
वरिष्ठ हास्यव्यङ्ग्य तथा चरित्र अभिनेता मदनकृष्ण श्रेष्ठले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा दृश्य माध्यम (चलचित्र तथा टेलिचलचित्र) अत्यन्त शक्तिशाली औजार भएको बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ लाई सम्बोधन गर्दै उहाँले छोटो समयमै आम नागरिकसम्म सन्देश पु¥याउन टेलिचलचित्रले महत्वपूर्ण भुमिका खेलेको ऐतिहासिक अनुभव स्मरण गर्नुभएको हो ।
राजधानीमा आयोजित काठमाडौं फिल्म फेस्टिभलमा भारतीय वरिष्ठ अभिनेत्री शबाना आजमी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा अभिनेता श्रेष्ठले सम्बोधन गर्नुभएको हो ।


महानगरपालिकाले चलचित्र क्षेत्र र कलाकारहरूलाई प्रत्यक्ष जोडेर यस्तो महोत्सव आयोजना गर्नु सकारात्मक र नौलो अभ्यास भएको उहाँको भनाइ छ । अभिनेता श्रेष्ठले आफ्नो अभिनय यात्राको स्मरण गर्दै लामो समयसम्म व्यावसायिक फिचर फिल्मभन्दा सन्देशमूलक टेलिचलचित्र निर्माणमा केन्द्रित हुनुको कारण खुलाउनु भयो । महोत्सवको मञ्चबाट खुशी साट्दै उहाँले आफूले समेत अभिनय गरेको र डा. कपिल रिजालले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘गौँथली’ ले फ्रान्सको ‘कान्स वल्र्ड फिल्म फेस्टिभल’ मा अवार्ड प्राप्त गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘फिचर फिल्म निर्माण र प्रदर्शनमा लामो समय लाग्थ्यो, तर टेलिभिजनका माध्यमबाट एउटै सन्देश छोटो समयमै करोडौँ नागरिकसमक्ष पु¥याउन सम्भव भयो । त्यसैले हामीले जनचेतना फैलाउने खालका टेलिफिल्महरूलाई प्राथमिकता दियौँ ।’
निर्देशक रिजालले फ्रान्सबाट फोन गरेर उक्त अन्तर्राष्ट्रिय सफलताको खबर सुनाएको उल्लेख गर्दै उहाँले नेपाली चलचित्रले विश्व मञ्चमा स्थान बनाउँदै गएकोमा गौरव व्यक्त गर्नुभयो । हाल पार्किन्सन्स रोगसँग जुधिरहनुभएका ७३ वर्षीय अभिनेता श्रेष्ठले शारीरिक अस्वस्थता र हिँडडुल गर्न कठिनाइ भएपनि कला क्षेत्रप्रतिको आत्मीयताका कारण कार्यक्रममा उपस्थित भएको बताउनु भयो । सोही अवसरमा उहाँले करिब चार दशकअघि काठमाडौंको विशाल बजारमा आयोजित एक समारोहमा भारतीय अभिनेत्री शबाना आजमीको हातबाट उत्कृष्ट हास्यकलाकारको पुरस्कार ग्रहण गरेको क्षण भावुक बन्दै स्मरण गर्नुभएको थियो ।





