
काठमाडौं । सन् २०२६ को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७६ देशका १४९३ जना आरोहीले अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आरोहण अनुमति लिनेमा ११३७ पुरुष र ३५६ महिला रहेका छन् ।
आरोहण अनुमतिबापत सरकारले ३२ करोड ३७ लाख ८८ हजार ९९० रुपैयाँ रोयल्टी संकलन गरेको छ । विभागको प्रतिवेदनअनुसार यसबापत २१ लाख २८ हजार १०९ अमेरिकी डलर बराबरको रोयल्टी संकलन भएको छ । शरद ऋतुको आरोहणका लागि विभिन्न हिमालमा १७१ वटा आरोहण टोलीले अनुमति लिएका छन् ।


यस शरद ऋतुमा मनास्लु हिमाल आरोहीको पहिलो रोजाइमा परेको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ वटा टोलीका ५०० जनाले अनुमति लिएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला रहेका छन् । मनास्लु आरोहणबाट मात्रै १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् २२ करोड ५५ लाख ८७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

त्यस्तै, आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि ६ वटा टोलीका ३७ जनाले अनुमति लिएका छन् । यसबाट ५५ हजार ५०० अमेरिकी डलर अर्थात् ८ करोड ४७ लाख ३६ हजार ५०० रुपैयाँ रोयल्टी संकलन भएको छ । अन्नपूर्ण चौथो हिमाल आरोहणका लागि १९ जनाले अनुमति लिएका छन्। यसबाट ९ हजार ५०० अमेरिकी डलर बराबरको रोयल्टी संकलन भएको छ। त्यस्तै, हिमलुङ हिमाल आरोहणका लागि १३ वटा टोलीका १३० जनाले अनुमति लिएका छन्। यसबाट ५२ हजार अमेरिकी डलर अर्थात् ७९ लाख ७४ हजार २० रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।


जुगल दोस्रो हिमाल आरोहणका लागि ३४ वटा टोलीका ४१२ जनाले अनुमति लिएका छन् । यस हिमालबाट मात्रै ४ लाख ४ हजार अमेरिकी डलर अर्थात् ६ करोड १६ लाख ५१ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
देशगत विवरणअनुसार नेपालमा हिमाल आरोहणका लागि सबैभन्दा धेरै अनुमति लिनेमा चीनका नागरिक रहेका छन्। चीनबाट १४२ जनाले आरोहण अनुमति लिएका छन्। तीमध्ये १०१ पुरुष र ४१ महिला छन् । त्यस्तै, फ्रान्सका १३६ जना आरोहीले अनुमति लिएका छन्। उनीहरूमध्ये ११८ पुरुष र १८ महिला छन्। अमेरिकाबाट १२१, रुसबाट ११३ र बेलायतबाट १०२ जनाले आरोहण अनुमति लिएका छन् । जर्मनीबाट ९७, स्पेनबाट ५५, स्विट्जरल्यान्डबाट ४९, अस्ट्रेलियाबाट ४४ र भारतबाट ४० जना आरोही नेपाल आएका छन्। त्यस्तै, जापानबाट ३५, क्यानडाबाट ३८, दक्षिण कोरियाबाट १० र नेदरल्यान्ड्सबाट १० जनाले आरोहण अनुमति लिएका छन् ।

यस शरद ऋतुमा आरोहण अनुमति लिने कुल १४९३ जनामध्ये ३५६ जना महिला छन् । यो कुल आरोहीको करिब २३.८५ प्रतिशत हो । पुरुषको संख्या भने १ हजार १३७ अर्थात् ७६.१५ प्रतिशत रहेको छ । आरोहण क्षेत्रमा महिलाको सहभागिता पनि उल्लेखनीय देखिएको छ। चीन, अमेरिका, जर्मनी, फ्रान्स र रुसबाट महिला आरोहीको सहभागिता रहेको विभागको विवरणमा उल्लेख छ ।




