
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- धादिङको गल्छी नजिकै मछेडीमा ग्यास बुलेट पल्टिनुका साथै गजुरी नजिकै काठमाडौं जानेतर्फ गलौंदीमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयले सडकको आवागमनमा पूर्ण रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सुचना प्रकाशित गर्दै भनेको छ- ‘पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नं ५ गलौंदी क्षेत्रमा त्रिशुली नदिको कटानको कारण सडक भासिन गई समस्या उत्पन्न भएको कारणले गर्दा उक्त राजमार्ग, भएर चल्ने सम्पूर्ण सवारी साधनहरुको आवागमनमा अर्को सूचना जारी नहुँदासम्मको लागि पूर्ण रूपमा रोक लगाईएको व्यहोरा सम्बन्धित सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’


२- नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै राष्ट्रिय सभागृहमा हुने भएको हो । मतदान सकिएलगत्तै सभापतिको मतगणना सुरु गर्ने तयारी गरिएको छ । जारी मतदान साँझ ७ बजेसम्मका लागि तोकिएको छ । काँग्रेसको सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् ।

३- कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन टोलीको बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी कार्यविधि स्वीकृत भइसकेकाले किसानको हातमा दसैँअघि नै रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् । आर्थिक वर्ष २०८३/८४ का लागि उखु किसानलाई अनुदान वितरण गर्न १ अर्ब ५० करोड ५० हजार रुपैयाँ निकासा भएको जनाइएको छ ।
४- भारतीय अभिनेता नाना पाटेकरको मृत्युबारे गोवा प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । बिहीबार बिहान गोवास्थित अस्पताल पुर्याइएका पाटेकरलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुमानमा उनको मृत्यु हृदयाघातका कारण भएको बताइए पनि वास्तविक कारण पत्ता लगाउन प्रहरीले शव परीक्षण प्रतिवेदन र परिवारका सदस्यहरूको बयान जाँच गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पाटेकरको पुणेस्थित फार्महाउसमा बिहीबार राति नै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टिमा बलिवुडका कलाकारसहित राजनीतिक व्यक्तित्वहरू सहभागी भएका थिए ।

५- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुईवटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् आयोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ आयोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको हो । बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने विषयमा निर्णय गरेको छ । त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजनाको निर्माण परियोजना विकास सम्झौताअनुसार तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ । स्वीकृत आयोजनाको कार्यान्वयन र लगानीकर्तालाई सेवा प्रवाह सहज बनाउन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यसैगरी, बोर्डले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार प्रतिस्पर्धात्मक स्वीस च्यालेन्ज विधिबाट अघि बढाउन कानुनी व्यवस्था गर्न कार्यालयलाई निर्देशन दिएको छ । कृत्रिम बुद्धिमत्तालगायत नवीन सूचना प्रविधिमा आधारित पूर्वाधार आयोजनाका प्रस्ताव प्राप्त भएमा नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा योगदानका आधारमा प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ । बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, कृषिमन्त्री गीता चौधरी, उद्योगमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललगायत बोर्डका सदस्य तथा उच्च अधिकारीहरूको उपस्थिति थियो ।
६- राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिएका छन् । यसअघि १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था रहेकोमा यस अध्यादेश मार्फत सरकारले भोटेकोशी बाढीबाट बेपत्तालाई लक्षित गर्दै उक्त व्यवस्थालाई छोट्याएर करिब ४५ दिन बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्नेगरी ऐन संशोधन गरेको हो ।


७- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार, पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गर्दै महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई अभियानको मुख्य उद्देश्य बनाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका हुन् । कात्तिक ७ गते अभियानको उद्घाटन हुने र अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइने ज्वालाले बताए । त्यस्तै, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसमेत अभियानमार्फत गरिने उनले बताए । त्यस्तै पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न वडा अधिवेशन र पालिका अधिवेशनको मिति पनि तय गरेको छ । जसअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ । स्थानीय निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना पनि पार्टीले बनाएको नेता ज्वालले बताए ।
८- भारतको सर्वोच्च अदालतले अक्टोबर १० मा हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली आउने रेल सेवा र मेट्रो स्टेशन बन्द गर्न नमिल्ने बताएको छ । अदालतले सर्वसाधारणलाई असुविधा नहुने गरी रेल तथा मेट्रो सेवा व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेको हो । मुख्य निर्वाचन आयुक्त (सीईसी) विरुद्ध ककरोच जनता पार्टीले शनिबार दिल्लीको जन्तर मन्तरमा प्रदर्शनको घोषणा गरेका छन् । भारत सरकारले दिल्लीका ५७ मेट्रो स्टेशन बन्द गर्ने र दिल्ली आउने रेल रद्द गरेपछि सर्वोच्च अदालतमा परेको रिटमा वरिष्ठ अधिवक्ताहरू कपिल सिब्ब्ल, अभिषेक मनु सिंघवी र प्रशान्त भूषणले अदालतको हस्तक्षेप माग गर्दै प्रदर्शनको अधिकारलाई ध्यान दिनुपर्ने बताएका थिए । मुख्य न्यायाधीश सूर्यकान्तसहितको इजलासले प्रतिबन्ध लगाउनुअघि सबै पक्षलाई सुन्नुपर्ने बताउदै मेट्रो र रेल सेवा बन्द नगर्न सरकारलाई आग्रह गरेका थिए । न्यायाधीश जोयमाल्य बाग्चीले प्रदर्शनको अनुमति नलिइएको भए त्यो कानुनअनुकूल नहुने भए पनि त्यसकै आधारमा प्रदर्शनलाई असंवैधानिक भन्न नमिल्ने टिप्पणी गरेका छन् ।
९- नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग भूकम्पसम्बन्धी जोखिम व्यवस्थापनका लागि सम्झौता गर्ने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले विश्व बैंकसँग ‘नेपाल भूकम्प विपद् बन्ड’ सम्बन्धी अधिकारपत्र सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ । त्यस्तै, जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

१०- नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी कुथेली बुखारी स्माल हाइड्रोको शेयर ४.९१ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर ४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिज लाइन इनर्जीको शेयर ७.८५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २१ करोड ११ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २० करोड ३७ लाख बराबरको कारोबार भएको छ ।
११- काठमाडौंको बूढानीलकण्ठस्थित भंगालमा घर भाडामा लिएर अवैध सुनको कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट २१ किलो ७५०.६११ ग्राम सुन बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार भंगालस्थित एक घरमा छापा मारेर हान फेई, झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरेको हो । बरामद सुनको मूल्य बिहीबारको बजार भाउअनुसार ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी अनुसन्धानका क्रममा चीनको ग्वान्झाउमा बस्ने जेन्जिया ल नामका व्यक्तिले वीच्याटमार्फत नेपालमा सुन कहाँ पुर्याउने र कसलाई दिने भन्ने निर्देशन दिने गरेको खुलाएको छ । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले भंगालस्थित घर भाडामा लिएर सुनको अवैध कारोबारसँगै प्रशोधन र तयारी गर्ने गरेका थिए । उनीहरूले उक्त घरको मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाको १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको पनि अनुसन्धानबाट खुलेको छ । विभिन्न बिस्कुट आकारमा रहेको सुनको तौल परीक्षण गर्दा २१ किलो ७५०.६११ ग्राम रहेको पाइएको प्रहरीले जनाएको छ । सुनसँगै प्रहरीले नगद, सुन ओसारपसारमा प्रयोग गरिने गाडी र सुन प्रशोधनमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको छ । गोप्य सूचनाका आधारमा लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले बिहीबार घरमा छापा मारेको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१२- सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी प्रख्यात न्यायविद् नवानथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिएको छ । नर्वेजियन नोबेल समितिका अनुसार युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था सुदृढ बनाउन योगदान पुर्याएकाले पिल्लेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । भारतीय तमिल मूलको परिवारमा दक्षिण अफ्रिकाको डरबनमा जन्मिएकी पिल्लेले रंगभेदविरुद्ध कानुनी क्षेत्रमा काम गरेकी थिइन् । उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा न्यायाधीशका रूपमा सेवा गरिसकेकी छन् । उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तसमेत बनेकी थिइन् । पिल्लेले बलात्कार तथा यौन हिंसालाई मानवताविरुद्धको अपराध र नरसंहारका रूपमा स्थापित गर्ने कानुनी प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । समितिले अन्तर्राष्ट्रिय कानुन, न्याय र मानव मर्यादाको रक्षामा पिल्लेको निरन्तर योगदानले शान्तिपूर्ण विश्व निर्माणको प्रयासलाई बल पुर्याएको जनाएको छ ।
१३- काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ । यसअन्तर्गत पुरानो तार -कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ–स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ कन्डक्टर जडान गरिरहेको छ । उक्त कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नु पर्नेछ । कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागिएको हो । डबल सर्किट लाइनको एउटा सर्किटको करिब चार सय मिटर कन्डक्टर बदल्न बाँकी रहेको छ । उक्त कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने छ । प्राविधिक कार्यका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

१४- अमेरिकाले इरानबाट उत्पादित तेल, पेट्रोलियम पदार्थ र पेट्रोरसायनको कारोबार गरेको आरोपमा १० संस्था, छ व्यक्ति र पाँच पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धमा भारत, संयुक्त अरब इमिरेट्स, टर्की, इरान र बेलायतसँग सम्बन्धित कम्पनी तथा व्यक्ति परेका छन् । प्रतिबन्धमा पाँच भारतीय नागरिकसमेत छन् । भारतस्थित एसएसपीएल सोलुसन्सका सञ्चालक ध्वनि निसर्ग भोरा र निसर्ग समीर भोरामाथि सन् २०२५ मा करिब २० लाख अमेरिकी डलर बराबरका इरानी पेट्रोरसायन आयात गरेको आरोप छ । त्यस्तै, समुद्री सेवा प्रदायक कम्पनी समुन्द्र मरीन सर्भिसेजका तीन भारतीय सञ्चालकलाई पनि प्रतिबन्ध लगाइएको छ । टर्कीको नुर्जाद पेट्रोकिम्या र संयुक्त अरब इमिरेट्सका अरेबियनप्रो मटेरियल्ससहित पानीजहाज व्यवस्थापन गर्ने दुई कम्पनी पनि प्रतिबन्धमा परेका छन् । ती कम्पनीले इरानी पेट्रोलियम पदार्थको कारोबार र ढुवानीमा सहयोग गरेको अमेरिकी आरोप छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत यी कदम चालिएको हो । इरानलाई तेल तथा पेट्रोरसायन बिक्रीबाट आम्दानी गर्न सहयोग गर्ने सञ्जाललाई कमजोर बनाउनु प्रतिबन्धको उद्देश्य रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

१५- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २९ सयले बढेर २ लाख ९५ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ४४०५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४३९० मा कारोबार भएको थियो ।
१६- शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन् । त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु. ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ । शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन् । शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने व्यवस्था गरिएको हो ।
१७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई राष्ट्रिय विज्ञान पदकबाट सम्मानित गरेका छन् । ह्वाइट हाउसमा आयोजित ‘विज्ञान : नयाँ स्वर्ण युग सम्मेलन’ मा ट्रम्पले मस्कलाई विज्ञान, प्रविधि, अन्तरिक्ष अन्वेषण र नवप्रवर्तन क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानित गरेका हुन् । सम्मान प्रदान गर्दै ट्रम्पले मस्कलाई ‘आधुनिक युगका थोमस एडिसन’ र ‘राष्ट्रिय सम्पदा’ को संज्ञा दिएका थिए । उनले मस्कको प्रतिभा र दृढ संकल्पले विज्ञानमा कल्पना गरिएका विषयलाई वास्तविकतामा परिणत गरेको बताएका थिए । ट्रम्पले मस्कलाई उद्योग क्षेत्रका प्रभावशाली व्यक्तित्व, उत्कृष्ट इन्जिनियर र प्रविधि क्षेत्रमा अहिलेसम्मकै महान् संस्थापकहरूमध्ये एकका रूपमा चित्रण गरेका थिए । उनले अन्तरिक्ष अन्वेषणदेखि नयाँ प्रविधिको विकाससम्म मस्कले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । ट्रम्पले विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाको विकासमा मस्कले खेलेको भूमिकाको पनि प्रशंसा गरेका थिए । उनले टेस्लालाई ७५ वर्षभन्दा बढी समयपछि सफल हुन सकेको नयाँ गाडी निर्माता कम्पनीका रूपमा उल्लेख गर्दै विद्युतीय गाडी र आफैँ चल्न सक्ने प्रविधिलाई व्यावसायिक रूपमा सफल बनाउन कम्पनीले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए । उनले आफ्ना काका डा. जोन ट्रम्पको प्रसङ्गसमेत उल्लेख गरेका थिए । अमेरिकी सरकारले आविष्कारक निकोला टेस्लाको कामको मूल्याङ्कन गर्न उनलाई जिम्मेवारी दिएको ट्रम्पले बताएका थिए । त्यस्तै, ट्रम्पले मस्कको न्युरालिङ्क र कृत्रिम बुद्धिमत्तासम्बन्धी कामको पनि प्रशंसा गरेका थिए । न्युरालिङ्कमार्फत दृष्टि, बोली र हिँडडुल गर्ने क्षमता गुमाएका मानिसलाई ती क्षमता पुनः प्राप्त गर्न सहयोग पुर्याउने प्रयास भइरहेको उनले बताएका थिए । राष्ट्रिय विज्ञान पदकबाट गुगलका सहसंस्थापक सर्गेई ब्रिन, एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ र एएमडीकी प्रमुख कार्यकारी अधिकृत लिसा सु पनि सम्मानित भएका छन् । त्यस्तै, डेल टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत माइकल डेल र माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलालाई राष्ट्रिय प्रविधि तथा नवप्रवर्तन पदक प्रदान गरिएको थियो । सन् १९५९ मा स्थापना गरिएको राष्ट्रिय विज्ञान पदक अमेरिकामा विज्ञान क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने प्रमुख सम्मानमध्ये एक हो । ट्रम्पका दुवै कार्यकालमा पहिलोपटक राष्ट्रिय विज्ञान पदक र राष्ट्रिय प्रविधि तथा नवप्रवर्तन पदक प्रदान गरिएको जनाइएको छ ।
१८- कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन् । कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएको थियो। उपचारका क्रममा चार बालबालिका र एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा करिब १२–१३ वर्षीया ममता तिवारी, १३–१४ वर्षीय अशिम कँडेल, नामथर नखुलेका दुई बालिका र पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्। तिवारी उपचारका लागि बसमा लिफ्ट मागेर सवार भएको जनाइएको छ । मृतकमध्ये ममता तिवारी, अशिम कँडेल र बाबुराम तिवारीलाई बिहान ८: ३५ बजे तथा नामथर नखुलेका दुई बालिकालाई बिहान ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा महानगरपालिका–२८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिनाको अवस्था मध्यम रहेको छ। उनीहरू कक्षा १० मा अध्ययनरत छन् । गण्डकी अस्पतालमा उपचाररत १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ। त्यस्तै, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, मादी गाउँपालिका–१२ की १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ । बस चालक पोखरा महानगरपालिका–१५ का ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको छ । दुर्घटनापछि उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१९ -दशैँलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा भएको यातायात व्यवसायीसहितको बैठकले आजदेखि टिकट अग्रिम बुकिङ खोल्ने निर्णय गरेको थियो । त्यसैगरी लामो तथा मध्यम दूरीका बसमा रिजर्भमा जाने बसका लागि फूलपाती देखि पुर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको छ । त्यसैगरी यस अवधिमा ढुवानीका सवारी साधनमा फलफुल, औषधि खाद्यान्न, खसी बोकासहित आपतकालीन बाहेक अन्य ढुवानीका यातायात संचालन नगर्ने निर्णय गरिएको छ । यातयात व्यवस्था विभागमा टिकटमा कालोबजारी रोक्न अनुगमन गरिने र कारवाही गरिने समेत विभागले जनाएको छ ।
२०- दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीले आयोगबाट विधिवत् रूपमा दल दर्ताको प्रमाणपत्रसमेत प्राप्त गरेको जनाएको छ । पार्टीले आगामी मंसिर ७ गते झापाको दमकमा औपचारिक घोषणा कार्यक्रम गर्ने जनाएको छ । पार्टीले देश र जनताको हितका लागि सबै राजनीतिक दल, राष्ट्रवादी धारमा विश्वास राख्ने नेपाली, उद्योगी–व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ । पार्टीले देश जोगाउने र निर्माण गर्ने अभियानमा पृथ्वीनारायण शाहसँग जोडिएका राजा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका पूर्वराष्ट्रसेवक तथा राष्ट्रसेवकलाई राष्ट्रिय एकता, सुशासन, शान्ति र समृद्धिका लागि आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहँदै सहकार्य गर्न आह्वान गरेको छ । पार्टीले आफूलाई ‘नेपाल र नेपालीको पार्टी’ का रूपमा प्रस्तुत गरेको छ ।




