
-अनिल नेपाली ,अर्घाखाची डटकम
विशेषज्ञ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य परीक्षण, परामर्श र औषधि निःशुल्क वितरण

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना नागरिक लाभान्वित भएका छन्। भूगर्भ सिमेन्ट प्रा.लि.को आयोजनामा, सन्धिखर्क नगरपालिका–७ को सहजीकरण तथा अर्घाखाँची अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा एकदिने शिविर सञ्चालन गरिएको हो।


शिविरमा सन्धिखर्क नगरपालिका–७ र ६ तथा भूमिकास्थान नगरपालिकाका स्थानीय बासिन्दाले सेवा लिएका थिए। बिहान ९ बजेदेखि सुरु भएको शिविर साँझ ५ बजेसम्म सञ्चालन भएको थियो।


शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यकताअनुसार औषधि निःशुल्क उपलब्ध गराएका थिए। शिविरमा एमडी फिजिसियन डा. पवन कटुवालले पेट, छाती, मुटु, उच्च रक्तचाप, मधुमेह र थाइराइडसम्बन्धी सेवा दिनुभएको थियो।


वरिष्ठ रेडियोलोजिस्ट डा. देवराज कँडेलले भिडियो एक्सरे सेवा प्रदान गर्नुभएको थियो।

त्यसैगरी नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. महेश पोखरेल, छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य रोग विशेषज्ञ डा. अशु शर्मा, हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. साकार ढकाल, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. इन्सु शर्मा र बालरोग विशेषज्ञ डा. विजय भुसालसहितको टोलीले सेवा प्रदान गरेको थियो। आँखासम्बन्धी विशेषज्ञ परीक्षण तथा परामर्श सेवा पनि उपलब्ध गराइएको थियो।


शिविरमा सेवा लिनुभएका सन्धिखर्क नगरपालिका–७ का ८९ वर्षीय भविश्वर थापाले आफ्नै टोलमा चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन र निःशुल्क औषधि पाउन पाउँदा खुसी व्यक्त गर्नुभयो।

“उमेर ढल्कँदै गएपछि टाढा जान पनि गाह्रो हुने, आफ्नै टोलमा डाक्टर आएर जाँच गरी सित्तैमा औषधि दिँदा हामी जस्ता बुढाबुढीलाई ठूलो कल्याण मिलेको छ,” उहाँले भन्नुभयो।
त्यस्तै, शिविरमा सहभागी तारादेवी थापाले पनि स्थानीय आवश्यकताअनुसार घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्नुभयो। भौगोलिक विकटता र आर्थिक कठिनाइका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ग्रामीण बस्तीका नागरिकका लागि यस्ता शिविर निकै उपयोगी हुने उहाँको भनाइ थियो।


कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले स्वास्थ्य शिविर प्रभावकारी र रचनात्मक रहेको बताउनुभयो। उहाँले भूगर्भ सिमेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु सकारात्मक कार्य भएको उल्लेख गर्नुभयो।

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले खानी तथा चुनढुङ्गा उत्खननबाट प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले खानी सञ्चालनका क्रममा गरिएका सम्झौताअनुसारका काम पूर्ण रूपमा कार्यान्वयन गर्न भूगर्भ सिमेन्टलाई आग्रह गर्नुभयो।

नगर प्रमुख श्रेष्ठले स्थानीय नागरिकको स्वास्थ्यप्रति नगरपालिका संवेदनशील र प्रतिबद्ध रहेको बताउँदै कम्पनीले विद्यालयलगायत स्थानीय सङ्घसंस्थालाई गर्दै आएका सहयोगका सकारात्मक पक्षको पनि चर्चा गर्नुभयो।
कार्यक्रममा सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसी, नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, अर्घाखाँची अस्पतालका अध्यक्ष नारायण पौडेललगायतले मन्तव्य राख्नुभएको थियो।

भूगर्भ सिमेन्टका कार्यकारी प्रमुख नन्दकेशर पौडेलले कुनै पनि उद्योग समाजमा स्थापित भएपछि समाजप्रति उत्तरदायी र जवाफदेही हुनु आफ्नो दायित्व भएको बताउनुभयो।
यही मान्यताअनुसार कम्पनीले विद्यालयमा पोसाक वितरण, चेकड्याम निर्माण, वृक्षरोपणलगायत विभिन्न सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ग्रामीण बस्तीका नागरिकलाई घरदैलोमै विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने यस्ता शिविरले नियमित स्वास्थ्य परीक्षणमा पहुँच बढाउन र आर्थिक तथा भौगोलिक कठिनाइका कारण उपचारबाट वञ्चित हुन सक्ने नागरिकलाई राहत पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।




#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD #अर्घाखाँची #खाँचीकोट #निःशुल्कस्वास्थ्यशिविर #भूगर्भसिमेन्ट




