शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन् २०२६ को सबैभन्दा प्रतीक्षित चलचित्रहरूमध्ये एक हो; किनकि यसले तीन वर्षको लामो अन्तरालपछि शाहरुख खानको ठूलो पर्दामा पुनरागमन गराउँदै छ।

एक्सनले भरिपूर्ण यो थ्रिलर चलचित्र अहिलेसम्मकै महँगो चलचित्रमध्ये एक मानिएको छ, जसको निर्माण लागत ४ अर्ब ५० करोड (४५० करोड) रुपैयाँ रहेको बताइएको छ। साथै, चलचित्र क्षेत्रका जानकारहरू सिद्धार्थ आनन्दको यो मनोरञ्जनात्मक चलचित्रको भव्यताको खुलेर प्रशंसा गरिरहेका छन्।

विश्वभरि नै यसको भव्य प्रदर्शनका लागि अब जम्मा ७० दिन मात्र बाँकी रहँदा ‘बलिउड हंगामा’ ले ‘किङ’ का बारेमा एउटा निकै सनसनीपूर्ण जानकारी सार्वजनिक गरेको छ। अत्यन्त विश्वसनीय स्रोतहरूका अनुसार, निर्देशक सिद्धार्थ आनन्द आगामी नोभेम्बर २ मा शाहरुख खानको जन्मदिनको अवसर पारेर ‘किङ’ को एक्सन-प्याक्ड टिजर सार्वजनिक गर्ने तयारीमा छन्।

“यो ‘किङ’ टोलीका तर्फबाट शाहरुख खानका सम्पूर्ण प्रशंसकहरूका लागि जन्मदिनको उपहार हो। सिद्धार्थ आनन्दले शाहरुख खानलाई एउटा नयाँ रूपमा प्रस्तुत गर्दै छन ।   टिजर निकै उत्कृष्ट छ, जसमा उनलाई पहिले कहिल्यै नदेखिएको शैलीमा, भव्य संवादहरू बोल्दै र आकर्षक अन्दाजमा प्रस्तुत गरिएको छ,” एक स्रोतले ‘बलिउड हंगामा’ लाई गोप्य रूपमा बतायो।

समाचार अनुसार, यो टिजरले ‘किङ’ को मार्केटिङ अभियानको विश्वव्यापी सुरुवात गर्नेछ, किनकि यस विधामा भारतबाट अहिलेसम्म नदेखिएको स्तरको परियोजना प्रस्तुत गर्ने टोलीको उद्देश्य छ। “यदि दर्शकहरूले ‘पठान’ र ‘जवान’ को भव्यता मन पराएका थिए भने, ‘किङ’ मार्फत सिड (सिद्धार्थ) ले यसलाई अझ माथिल्लो स्तरमा पुर्‍याएका छन । यसको एक्सन, थ्रिल र सबैभन्दा महत्त्वपूर्ण कुरा यसको संगीतले यो क्रिसमसमा दर्शकहरूलाई रोमाञ्चक अनुभव गराउनेछ,” स्रोतले थप्यो।

‘किङ’ मा करिना कपुरको पनि विशेष उपस्थिति रहनेछ; उनी ‘ड्याडी कूल’ शीर्षकको गीतमा शाहरुख खानसँग नृत्य गर्दै देखिने छिन्। निर्माताहरूले अक्टोबर महिनामा दक्षिण अफ्रिकामा यसको छायांकन गर्ने योजना बनाएका छन्, जुन चलचित्रको मुख्य आकर्षणमध्ये एक हुने बताइएको छ। रेड चिलिज र मार्फ्लिक्सद्वारा निर्मित यो चलचित्र आगामी २४ डिसेम्बर २०२६ मा प्रदर्शन हुने तय गरिएको छ।