सिरियामा भीषण बाढी र डुबानः ५ जनाको मृत्यु, ५ बेपत्ता

सिरियाका विभिन्न प्रान्तमा बिहीवार परेको भारी वर्षा र त्यसपछिको भीषण बाढीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा चार बालबालिकासहित अन्य पाँच जना अझै बेपत्ता रहेको त्यहाँको आपत्कालीन तथा विपद् व्यवस्थापन निकायले जनाएको छ । सिरियाको आपत्कालीन मन्त्रालयकाअनुसार मृत्यु हुनेहरूमा अधिकांश राका र डेर अल–जोर प्रान्तको ग्रामीण भेगका बासिन्दा रहेका छन् ।

बाढीले बगाएर बेपत्ता भएकाहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । राका, डेर अल–जोर र एलेप्पोका ग्रामीण क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बाढीको चपेटामा परेकाहरूलाई जोगाउन सिरियन सिभिल डिफेन्सको टोलीले राका, डेर अल–जोर र होम्स प्रान्तबाट हालसम्म २५ जनालाई सकुशल उद्धार गरेको छ ।

बाढीका कारण फसेकाहरूलाई सुरक्षित स्थानमा सार्ने र गाडीभित्र थुनिएकाहरूलाई बाहिर निकाल्ने काम भइरहेको छ ।

भारी वर्षाका कारण उत्तरी र पूर्वी सिरियाका कृषि भूभागमा ठूलो क्षति पुगेको छ । खेतबारी डुबानमा परेका छन् भने सडक र पुलहरू भत्किएका छन् । राका प्रान्तका तल्लो क्षेत्रमा लेदोसहितको बाढी पसेका कारण खेतीपाती र कृषि संरचनामा क्षति पुग्दा स्थानीय किसानहरू थप मारमा परेका छन् । सडक सञ्जाल अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा आवतजावत र राहत सामग्री ओसारपसारमा समेत कठिनाइ देखिएको छ । प्रशासनले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च शतर्कता अपनाउन र बाढीग्रस्त क्षेत्रमा नजान आग्रह गरेको छ । वर्षा र बाढीले उत्तरी तथा पूर्वी सिरियाका समुदायहरूमा पारेको यो पछिल्लो प्रभावले भौतिक र मानवीय क्षतिलाई उजागर गरेको छ ।