अर्घाखाँचीमा ‘स्व. रमा देवी मेमोरियल टी–१० क्रिकेट कप’ आयोजना हुँदै, विजेतालाई एक लाख पुरस्कार

अर्घाखाँची, सन्धिखर्क। अर्घाखाँचीमा स्वर्गीय रमा देवीको स्मृतिमा ‘Late Rama Devi Memorial T10 Cricket Cup’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ साल असोज २७ गतेदेखि सन्धिखर्कमा सुरु हुने आयोजकले जनाएको छ।

क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सहभागी हुन कुनै प्रवेश शुल्क लाग्ने छैन।

प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँ र उपविजेता टोलीले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न विधामा नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) लाई १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यानलाई पाँच हजार रुपैयाँ, उत्कृष्ट बलरलाई पाँच हजार रुपैयाँ तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई दुई हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

प्रतियोगिताका आयोजकमा राज क्षेत्री, शोभाखर खत्री र सरोज रायमाझी रहेका छन्। प्रतियोगिताको व्यवस्थापन अर्घाखाँची क्रिकेट संघले गर्नेछ।

प्रतियोगिताका नियमअनुसार खेल टी–१० फर्म्याटमा सञ्चालन हुनेछ। प्रत्येक टोलीमा १४ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक अनिवार्य रहने व्यवस्था छ। खेलाडीले आफ्नो नाम र नम्बर स्पष्ट देखिने जर्सी लगाउनुपर्नेछ। प्रतियोगिताको खेल नकआउट वा लिग प्रणालीमध्ये कुन ढाँचामा सञ्चालन गर्ने भन्ने निर्णय आयोजक समितिले गर्नेछ।

खेल टाई भएमा सुपर ओभरबाट विजेताको टुङ्गो लगाइनेछ। प्रतियोगितामा क्यानबाट मान्यता प्राप्त अम्पायरहरूको निर्णय अन्तिम र मान्य हुने नियममा उल्लेख छ। वर्षा वा अन्य कारणले खेल पूरा हुन नसकेमा डीएलएस विधि वा आयोजक समितिको निर्णयअनुसार नतिजा निर्धारण गरिनेछ।

आयोजकले खेलाडी तथा सहभागी सबैलाई अनुशासन कायम राख्दै खेल भावना, पारस्परिक सम्मान र निष्पक्ष प्रतिस्पर्धाका साथ प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।

‘क्रिकेटले मन जोड्छ’ भन्ने भावनासहित आयोजना हुन लागेको प्रतियोगिताले अर्घाखाँचीमा क्रिकेट खेलको प्रवर्द्धन तथा स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

images

May be an image of text