
काठमाडौं, २४ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।


दिउँसो कोशी प्रदेशका सबै भू-भागका साथै देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा तराई भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै, कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। देशभर तापक्रम हल्का घट्ने सम्भावना छ। तराईका धेरै भू-भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ।
साथै, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले विशेष गरी कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचनाबारे नियमित जानकारी लिई आवश्यक तयारी तथा योजना बनाउन महाशाखाले अनुरोध गरेको छ।





