आजको मौसमः तराई भू-भाग र उपत्यकामा केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने

काठमाडौं, १५ कात्तिक: हाल (अर्नब चक्रवातको अवशेष) न्यून चापीय क्षेत्रको रूपमा पश्चिम नेपाल नजिक रहेको र अपरान्हसम्म यसको असर नेपालमा देखिने तथा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ। साथै, माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मध्यम किसिमको वर्षा तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

राति भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ।

 

चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउछाउ पहिरो जान सक्ने र सडक यातायात अवरुद्ध हुनसक्ने तथा सडक एवं हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ।