
लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी क्षेत्रमा जारी इजरायली आक्रमण तत्काल रोकिनुपर्ने माग गर्दै लेबनानी सेनालाई युरोपेली मुलुकहरूले थप सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । सैन्य हस्तक्षेप र बल प्रयोगबाट मात्रै दिगो शान्ति तथा स्थायित्व हासिल हुन नसक्ने उल्लेख गर्दै उहाँले वार्ता र कुटनीतिक माध्यमबाट समस्या समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गर्नुभएको हो ।
बिहीवार बाब्दास्थित राष्ट्रपति भवनमा जर्मनीकी आर्थिक सहयोग तथा विकास मन्त्री रिम अलाबाली रादोभानसँग भएको उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति औनले वर्तमान संकट समाधानका लागि लेबनानको कुटनीतिक प्रतिवद्धता दोहो¥याउनु भयो ।

भेटका क्रममा राष्ट्रपति औनले लेबनानले अघि सारेका चार प्रमुख मुद्दाहरू–तत्काल युद्धविराम, इजरायली सेनाको पूर्ण फिर्ती, सीमा सीमांकन र बन्दी रिहाइमा अहिलेसम्म ठोस र सार्थक प्रगति हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । नागरिक बस्ती तथा पूर्वाधार लक्षित निरन्तरका सैन्य आक्रमणले सर्वसाधारण नागरिकको जनजीवन थप कष्टकर बनाएको र दक्षिणी लेबनानमा शान्ति स्थापनाको प्रयासमा बाधा पु¥याएको उहाँको भनाइ थियो ।


सुरक्षा चुनौतीहरूको सामना गर्न लेबनान र यहाँको राष्ट्रिय सेना औपचारिक संयन्त्रमार्फत अघि बढ्न तयार रहेको स्पष्ट पार्दै उहाँले सेनाको क्षमता अभिवृद्धि गर्न युरोपेली युनियनको सहयोग निर्णायक हुने बताउनु भयो । आन्तरिक सुरक्षा, आतंकवाद नियन्त्रण, लागुऔषध तस्करी रोकथाम र अवैध आप्रवासन नियन्त्रणमा लेबनानी सेनाले निर्वाह गरेको भुमिकाले सम्पूर्ण क्षेत्र र युरोपको समेत सुरक्षामा योगदान पुग्ने उहाँले जिकिर गर्नुभयो । आर्थिक विषयमा छलफल गर्दै राष्ट्रपति औनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको सहकार्यमा आर्थिक सुधारका कामहरू अघि बढाइएको जानकारी दिनुभयो ।
उहाँले विदेशी साझेदारहरूलाई आपत्कालीन राहतबाट माथि उठेर दीर्घकालीन आर्थिक साझेदारीमा जोड दिन र जर्मन कम्पनीहरूलाई पुनर्निर्माण तथा रोजगारी सिर्जनामा लगानी गर्न आह्वान गर्नुभयो । यसैबीच, जर्मन मन्त्री रिम अलाबाली रादोभानले संकटको घडीमा लेबनान र त्यहाँका जनताप्रति जर्मनीको पूर्ण ऐक्यवद्धता रहेको जनाउनु भयो । लेबनानमा विस्थापितहरूको संख्या १० लाखभन्दा माथिबाट घटेर करिव २ लाखमा झर्नु सकारात्मक भएको उल्लेख गर्दै उहाँले सार्वजनिक प्रशासन, खानेपानी, शिक्षा र सामाजिक सुरक्षाजस्ता क्षेत्रमा जर्मन सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, बेरुतलगायतका क्षेत्रमा भएका इजरायली आक्रमणबारे जर्मनीले इजरायल सरकारसमक्ष सिधै चासो र सरोकार राखिरहेको मन्त्री रादोभानले प्रष्ट पार्नुभयो ।





