
काठमाडौँ । ब्राजिलमा राष्ट्रपतीय निर्वाचनको नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ ।
ब्राजिलबाट भागेर अमेरिका पुगेपछि सिनेटर फ्लाभियो बोल्सोनारोले सार्वजनिक पत्र जारी गर्दै आफूलाई ब्राजिलको वास्तविक निर्वाचित राष्ट्रपति दाबी गरेका छन् । उनले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको विजयमाथि प्रश्न उठाउँदै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । तर, उनले आफ्नो आरोप पुष्टि गर्ने ठोस प्रमाण भने प्रस्तुत गरेका छैनन् ।

फ्लाभियोले पत्रमा निर्वाचनको दोस्रो चरणमा लुलाले पहिलो चरणको तुलनामा एक करोडभन्दा बढी थप मत प्राप्त गरेको दाबी गर्दै यसले शङ्का उत्पन्न गरेको बताएका छन् । उनले मतदानको समय बढाउने निर्णयमाथि पनि प्रश्न उठाएका छन् । यसबाट मतदातालाई फरक–फरक नियमअनुसार व्यवहार गरिएको उनको आरोप छ । निर्वाचन अभियानका क्रममा सरकारी स्रोतसाधनको दुरुपयोग र राजनीतिक प्रभाव प्रयोग गरिएको दाबी गर्दै उनले लुला र उपराष्ट्रपति जेराल्डो आल्कमिनको निर्वाचन विजय रद्द गर्न माग गरेका छन् । यी आरोपका पक्षमा भने उनले प्रमाण दिएका छैनन् ।


फ्लाभियोले ब्राजिलको न्यायपालिका र सर्वोच्च अदालतलाई समेत राजनीतिक पक्षपात गरेको आरोप लगाएका छन् । आफूविरुद्ध भइरहेको न्यायिक कारबाहीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै उनले राहदानी जफत गरिएको, विद्युतीय निगरानीमा राखिएको र पक्राउ पर्न सक्ने अवस्थाबारे पत्रमा उल्लेख गरेका छन् । आफ्नो परिवारलाई यस्तो परिस्थितिबाट जोगाउन आफू अमेरिका पुगेको उनले बताएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईप्रति आभारसमेत व्यक्त गरेका छन् ।
अमेरिका पुगे पनि ब्राजिलको राजनीतिबाट आफू अलग नहुने फ्लाभियोले बताएका छन् । उनले अमेरिकाबाटै विपक्षी राजनीतिक शक्तिको नेतृत्व गर्ने घोषणा गर्दै समर्थकलाई एकताबद्ध रहन आग्रह गरेका छन् । लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको रक्षाका लागि शान्तिपूर्ण तथा कानुनी बाटोबाट सङ्घर्ष जारी राख्ने उनको भनाइ छ ।

फ्लाभियो पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन्। उनले आफ्ना पिता र अन्य समर्थकविरुद्ध भइरहेको कारबाहीलाई पनि राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन् । निर्वाचनको नतिजा र न्यायिक प्रक्रियाबारे उनका दाबी सार्वजनिक भए पनि पत्रमा प्रस्तुत आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।





