लागूऔषधविरुद्ध गाउँमै जागे नागरिक: जरिवानादेखि जनचेतनासम्म

सञ्जय मिश्रा

रौतहट, ६ कात्तिक। लागूऔषधको बढ्दो प्रयोग र अवैध कारोबारले युवापुस्ताको भविष्य जोखिममा पार्न थालेपछि रौतहटका विभिन्न गाउँमा स्थानीय बासिन्दा आफैँ नियन्त्रण अभियानमा जुटेका छन्।

प्रहरीको कारबाहीमा मात्र निर्भर नभई समुदायस्तरबाटै निगरानी, जनचेतना र सामाजिक अनुशासन कायम गर्ने उद्देश्यले गाउँबस्तीमा सामूहिक पहल थालिएको हो।

फतुवा विजयपुर नगरपालिका–१ स्थित बैरगनिया र घुसुकपुर तथा मौलापुर नगरपालिका–१ मर्यादपुरका बासिन्दाले लागूऔषध र सामाजिक विकृतिविरुद्ध देखाएको सक्रियताले जिल्लामा नयाँ बहस सिर्जना गरेको छ। जनप्रतिनिधि, समाजसेवी, व्यापारी, किसान तथा सर्वसाधारण एकजुट भएर आआफ्नो गाउँलाई सुरक्षित बनाउने अभियानमा लागेका छन्।

बैरगनिया र घुसुकपुरमा कडा नियम

बैरगनिया र घुसुकपुरमा वडाध्यक्ष विजयकुमार यादवसहित स्थानीयको सहभागितामा बसेको बैठकले लागूऔषध सेवन, बिक्रीवितरण तथा त्यसबाट उत्पन्न हुने होहल्ला र झैझगडा नियन्त्रण गर्न जरिवानासहितका उपाय अपनाउने निर्णय गरेको छ।

स्थानीयको निर्णयअनुसार वडाभित्र गाँजा, चरेस तथा ‘वाटर गन’ लगायतका नशालु पदार्थ सेवन गर्नेलाई ५ हजार १०० रुपैयाँ जरिवाना गरिनेछ। मेलामा यस्ता पदार्थ बिक्री गर्ने विक्रेतालाई २१ हजार रुपैयाँ र मेला अवधिमा नशालु पदार्थ सेवनका कारण होहल्ला वा झैझगडा भए मेलाको खर्चबापत ५१ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ।

स्थानीयका अनुसार बैरगनिया चोकमा आयोजित दुर्गा मेलामा मदिरा तथा लागूऔषध सेवन गरेर होहल्ला र झैझगडाका घटना नदेखिनु यस अभियानको सकारात्मक संकेत हो। धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई मर्यादित बनाउने र सामाजिक सद्भाव कायम राख्ने यो प्रयासले समुदायमा राम्रो प्रभाव पारेको उनीहरूको विश्वास छ।

मर्यादपुरमा पनि सामूहिक प्रतिबद्धता

images

लागूऔषध नियन्त्रण र सामाजिक विकृति न्यूनीकरणका लागि मौलापुर नगरपालिका–१ मर्यादपुरका बासिन्दाले पनि सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। गाउँमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न स्थानीयस्तरमै निगरानी बढाउने र आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउने उनीहरूको योजना छ।

स्थानीयवासीका अनुसार कोरोनाविरुद्धको महामारीपछि जिल्लाका विभिन्न बस्तीमा लागूऔषध सेवन बढेको अनुभूति गरिएको छ। गाँजा, चरेस, अफिम, ब्राउन सुगर तथा विभिन्न प्रकारका नशालु ट्याबलेट र इन्जेक्सनको प्रयोगले अभिभावक र समाजलाई चिन्तित बनाएको छ। यसले सबैलाई थप जिम्मेवार बन्न दबाब दिएको छ।

images

एसपी रिजालद्वारा प्रशंसा

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालले मर्यादपुर, बैरगनिया र घुसुकपुरका बासिन्दाले थालेको पहलको प्रशंसा गरेका छन्।

images

उनले लागूऔषधको समस्या कुनै एक व्यक्ति वा परिवारमा मात्र सीमित नरही विश्वव्यापी चुनौती बनेको बताए। यसको नियन्त्रणका लागि प्रहरी प्रशासनसँगै नागरिक पनि आआफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने उनको भनाइ छ।

दुर्व्यसनमा फसेका युवालाई घृणा वा बहिष्कार गर्नुभन्दा माया, परामर्श र उपचारमार्फत सामान्य जीवनमा फर्काउनुपर्नेमा जोड दिँदै एसपी रिजालले यसमा अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताए। आफ्ना सन्तान दुर्व्यसनमा परेको थाहा पाएपछि त्यसलाई लुकाउनुको सट्टा समयमै सहयोग खोज्नुपर्ने उनको सुझाव छ।

उनले लागूऔषधको अवैध कारोबार वा शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने प्रतिबद्धता जनाएका छन्।

रौतहटमा १८ वटा स्थानीय तह रहेकाले दुई क्षेत्रमा सुरु भएको यो अभियानलाई जिल्लाभरि विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ। विद्यालयमा जनचेतना, परिवारमा निगरानी, स्थानीय तहको नेतृत्व र प्रहरीको प्रभावकारी कारबाहीलाई एकीकृत गर्न सके नियन्त्रणका प्रयासहरू थप परिणाममुखी बन्न सक्छन्।

Nepal life insurance

दुर्व्यसनमा परेकाहरूलाई उपचार र पुनःस्थापनाको अवसर दिँदै अवैध कारोबारमा संलग्नमाथि कडा कानुनी कारबाही अगाडि बढाउनु नै यसको दीर्घकालीन समाधान हो। गाउँबाट सुरु भएको यो पहल जिल्लाव्यापी अभियानमा रूपान्तरण हुन सके युवापुस्तालाई दुर्व्यसनबाट जोगाउने प्रयासले ठोस गति लिन सक्ने अपेक्षा गरिएको छ।