
दोस्रो विश्वयुद्धका क्रममा जापानद्वारा ‘कम्फर्ट वुमन’ बनाइएका फिलिपिनी महिलाहरूको दर्दनाक कथा र उनीहरूले खोजेको न्यायलाई केन्द्रमा राखेर मनिलामा विशेष प्रदर्शनी शुरु भएको छ । ‘लीला फिलिपिना’ नामक संस्थाको आयोजनामा जारी यस प्रदर्शनीले युद्धकालीन यौन हिंसा र त्यसपछिको निरन्तर उपेक्षाको विषयलाई पुनः बहसमा ल्याएको छ । सन् १९४२ देखि १९४५ सम्मको अवधिमा करिव १ हजार फिलिपिनी महिला तथा किशोरीहरूलाई जापानी सेनाले बलपूर्वक यौन दासी बनाउन बाध्य पारेका थिए ।
युद्ध सकिएको दशकौँ बितिसक्दा पनि पीडितहरूको घाउ अझै निको हुन सकेको छैन । यसै यथार्थलाई भावी पुस्तासामु पु¥याउने उद्देश्यले मनिला सिटी हलभित्रको संग्रहालयमा अक्टोबर १४ सम्मका लागि उक्त प्रदर्शनी सञ्चालन गरिएको छ ।


प्रदर्शनीमा राखिएका कलाकृतिहरूले युद्धको विभत्स रूपलाई उजागर गरेका छन् । स्वर्गीय रिमेडियस फेलियासले आफ्नो हातले बनाएका चित्रहरूमा जापानी सैनिकहरूबाट भएको यौन हिंसा र त्यसबाट पीडित महिलाहरूको चीत्कार प्रष्ट झल्किन्छ । यी चित्रहरूले आगन्तुकहरूको विशेष ध्यान आकर्षित गरिरहेका छन् ।

प्रदर्शनमा राखिएको अर्को महत्वपूर्ण पाटो सन् २०१७ मा मनिलामा स्थापना गरिएको स्मारकको हो । युद्धपीडित महिलाहरूको सम्मानमा ठड्याइएको उक्त प्रतिमा टोकियोको कूटनीतिक दबाबपछि केही महिनामै हटाइएको थियो । यस घटनालाई समेटिएका कमिक्सहरूले इतिहास मेट्ने प्रयासविरुद्धको निरन्तर संघर्षलाई चित्रण गरेका छन् ।
प्रदर्शनीस्थलमा पुग्ने आगन्तुकहरूले ‘स्टिकी नोट’ मार्फत आफ्ना भावना व्यक्त गरिरहेका छन्। ‘हाम्रा हजुरआमाहरूका लागि न्याय’, ‘युद्धका पीडितहरूप्रति श्रद्धाञ्जली’ र ‘निरन्तरको संघर्ष जारी रहनेछ’ जस्ता सन्देशहरूले पीडितहरूप्रति गहिरो सहानुभूति र न्यायको मागलाई जीवन्त राखेका छन् । ‘लीला फिलिपिना’ का अनुसार, यस प्रदर्शनीको मुख्य उद्देश्य विगतका ती अमानवीय घटनाहरूलाई बिर्सन नदिनु र महिलाविरुद्धको हिंसा रोक्न विश्वलाई सचेत गराउनु हो ।





