चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो

काठमाडौँ । चक्रवात ‘अर्नब’ मङ्गलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ ।

चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावाहुरी चलेको छ भने विशाखापट्टनम, अनकापल्ली, काकिनाडा र कोनसीमा क्षेत्रमा भारी वर्षा भइरहेको छ । तटीय तथा तल्लो क्षेत्रमा बाढीको जोखिम बढेपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

चक्रवातका कारण रेल र हवाई यातायात प्रभावित भएको छ । भारतमा ५० वटा रेल र विजयवाडा तथा विशाखापट्टनम विमानस्थलबाट हुने २१ उडान रद्द गरिएका छन्। आन्ध्र प्रदेश र ओडिशामा गरी चार हजार चक्रवात आश्रयस्थल तयार गरिएको छ। ओडिशामा भारी वर्षाका कारण १६ जिल्लाका विद्यालय बन्द गरिएका छन् भने ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

भारतीय मौसम विभागले चक्रवातको प्रभाव तमिलनाडु, आन्ध्र प्रदेश, केरल, कर्नाटक, तेलङ्गाना, ओडिशा, पश्चिम बङ्गाल, बिहार, झारखण्ड, उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ र महाराष्ट्रसहित १३ राज्यमा पर्ने चेतावनी दिएको छ । आन्ध्र प्रदेशको मौसम विभाग प्रमुख के. नागरत्नाका अनुसार चक्रवातको तटीय क्षेत्रमा प्रवेश गर्ने प्रक्रिया अझै एकदेखि दुई घण्टासम्म जारी रहन सक्नेछ। त्यसपछि हावाको गति क्रमशः प्रतिघण्टा ९० देखि १२० किलोमिटर हुँदै ६० देखि ७० किलोमिटरमा झर्ने अनुमान गरिएको छ ।

चक्रवातको प्रभावले सडकमा पानी जम्नुका साथै विद्युत्, खानेपानी र सञ्चार सेवा प्रभावित हुन सक्ने चेतावनी दिइएको छ । माछा मार्ने काममा संलग्न व्यक्तिलाई समुद्रमा नजान आग्रह गरिएको छ ।