
काठमाडौं, ११ कात्तिक। आमादब्लम हिमालको शिखरमा सफल आरोहण गरेको भोलिपल्ट सोमबार एक जर्मन पर्वतारोही करिब १,५०० मिटर (झन्डै ५,००० फिट) तल खसेर ज्यान गुमाएका छन्।
एक ट्रेकिङ कम्पनीका सञ्चालकले यो जानकारी दिएका हुन्। साे कम्पनिका अनुसार ५७ वर्षीय उल्फगाङ वासिचेक करिब ६,२०० मिटरको उचाइमा रहेको ‘क्याम्प ३’ बाट बेपत्ता भएका थिए। उनी आइतबार ६,८१२ मिटर अग्लो शिखरमा सफल आरोहण गरी फर्किने (अवरोहण गर्ने) तयारीस्वरूप क्याम्प ३ मा आराम गरिरहेका थिए।


“सफल शिखर आरोहणपछि उनले आइतबार क्याम्प ३ मा बिताएका थिए र सोमबार बिहान उनका गाइडले उनलाई बेपत्ता पाए,” ‘रियल हिमालय’ ट्रेकिङ कम्पनीका प्रमुख गोकुल थापाले भने ।

थापाका अनुसार वासिचेकका व्यक्तिगत ट्रेकिङ गाइड सोनाम लामाले सापटी लिएका सरसामान फिर्ता गर्न जाँदा उनलाई पालभित्रै बस्न भनेका थिए। तर, केही बेरपछि फर्केर हेर्दा वासिचेक त्यहाँ थिएनन् र उनी बेपत्ता भइसकेका थिए।
वासिचेकको शव सोमबार बिहान करिब ८ बजे क्याम्प २ क्षेत्र (करिब ४,६०० मिटर उचाइ) मा अर्का शेर्पाले देखेका थिए। त्यसपछि उनको शवलाई दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको थियो। लुक्लाबाट शवलाई थप पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।

थापाले भने, “पोस्टमार्टम प्रक्रिया पूरा भएपछि राजदूतावासमार्फत शव उनका परिवारजनलाई बुझाइनेछ।” उनका अनुसार वासिचेकको यो दोस्रो नेपाल भ्रमण थियो। “उनी सन् २०२४ मा ट्रेकिङका लागि नेपाल आएका थिए, उनको यो निधनले हामीलाई स्तब्ध बनाएको छ।”
त्यसैगरी, गत साता पश्चिम नेपालको अर्को हिमालमा दुई जापानी पर्वतारोहीको पनि मृत्यु भएको थियो। खुम्बु क्षेत्रमा अवस्थित आमादब्लम हिमाल ठाडो र प्राविधिक रूपमा कठिन हिमाल मानिन्छ। यस वर्ष यस हिमालमा यो पहिलो मानवीय क्षति हो।


गत वर्षको अक्टोबरमा पनि त्यहाँ दुई पर्वतारोही (६५ वर्षीय फ्रेन्च र ६६ वर्षीय दक्षिण कोरियाली नागरिक) को आरोहणका क्रममा मृत्यु भएको थियो। यस वर्षको शरद ऋतुको पर्वतारोहण मौसममा ३०० भन्दा बढी पर्वतारोहीले आमादब्लम आरोहणको प्रयास गरिरहेका छन्।
यसैबीच, यस वर्ष अन्य हिमालहरूमा पनि पर्वतारोहीहरूको ज्यान गएको छ। गत जुलाई महिनामा पाकिस्तानको ब्रोद पिक हिमालमा आएको हिमपहिरोमा परी प्रसिद्ध बेलायती-नेपाली पर्वतारोही निर्मल पुर्जासहित ९ जनाको ज्यान गएको थियो। त्यस्तै, गत मे महिनामा सगरमाथामा दुई भारतीय र मकालु हिमालमा अमेरिकी पर्वतारोही शेली जोहानेसेनकाे पनि हिमपहिरोका कारण निधन भएको थियो।




