
सुडानको उत्तरी दारफुर राज्यस्थित टाविलामा पछिल्लो एक महिनामा ६ हजारभन्दा बढी मानिस विस्थापित भएर भित्रिएसँगै त्यहाँको मानवीय अवस्था चरम संकटमा पुगेको छ । द्वन्द्व, खाद्यान्न अभाव र खडेरीका कारण विस्थापित भएका सर्वसाधारणहरू सुरक्षित आश्रयको खोजीमा टाविला पुगे पनि आधारभूत आवश्यकताको चरम अभाव झेलिरहेका छन् ।
उत्तरी दारफुरको टाविला सहर हाल सुडानको सबैभन्दा ठूलो विस्थापित केन्द्रमध्ये एक बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार, टाविलाले विगत लामो समयदेखि ७ लाखभन्दा बढी विस्थापितहरूलाई आश्रय दिँदै आएको छ । तर सेप्टेम्बरको सुरुवातयता मात्रै ६ हजार १ सय ९१ जना नयाँ विस्थापित थपिएका छन् । विशेष गरी गत साता मात्र १ हजार ३ सय ९४ जना मानिस टाविला पुगेका छन्, जसमा महिला, बालबालिका र वृद्धवृद्धाको संख्या बढी छ ।


विस्थापितहरूको समन्वय समितिका प्रवक्ता एडम रिजलकाअनुसार सुरक्षा व्यवस्थाको बिग्रँदो अवस्था, खाद्यान्न अभाव र कम वर्षाका कारण उत्पन्न खडेरीले मानिसहरू पलायन हुन बाध्य भएका हुन् । पूर्वी दारफुरका क्षेत्रहरूमा आधारभूत सेवा सुविधाको कमी र बढ्दो भोकमरीले मानिसहरू टाविलातर्फ धपिन थालेका हुन् । स्थानीय द्वन्द्व र युद्धका कारण घरबार छोडेका मानिसहरूले बाटोमा समेत भोक र तिर्खाको सामना गर्नुपरेको छ ।
टाविलामा आश्रय लिइरहेका विस्थापित महिलाहरूले युद्ध र अभावको भयानक कथा सुनाएका छन् । खडेरीले बालीनाली नष्ट हुनु र खानेपानीको समेत अभाव हुनुले उनीहरूको जीवनयापन थप कठिन बनाएको छ । उपलब्ध स्रोत साधन सिमित हुँदा स्थानीय प्रशासनले थप मानवीय सहायता र सुरक्षित करिडोरको माग गरेको छ ।

यद्यपि, विश्व खाद्य कार्यक्रम लगायतका अन्तर्राष्ट्रिय दातृ निकायहरूले पर्याप्त कोषको अभावमा राहत वितरणमा कठिनाइ भइरहेको बताएका छन् । हाल कोषको अभावका कारण विस्थापितहरूलाई मासिक राशनको आधा मात्रै उपलब्ध गराउन सकिएको छ । सुडानमा सन् २०२३ को अप्रिलदेखि जारी सरकारी सेना र ¥यापिड सपोर्ट फोर्सेस बीचको युद्धले दशौँ हजारको ज्यान लिनुका साथै लाखौँलाई विस्थापित बनाइसकेको छ ।




