
इजरायलमा सम्पन्न संसदीय निर्वाचनको परिणामले इरानको विदेश नीति वा सुरक्षा रणनीतिमा कुनै प्रभाव नपार्ने इरानले स्पष्ट पारेको छ । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इजरायलको चुनावी गतिविधिप्रति कडा टिप्पणी गर्दै यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । प्रवक्ता बाघेईले पश्चिम एशियामा इजरायलको उपस्थितिले हिंसा र नरसंहारबाहेक केही पनि नदिएको आरोप लगाउनु भयो । उहाँले प्यालेस्टिनी नागरिकविरुद्ध इजरायलले जारी राखेको नरसंहार र इरानविरुद्ध दिइरहेको धम्कीलाई उक्त मुलुकको शत्रुतापूर्ण व्यवहारको निरन्तरताका रूपमा चित्रण गर्नुभयो ।
इजरायली अधिकारीहरूले इरानले निर्वाचन प्रक्रिया बिथोल्न पूर्व–खाली आक्रमण’ गर्नसक्ने भनी गरेको दाबीलाई पनि बाघेईले ठाडै अस्वीकार गर्नुभयो । उहाँले इजरायल फल्सफ्ल्याग अपरेसन (आफैँ घटना गराएर अरूलाई दोष लगाउने कार्य) मा सिपालु रहेको भन्दै त्यस्ता दाबीहरू आधारहीन भएको दाबी गर्नुभयो ।


इरानले क्षेत्रको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै उहाँले आफ्नो भूमिको रक्षाका लागि इरानी सेना पूर्ण रूपमा तयार रहेको चेतावनी दिनुभयो । उहाँले इरान हाल युद्धको अवस्थामा रहेको र आफ्नो आत्मरक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको दोहो¥याउनु भयो ।

स्मरण रहोस्, गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानका विभिन्न सहरहरूमा संयुक्त सैन्य आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल र क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको थियो ।




