासकै सर्वाधिक गोल संख्या हो।


मेस्सीका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धिहरूमा फिफा विश्वकप: २०२२ (विजेता) र २०१४ (उपविजेता), कोपा अमेरिका: २०२१ र २०२४ (दुई पटक विजेता), फिनालिसिमा: २०२२, ओलम्पिक स्वर्ण पदक: २००८ (बेइजिङ) मुख्य रहेका छन ।

अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापिया तथा विश्वभरका लाखौँ समर्थकहरूले मेस्सीको यो अभूतपूर्व योगदानको सम्मान गर्दै घरेलु दर्शकमाझ यो ऐतिहासिक बिदाइ खेल समर्पित गरेका हुन्। आज भएकाे खेलसँगै मेस्सीको दुई दशक लामो गौरवशाली अन्तर्राष्ट्रिय फुटबल यात्राको औपचारिक समापनसमेत भएकाे छ ।
उसाे भए, मेस्सीले अन्तिम पटक अन्तराष्ट्रिय खेलवाट सन्यास लिनु अघि खेलेकाे मैत्रीपुर्ण खेल्ने देश बेनिनका बारेमा जानकारी लिनुहाेस् ।

बेनिन पश्चिम अफ्रिकामा अवस्थित एक सानो तर ऐतिहासिक, सांस्कृतिक र राजनीतिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण राष्ट्र हो। आधिकारिक नाम बेनिन गणतन्त्र रहेकाे याे देशकाे राजधानी पोर्टो-नोभो रहे पनि सबैभन्दा ठूलो सहर, आर्थिक केन्द्र र सरकारी कार्यालयहरू कोटोलोमा अवस्थित छन्। पश्चिम अफ्रिकाको गिनिया खाडी नजिकै रहेकाे छ ।


यस देशकाे सिमानामा पूर्वमा नाइजेरिया, पश्चिममा टोगो, उत्तरमा बुर्किना फासो र नाइजर र दक्षिणमा आन्ध्र महासागर रहेकाे छ। क्षेत्रफलकाे हिसाबले १,१४,७६३ वर्ग किलोमिटर (लगभग नेपालभन्दा केही सानो) रहेकाे छ भने यस देशकाे जनसंख्या करिब १ करोड ३० लाखभन्दा बढी रहेकाे छ । आधिकारिक भाषाकाे रूपमा फ्रान्सेली साथै फोन र योरुबा स्थानीय रूपमा धेरै बोलिने भाषाहरू हुन्। यस देशमा पश्चिम अफ्रिकी फ्राङ्क मुद्राकाे रूपमा प्रयाेग हुन्छ ।
१७ औँ देखि १९ औँ शताब्दीसम्म यहाँ शक्तिशाली ‘दाहोमी साम्राज्य’ थियो। यो साम्राज्य आफ्नो बलियो सैन्य शक्ति र विशेष गरी ‘दाहोमी अमेजन’ भनिने महिला सैनिक दस्ताका लागि प्रसिद्ध थियो भने १७ औँ र १८ औँ शताब्दीमा बेनिनको तटीय क्षेत्र (उइदाह सहर) बाट लाखौँ अफ्रिकीहरूलाई दास बनाएर अमेरिका र युरोप पुर्याइएको थियो। त्यसैले यस क्षेत्रलाई ऐतिहासिक रूपमा “दास तट” पनि भनिन्थ्यो।
सन् १८९४ मा फ्रान्सले यसलाई आफ्नो उपनिवेश बनायो। १ अगस्ट १९६० मा यो फ्रान्सबाट स्वतन्त्र भयो र सुरुमा यसको नाम ‘दाहोमी’ राखियो। पछि सन् १९७५ मा नाम परिवर्तन गरेर ‘बेनिन’ बनाइयो।
बेनिनलाई विश्वव्यापी रूपमा प्रसिद्ध ‘भोडू धर्म’को जन्मभूमि मानिन्छ। पश्चिमी मिडियामा भोडूलाई जादुटुनाका रूपमा गलत तरिकाले देखाइए तापनि बेनिनमा यो प्रकृति, पूर्वज र ईश्वरको पूजा गर्ने एक आधिकारिक तथा सम्मानजनक धर्म हो। प्रत्येक वर्ष जनवरी १० मा बेनिनमा राष्ट्रिय भोडू दिवस मनाइन्छ। यहाँ लगभग ४८% क्रिस्चियन, २७% मुस्लिम र बाँकी परम्परागत भोडू धर्म मान्छन्। धेरैजसो मानिसहरू क्रिस्चियन वा मुस्लिम धर्मका साथसाथै भोडू परम्परा पनि पालना गर्छन्।

बेनिन बहुदलीय राष्ट्रपतीय गणतन्त्रात्मक मुलुक हो। अफ्रिकाका धेरै देशहरूमा राजनीतिक अस्थिरता र सैन्य कू भइरहँदा बेनिनलाई सन् १९९० को दशकदेखि पश्चिम अफ्रिकाको सबैभन्दा शान्त र लोकतान्त्रिक देशहरूमध्ये एक मानिँदै आइएको छ। वर्तमान राष्ट्रपतिकाे रूपमा पेट्रिस टालोन छन, जाे जो सन् २०१६ देखि सत्तामा रहेका छन् ।
बेनिनको अर्थतन्त्र मुख्यतया कृषिमा निर्भर छ। कपास यहाँको प्रमुख निर्यातजन्य बाली हो। यसका साथै काजू, तिलर पाम आयल पनि उत्पादन हुन्छ। कोटोलो सहरमा रहेको बन्दरगाह बेनिनको अर्थतन्त्रको मेरुदण्ड हो, जसले नाइजर र बुर्किना फासोजस्ता छिमेकी भूपरिवेष्ठित देशहरूलाई पनि व्यापारिक मार्ग प्रदान गर्दछ।
इतिहासमा बेनिनको दाहोमी साम्राज्यसँग संसारकै एक मात्र पूर्ण रूपमा महिलाहरू सम्मिलित सैन्य दस्ता थियो, जसले फ्रान्सेली सेनासँग पनि वीरतापूर्वक युद्ध लडेको थियो। हलिउड चलचित्र ‘द वुमन किङ्ग यही इतिहासमा आधारित छ। बेनिनको नोकोउए तालमा ‘गानभिए’ नामक गाउँ छ, जहाँ २०,००० भन्दा बढी मानिसहरू पूर्ण रूपमा काठका खाम्बामाथि बनाइएका घरहरूमा बस्छन्। यसलाई “अफ्रिकाको भेनिस” पनि भनिन्छ।




