शाहरुखको ‘किङ’ को अन्तर्राष्ट्रिय बजारमा १७५ करोडकाे किर्तिमानीमा बिक्री

मुम्बई, १५ कार्तिक ।शाहरुख खानको चलचित्र “किङ” ले हालै एउटा नयाँ इतिहास रचेको छ। यस चलचित्रको अन्तर्राष्ट्रिय वितरणका लागि ‘फर्स फिल्म्स’ सँग १७५ करोड भारुको ‘मिनिमम ग्यारेन्टी’ मा सम्झौता भएको छ।

उल्लेखनीय कुरा के हो भने, सुरुमा यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा ‘यशराज फिल्म्स’ मार्फत रिलिज हुने तय भएको थियो, जसले यसअघि शाहरुख खानका ‘डंकी’ र ‘जवान’ तथा उनीहरूकै निर्माणमा बनेको ‘पठान’ को वितरण गरेको थियो, तर, ‘फर्स फिल्म्स’ ले निकै ठूलो रकमको प्रस्ताव राख्दै ‘किङ’ को वितरण अधिकार प्राप्त गर्‍यो; किनकि यसअघि कुनै पनि भारतीय चलचित्रले १०० करोड भारूको ‘मिनिमम ग्यारेन्टी’ समेत पाएको थिएन।

‘मिनिमम ग्यारेन्टी’ भनेको के हो ? आजभोलि प्रायः वितरण सम्झौताहरू कमिसनमा आधारित हुन्छन्, जहाँ वितरकले कुनै निश्चित रकमको अग्रिम ग्यारेन्टी नदिई आफ्नो शुल्क वा कमिसन मात्र लिने गर्छन्। यसको विपरीत, ‘मिनिमम ग्यारेन्टी’ भनेको एउटा निश्चित रकम हो, जुन वितरकले कुनै विशेष क्षेत्रमा चलचित्र प्रदर्शन गर्ने अधिकार प्राप्त गरेबापत निर्माता वा अधिकारप्राप्त व्यक्तिहरूलाई अग्रिम रूपमा वा सम्झौतामा उल्लेख भएबमोजिम भुक्तानी गर्न मञ्जुर गर्छन्।

सरल शब्दमा भन्नुपर्दा, बक्स अफिसमा ‘किङ’ ले जतिसुकै कमाइ गरे पनि, ‘फर्स फिल्म्स’ ले अन्तर्राष्ट्रिय स्तरमा चलचित्र प्रदर्शन गर्ने अधिकारका लागि १७५ करोड भारू अनिवार्य भुक्तानी गर्नेछ।

‘फर्स फिल्म्स’ ले ‘किङ’  चलचित्रप्रति ठूलो विश्वास देखाएको भए तापनि यो एक ठूलो जोखिमपूर्ण कदम हो। शाहरुख खान अभिनित यो चलचित्र वितरकका लागि नाफामूलक बन्न विदेशमा मात्रै कम्तीमा २५० करोड भारू कमाउनुपर्ने हुन्छ।

‘फर्स फिल्म्स’ ले मध्यपूर्वमा आफ्नै सञ्जालमार्फत चलचित्र वितरण गर्नेछ भने उत्तर अमेरिका र बेलायतमा भने अर्कै वितरकले यसको प्रदर्शन सम्हाल्ने अपेक्षा गरिएको छ। ‘फर्स’ ले विभिन्न क्षेत्रका अधिकारहरू स्थानीय उप-वितरकहरूलाई बिक्री गर्ने सम्भावना छ र यसका लागि जर्मनीबाट एउटा बलियो प्रस्ताव पनि आइसकेको छ।

यद्यपि, ‘किङ’ का लागि यो यात्रा निकै चुनौतीपूर्ण हुनेछ। क्रिसमस र नयाँ वर्षको समयमा यसले ‘एभेन्जर्स: डुम्सडे’ , ‘ड्युन पार्ट ३’ र ‘जुमान्जी ३’ जस्ता हलिउडका ठूला र बहुप्रतिक्षित चलचित्रहरूसँग अन्तर्राष्ट्रिय बजारमा कडा प्रतिस्पर्धा गर्नुपर्नेछ।

‘पठान’ र ‘वार’ जस्ता चलचित्रका निर्देशक सिद्धार्थ आनन्दद्वारा निर्देशित यस चलचित्रमा सुहाना खान, अभिषेक बच्चन, दीपिका पादुकोण, अनिल कपुर, ज्याकी श्राफ, रानी मुखर्जी, जयदीप अहलावत, अरशद वारसी र राघव जुयालको पनि मुख्य भूमिका रहेको छ। यस चलचित्रको निर्माण ‘रेड चिलिज इन्टरटेनमेन्ट’ र ‘मार्फ्लिक्स फिल्म्स’ले गरेका हुन्।