भोटेकोशी बाढी : बागमती प्रदेशमा २३ सय परिवार विस्थापित, तीन सय उद्योगमा पौने तीन अर्बको क्षति

काठमाडौं, २२ असोज । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट दुई हजार तीन सय परिवार विस्थापित भएका छन् । साथै, ३४ मोटरेबल र ५१ झोलुंगे पुल ध्वस्त भएको बागमती प्रदेश सरकारको एकीकृत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले १५ विषयगत क्षेत्रको विवरण समेटिएको प्रतिवेदन बिहीबार मुख्यमन्त्री किरण थापा मगरलाई हस्तान्तरण गरेका छन् । प्रतिवेदनमा रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति पुगेको तथा चितवनका तटीय क्षेत्रसमेत प्रभावित भएको उल्लेख छ ।

बाढीबाट तीन सय घरेलु तथा साना उद्योग पूर्ण क्षतिग्रस्त हुँदा दुई अर्ब ७१ करोड ५१ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । उद्योग–व्यवसायमा क्षति पुग्दा एक हजार सात सय श्रमिकले रोजगारी गुमाएका छन् ।

प्रतिवेदनअनुसार दुई हजार तीन सय निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त वा बगेका छन् । थप २६९ घरमा आंशिक क्षति पुगेको छ । बाढीबाट प्रत्यक्ष विस्थापित परिवारको संख्या दुई हजार तीन सय छ भने हाल विभिन्न अस्थायी शिविरमा एक हजार ८५ जना आश्रय लिएर बसिरहेका छन् ।

प्रतिवेदनमा १०२ बालबालिकाले बाबुआमा दुवै गुमाएको उल्लेख छ । होल्डिङ सेन्टरहरूमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रित छन् । ३८ होल्डिङ सेन्टरमा तत्काल मनोसामाजिक परामर्श आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ ।

मन्त्रालयको विवरणमा एक हजार ४५५ मृतक, ५,२८५ बेपत्ता

मन्त्रालयको तथ्यांकअनुसार बाढीमा एक हजार ४५५ जनाको मृत्यु भएको र पाँच हजार २८५ जना बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार बाढीबाट ३४ मोटरेबल पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन् भने एउटा पुलमा आंशिक क्षति पुगेको छ । थप ५१ झोलुंगे पुल र साढे तीन किलोमिटर कालोपत्रे सडक बगेको प्रतिवेदनमा उल्लेख छ ।

शिक्षा र स्वास्थ्यबाहेक अन्य १४ सरकारी कार्यालय भवन पनि क्षतिग्रस्त भएका छन् । तत्कालका लागि वैकल्पिक पहुँच बनाउन नुवाकोटमा पाँच तुइन र दुई जिपलाइन तथा रसुवामा तुइन सञ्चालन गरिएको छ । बाढीले १२ विद्यालय पूर्ण र १८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । विद्यालयका ३५ भवन र ३१७ कक्षाकोठा पूर्ण रूपमा नष्ट हुँदा नौ हजार २४८ विद्यार्थीको पठनपाठन ठप्प भएको प्रतिवेदनमा उल्लेख छ । ६ सरकारी स्वास्थ्य केन्द्र, सात निजी स्वास्थ्य संस्था तथा औषधि पसल र दुई स्वास्थ्य शाखा तथा स्टोर पूर्ण क्षतिग्रस्त भएका छन्।

खानेपानी र सिँचाइमा ५२ करोड ६९ लाखको क्षति

images

बाढीबाट ५५ खानेपानी आयोजना तथा इनटेकमा क्षति पुग्दा ९६५ घरधुरी खानेपानी सेवाबाट वञ्चित भएका छन् । खानेपानी क्षेत्रमा ३० करोड ४० लाख रुपैयाँको क्षति अनुमान गरिएको छ । त्यस्तै, ४४ सिँचाइ कुलो क्षतिग्रस्त हुँदा ५९० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ । सिँचाइ क्षेत्रमा २२ करोड २९ लाख रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। यी दुई क्षेत्रमा मात्रै कुल ५२ करोड ६९ लाख रुपैयाँको क्षति अनुमान गरिएको हो ।

सञ्चारतर्फ क्षति पुगेका १९८ मोबाइल टावरमध्ये १९३ पुन: सञ्चालनमा ल्याइएको छ । यस क्षेत्रमा ४० देखि ४२ करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान छ । बाढीपहिरोबाट ९७३ हेक्टर कृषि भूमि प्रभावित भएको छ । त्यसमध्ये ४७१ हेक्टरमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।

images

गाईभैँसीलगायत ७०२ ठूला पशु, दुई हजार १२३ भेडाबाख्रा र एक लाख ३४ हजार कुखुरा तथा पन्छी मरेका छन् । १६२ गोठ, खोर तथा व्यावसायिक फार्ममा क्षति पुगेको छ । प्रतिवेदन अनुसार घरेलु तथा साना उद्योगबाहेक ६७ व्यापारिक पसल तथा प्रतिष्ठान नष्ट हुँदा २५ करोड ६० लाख रुपैयाँको क्षति भएको छ । ३० गोदाम बगेका छन् ।

थप १९९ होटल तथा रेस्टुरेन्ट र ६ गुम्बा तथा मन्दिरमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । बाढीले ४० बस, २७ ट्रक र १०३ कन्टेनर बगाएर बेपत्ता पारेको छ ।बाढीले १७ बैंक शाखा र नौ एटिएम क्षतिग्रस्त बनाएको छ । बैंकहरूको प्रत्यक्ष क्षति ७२ करोड ४० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । यससँगै दुई हजार १२५ ऋणीको दुई अर्ब ४२ करोड ८० लाख रुपैयाँभन्दा बढी कर्जा जोखिममा परेको छ ।

images