
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–७ , जलुकेमा सहिद स्मृति भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। शितगंगा नगरपालिका– ७ को कार्यालयको आर्थिक सहयोग तथा सहिद परिवार समाज नेपाल, अर्घाखाँचीको सहजीकरणमा प्रतियोगिता हुन लागेको हो।
आयोजकका अनुसार प्रतियोगिता २०८३ साल कात्तिक ११ गतेदेखि १४ गतेसम्म वडा कार्यालयनजिकै सञ्चालन हुनेछ। प्रतियोगितामार्फत सहिदहरूको सम्झनालाई सम्मान गर्दै स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडीको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।


प्रतियोगितामा प्रथम हुने टोलीले ३० हजार रुपैयाँ, द्वितीय हुने टोलीले २० हजार रुपैयाँ र तृतीय हुने टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर तथा अनुशासित खेलाडीलगायत विधामा पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा शितगंगा नगरपालिकाका स्थायी बासिन्दाले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। सहभागी टोलीमा बढीमा नौ जना खेलाडी समावेश गर्न सकिनेछ। टोली दर्ताका लागि खेलाडीको नामावलीसहित नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत परिचय खुल्ने कागजात पेस गर्नुपर्नेछ।

इच्छुक टोलीले कात्तिक ११ गते बिहान १० बजेसम्म दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन खेलका नियम तथा आयोजक समितिको निर्णय पालना गर्नुपर्नेछ।
सहिद परिवार समाज नेपालले प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीलाई समयमै दर्ता गराई खेलकुद प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेको छ।

आयोजक: सहिद परिवार समाज नेपाल, अर्घाखाँची
सहयोग: शितगंगा नगरपालिका– ७ को कार्यालय
स्थान: जलुके, शितगंगा नगरपालिका– ७
मिति: २०८३ कात्तिक ११–१४ गते
स्रोत: सहिद परिवार समाज नेपाल





