एम्बाप्पे बिबाद: चिनियाँ टिभीमा नदेखिने भयाे स्पेनिस लिगका खेल

काठमाडौं, १३ कार्तिक। किलियन एम्बाप्पे, रियल म्याड्रिड र ला लिगाले माओ त्सेतुङबारे ती फ्रान्सेली स्ट्राइकरले दिएको टिप्पणीका लागि माफी मागेका छन्। तर विज्ञहरूका अनुसार यस घटनाले चीनमा उनीहरूको प्रतिष्ठामा पुर्‍याएको क्षति सजिलै वा छिटो सुध्रिने छैन।

विश्वकै उत्कृष्ट फुटबलरहरू मध्ये एक तथा फ्रान्सेली टोलीका कप्तान एम्बाप्पे अहिले विवादको केन्द्रमा छन्। यसै साता सार्वजनिक भएको एउटा भिडियोमा उनी पूर्वनेता माओको खिल्ली उडाउँदै गरेको जस्तो देखिएपछि यो विवाद उत्पन्न भएको हो।

एमबाप्पेले एउटा इन्टरनेट ‘मिम’ को बारेमा कुरा गरे, जसमा उनको अनुहारलाई डिजिटल प्रविधिमार्फत अर्को एक व्यक्तिको शरीरमा राखिएको थियो, जसलाई उनले “चिनियाँ तानाशाह” जस्तो देखिने व्यक्ति भनेका छन्। माओलाई आधिकारिक रूपमा कम्युनिस्ट क्रान्तिका नायक र जनवादी गणतन्त्र चीनका संस्थापकका रूपमा सम्मान गरिन्छ।

इतिहासकारहरूले लाखौं मानिसको मृत्युका लागि माओलाई जिम्मेवार ठान्छन् तर सार्वजनिक रूपमा उनको खिल्ली उडाउनु वर्जित मानिन्छ। एमबाप्पेको यो टिप्पणीका कारण उनी बेइजिङलाई आक्रोशित पार्ने पछिल्ला विदेशी खेलकुद हस्ती वा संस्था बनेका छन्।

चीनका प्रमुख ब्रान्डहरूले २७ वर्षीय यी खेलाडीसँगको सम्बन्ध तोडेका छन् र स्पेनिस शीर्ष लिगका खेलहरू अब चिनियाँ सरकारी टेलिभिजन ‘सीसीटीभी’ को प्रसारण तालिकाबाट हटाइने भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू एमबाप्पेको कडा आलोचना गर्न अघि सरे, यद्यपि उनले वास्तवमा के भनेका थिए भन्ने कुरा उनीहरूलाई राम्ररी थाहा थिएन।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा आकर्षक बजार हो। अप्रिल महिनामा खिचिएको भनिएको एउटा भिडियो अनलाइनमा भाइरल भएको दुई दिनभित्रै, ती स्ट्राइकर उनको क्लब ‘रियल म्याड्रिड’ र ‘ला लिगा’ ले माफी मागेका छन्। चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले सरकारले एमबाप्पेको माफीलाई “गम्भीरतापूर्वक” लिएको बताएका छन्।

के यससँगै यो विषय टुंगियो त?

अनुभवी खेलकुद टिप्पणीकार यान कियाङले भने, “शान्त, वस्तुनिष्ठ र भावनामुक्त दृष्टिकोणबाट हेर्दा, यो स्पष्ट रूपमा अत्यन्त हानिकारक घटना हो, मोबाइल इन्टरनेटको युगमा, सामाजिक सञ्जालमा कुनै पनि विषय निकै छिटो भाइरल हुन्छ र मानिसहरूको भावना तीव्र रूपमा उम्लिन्छ। माफी माग्दैमा कुनै विवाद वा घटनाको पूर्ण अन्त्य हुन्छ भन्ने छैन। माफी नमाग्नुभन्दा माफी माग्नु राम्रो हो, तर यसले पक्कै पनि उक्त घटनालाई पूर्णविराम लगाउँदैन।”

यस्तो तीव्र प्रतिक्रिया र त्यसपछिका परिणामहरू नौला कुरा होइनन्। चीनका लागि राजनीतिक रूपमा संवेदनशील मानिने विषयहरूमा टिप्पणी गर्दा विभिन्न विदेशी खेलकुद लिग वा खेलाडीहरू ठूलो विवादमा फसेका उदाहरणहरू छन्।

images

सन् २०१९ मा ह्युस्टन रकेट्सका तत्कालीन महाप्रबन्धक ड्यारिल मोरीले हङकङका प्रदर्शनकारीहरूको समर्थनमा ट्वीट गरेपछि, चीनले संयुक्त राज्य अमेरिकाको नेसनल बास्केटबल एसोसिएसनसँगको सम्बन्ध लगभग तोडेको थियो। बास्केटबल एसोसिएसनका उच्च अधिकारीहरूले मोरीलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार रहेको बताएका थिए। यसको ठीक विपरीत, ‘ला लिगा’ ले भने एमबाप्पेको भनाइबाट तुरुन्तै आफूलाई अलग गर्‍यो।

images

चीनमा फुटबलसँगै बास्केटबल पनि सबैभन्दा लोकप्रिय खेलहरूमध्ये एक हो। तर, मोरीको उक्त टिप्पणीका कारण एक वर्षभन्दा बढी समयसम्म चिनियाँ टेलिभिजनबाट बास्केटबल एसोसिएसनका खेलहरू हटाइएका थिए। गत वर्ष मात्रै बास्केटबल एसोसिएसनका प्रि-सिजन खेलहरू पुनः चीनमा फर्किएका हुन्।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीकी प्राध्यापक डेबी चानले बास्केटबल एसोसिएसनको घटनार अहिले एमबाप्पेसँग जोडिएको घटनालाई चीनको ‘उपभोक्ता राष्ट्रवाद’को उदाहरणका रूपमा व्याख्या गरेकी छिन्। यसमा अनलाइनमा देखिने जनभावना र सरकारी सञ्चारमाध्यमहरू एकै ठाउँमा मिसिएर “आक्रोशको एक चक्र”सिर्जना गर्छन्।

images

बास्केटबल एसोसिएसनका कमिसनर एडम सिल्भरले बताएअनुसार, यस विवादका कारण लिगले “सयौं मिलियन डलर” गुमाउनुपरेको थियो ।

के एम्बाप्पे, रियल म्याड्रिड र ला लिगाका लागि अब पछाडि फर्कने कुनै बाटो छैन?

ला लिगाको एक स्रोतले एएफपीलाई बताएअनुसार अन्तर्राष्ट्रिय प्रसारण अधिकारको “अधिकांश” हिस्सा चीन र अमेरिकाबाट मात्र प्राप्त हुन्छ। सन् २०२४–२५ सिजनका लागि यसको मूल्य ७४८ मिलियन युरो (८३४ मिलियन अमेरिकी डलर) तोकिएको थियो।

रियल म्याड्रिडसँग निकट मानिने ‘मार्का’ पत्रिकाका अनुसार म्याड्रिड क्लबले आफ्नो जर्सी र अन्य सामग्रीको बिक्रीबाट हुने आम्दानीको १० देखि १५ प्रतिशत हिस्सा चीनबाट प्राप्त गर्छ।

Nepal life insurance

“यदि त्यो प्रभावलाई कायम राख्न सकिएन भने व्यावसायिक हितको कुरा त परै जाओस्, ला लिगा र रियल म्याड्रिड दुवै नराम्ररी प्रभावित हुनेछन्,” यानले भने। अब के हुन्छ भनेर अनुमान लगाउन “वास्तवमै कठिन” छ ।

“छोटो अवधिको कुरा गर्ने हो भने, म पक्कै पनि आशावादी छैन,” उनले भने, “यदि उनीहरू आफ्नो छवि र सम्बन्ध सुधार्न चाहन्छन् भने, उनीहरूका आगामी कदम र व्यवहार नै निर्णायक हुनेछन्।”

रियल म्याड्रिडका मुख्य प्रायोजकहरूमा चिनियाँ कम्पनीहरू पनि समावेश छन्; जसमा हाइसेन्स, खेलकुद सट्टेबाजी कम्पनी ‘काइयुन स्पोर्ट्स’ र ‘लिङलोङ टायर’ प्रमुख छन्।

बेइजिङस्थित ‘की-सोलुसन स्पोर्ट्स कन्सल्टिङ’ का संस्थापक एडम झाङका अनुसार, तत्काल र हृदयदेखि नै पछुतो व्यक्त गर्नु यस समस्या समाधानको पहिलो कदम हुनेछ।

उनले एएफपीलाई भने, “यसले प्रसारणमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने कि नदिने र यदि दिने हो भने कति लामो समयसम्म दिने भन्ने निर्णयमा प्रभाव पार्नेछ।”

खेलकुद टिप्पणीकार यानले एम्बाप्पेको प्रतिष्ठा फेरि पहिले जस्तै बन्न सक्ला कि नसक्ला भन्नेमा शंका व्यक्त गरे। चीनमा पेय पदार्थका बोतलहरू र विभिन्न विज्ञापन अभियानहरूमा एम्बाप्पेको तस्बिर प्रयोग गरिएको थियो। उनले भने, “विश्वकपका बेला उनले गरेका व्यावसायिक प्रायोजन र ठूला विज्ञापन अभियानहरूलाई हेर्दा चीनमा उनको ठूलो प्रभाव रहेको देखिन्छ।”