
अनिल नेपाली /अर्घाखाँची डट्कम ।
अर्घाखाँची, कात्तिक ५ – अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक धरोहर खाँचीकोट दरबार यतिबेला बेहुलीझैँ सिँगारिएको छ। विजयादशमीको अवसरमा यहाँ हरेक वर्ष हुँदै आएको परम्परागत सराय नाच तथा मेला यस वर्ष कात्तिक ७ गते त्रयोदशीका दिन आयोजना हुने भएको छ।


सन्धिखर्क नगरपालिका–७ मा अवस्थित खाँचीकोट दरबार सन्धिखर्क बजारबाट करिब ८ किलोमिटरको दूरीमा रहेको छ। ऐतिहासिक विरासत, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमका रूपमा परिचित यस क्षेत्रमा सराय नाच हेर्न तथा दर्शन गर्न स्थानीयवासीसँगै विभिन्न स्थानबाट श्रद्धालु र पर्यटक आउने अपेक्षा गरिएको छ।


दशैँको नवदुर्गा पूजासँग जोडिएको सराय नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक पहिचान हो। पुस्तौँदेखि चल्दै आएको यो परम्पराले धार्मिक आस्था मात्रै नभई स्थानीय कला, संस्कृति र सामाजिक एकतालाई समेत जीवन्त बनाउँदै आएको छ।

दरबारको संरक्षण र विकासमा जोड
सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीका अनुसार खाँचीकोट दरबारको संरक्षण, विकास तथा व्यवस्थापनका लागि पछिल्लो समय विभिन्न काम अघि बढाइएको छ। अघिल्लो वर्ष हाइम्याक्स लाइट जडान गर्नुका साथै सडक सञ्जालको व्यवस्थापन, पुरातात्त्विक शैलीमा पुनर्निर्माण र मन्दिरलाई थप व्यवस्थित बनाउने काम गरिएको छ।


यस वर्ष पनि मन्दिरको व्यवस्थापन र क्षेत्रको विकासका लागि नयाँ तथा रचनात्मक काम अघि बढाउने योजना रहेको अध्यक्ष केसीले बताउनुभएको छ।
राजदरबारसँग जोडिएको ऐतिहासिक विरासत
बाइसे–चौबिसे राज्यकालमा अर्घा र खाँची छुट्टाछुट्टै राज्यका रूपमा रहेका थिए। खाँचीकोटको इतिहास तत्कालीन राजपरिवार र गोरखा राज्यसँग समेत जोडिएको छ।

ऐतिहासिक विवरणअनुसार खाँचीका १३औँ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका राजा नरभूपाल शाहसँग भएको थियो। चन्द्रप्रभा पृथ्वीनारायण शाहकी सौतेनी आमा थिइन्। उनको भूमिका पृथ्वीनारायण शाहको लालनपालनसँग समेत जोडिएको ऐतिहासिक कथन पाइन्छ। यही ऐतिहासिक सम्बन्धले खाँचीकोट दरबारको महत्वलाई थप विशिष्ट बनाएको छ।

पर्यटनको आकर्षक गन्तव्य बन्ने सम्भावना
खाँचीकोट दरबारबाट सन्धिखर्क बजारसहित अर्घाखाँची, गुल्मी र पाल्पाका विभिन्न भूभाग तथा मौसम अनुकूल हुँदा सुन्दर हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। धार्मिक, ऐतिहासिक र प्राकृतिक आकर्षण एकै ठाउँमा पाइने भएकाले यो क्षेत्र पर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको गन्तव्य हो।


विशेषगरी सुपा देउराली र नरपानी भ्रमणमा आउने पर्यटकलाई खाँचीकोट दरबारसम्म पुर्याउन प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका कार्यक्रम आवश्यक रहेको स्थानीयको भनाइ छ। दरबार क्षेत्र नयाँ पुस्तालाई इतिहास बुझ्न, प्राकृतिक वातावरणमा रमाउन, तस्बिर खिच्न तथा सामाजिक सञ्जालका लागि सामग्री बनाउनसमेत आकर्षक स्थलका रूपमा विकास गर्न सकिने अध्यक्ष केसीको भनाइ छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम खड्काले पनि मन्दिरको व्यवस्थापन र दरबारको संरक्षणलाई व्यवस्थित तथा प्रभावकारी बनाउने प्रयास भइरहेको बताउनुभएको छ।
कात्तिक ७ गते हुने सराय नाचले खाँचीकोटको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ। स्थानीय मौलिक परम्पराको संरक्षणसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत मेलाले योगदान पुर्याउने विश्वास गरिएको छ।
स्थान: खाँचीकोट दरबार, सन्धिखर्क नगरपालिका–७, अर्घाखाँची
मिति: २०८३ कात्तिक ७ गते, त्रयोदशी
तस्बिर/भिडियो : अनिल नेपाली , अर्घाखाँची डटकम

#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD #खाँचीकोटदरबार #सरायनाच #अर्घाखाँची




