यमनको ताइजमा आवासीय घरहरूमाथि हवाई आक्रमणः १२ जनाको मृत्यु भएको हुथी सञ्चारमाध्यमको दाबी

यमनको दक्षिण–पश्चिमी रणनीतिक प्रान्त ताइजका दुईवटा आवासीय घरहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएको हुथी विद्रोही नियन्त्रित सञ्चारमाध्यमले दाबी गरेको छ ।

हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनकाअनुसार बिहीवार पश्चिमी ताइजको मकबाना जिल्लास्थित अल–बर्ह क्षेत्रका आवासीय बस्तीमा उक्त हवाई हमला भएको हो । विद्रोही पक्षले यस आक्रमणका लागि ‘साउदी नेतृत्वको गठबन्धन’ लाई जिम्मेवार ठह¥याएको छ ।

यद्यपि, घटनाबारे विस्तृत प्रमाण भने सार्वजनिक गरिएको छैन । आक्रमण र हताहतीको उक्त दाबीप्रति साउदी अरेबिया तथा यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका तर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

स्वतन्त्र स्रोतहरूबाट समेत यस घटनाको आधिकारिक पुष्टि हुन सकेको छैन । रणनीतिक महत्व बोकेको ताइज प्रान्तमा पछिल्ला दिनहरूमा हुथी विद्रोही र सरकारी सुरक्षा बलबीचको भिडन्त तिब्र बन्दै गएको छ । प्रान्तको नियन्त्रण कायम गर्न दुवै पक्षबीच विभिन्न मोर्चामा भइरहेको भीषण लडाइँका कारण सर्वसाधारणको जीवन जोखिममा परेको छ । यसैबीच, संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए) ले ताइजमा बढ्दो मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घकाअनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा निरन्तरको आवागमन प्रतिबन्धका कारण औषधि, इन्धन तथा पिउने पानीको चरम अभाव सिर्जना भई स्वास्थ्य सेवा नाजुक अवस्थामा पुगेको छ । लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसक्दा महामारी फैलिन सक्ने खतरा समेत बढेको छ । सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीहरूले राजधानी सानालगायत उत्तरी भूभाग कब्जा गरेपछि यमन गृहयुद्धमा फसेको थियो । त्यसको प्रतिकार गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा सन् २०१५ देखि साउदी नेतृत्वको सैन्य गठबन्धनले सैन्य हस्तक्षेप शुरु गरेयता यमनमा हजारौँ नागरिकले ज्यान गुमाइसकेका छन् ।