काजकिरिया गरिसकेका व्यक्ति जब ६ महिनापछि जिउँदै घर फर्किए…

मोरङमा अनौठो घटना : मृत ठानेर अन्त्येष्टि गरिएका व्यक्ति भारतको आसामबाट फर्किए, परिवारले पुनः धार्मिक विधि पूरा गरेर घर भित्र्यायो

तेजन खड्का

मोरङ, ११ कात्तिक। मृत्यु भएको ठानेर काजकिरिया गरिसकेका मोरङको लेटाङका एक व्यक्ति करिब ६ महिनापछि जिउँदै घर फर्किएका छन्। मृतक ठानेर अन्त्येष्टिसमेत गरिसकिएका व्यक्ति अचानक घर आइपुगेपछि परिवार, आफन्त र छिमेकी आश्चर्यचकित भएका छन्।

प्राप्त विवरणअनुसार करिब ३७ वर्षीय ती व्यक्ति गत माघदेखि सम्पर्कविहीन थिए। सुनसरीको चकरघट्टिमा भएको सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले गत जेठमा उनको काजकिरिया गरेको थियो। दुर्घटनापछि शव घर ल्याएर चिसाङ खोलामा दाहसंस्कारसमेत गरिएको थियो।

परिवारका अनुसार, शवको अनुहार र शारीरिक बनावट मिल्दोजुल्दो देखिएपछि आफूहरूले त्यसलाई आफन्तकै शव ठानेका थिए। त्यसपछि सामाजिक तथा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो। तर, करिब ६ महिनापछि ती व्यक्ति नै जिउँदै घर फर्किएपछि परिवारमा अनौठो परिस्थिति सिर्जना भएको छ।

घर फर्किएपछि परिवारले धार्मिक परम्परा र चलनअनुसार सोमबार राति जन्म, न्वारान तथा व्रतबन्धसम्बन्धी कर्म पूरा गरेर उनलाई घरभित्र्याएको बताइएको छ। पारिवारिक स्रोतका अनुसार, घर छाडेपछि ती व्यक्ति भारतको आसाम क्षेत्रमा बस्दै आएका थिए। उनी हालै त्यहीँबाट फर्किएको बताइएको छ।

परिवारको आग्रहमा तत्कालका लागि उनको परिचय गोप्य राखिएको छ। घटनाबारे विस्तृत विवरण सार्वजनिक नभएकाले दुर्घटनामा मृत्यु भएको भनिएको व्यक्तिको शव कसको थियो भन्ने विषयसमेत स्पष्ट हुन सकेको छैन।