
काठमाडौँ । इजरायलका विपक्षी नेता गादी आइजनकोटले नयाँ सरकार गठनका लागि चार सर्त अघि सारेका छन् ।
उनका सर्तमा इजरायललाई यहुदी तथा लोकतान्त्रिक राष्ट्रका रूपमा कायम राख्ने, सबै नागरिकका लागि सैन्य वा राष्ट्रिय सेवा अनिवार्य गर्ने, सन् १९४८ को स्वतन्त्रता घोषणाका सिद्धान्त पालना गर्ने र गाजाबाट हमासको शासन अन्त्य गर्ने विषय समेटिएका छन् ।


आइजनकोटले यी सर्त स्वीकार गर्ने दललाई गठबन्धनमा सहभागी हुन सक्ने बताएका छन् । अक्टोबर २७ मा भएको निर्वाचनमा कुनै पनि गठबन्धनले बहुमत नल्याएपछि सरकार गठनका लागि १२० सदस्यीय संसद्मा कम्तीमा ६१ सिट आवश्यक छ ।

उनको दल याशारले २१ सिट जित्दै विपक्षी दलमध्ये सबैभन्दा धेरै सिट हासिल गरेको छ । आइजनकोट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउन अन्य दलसँग छलफलमा जुटेका छन् । उनले विशेषगरी हालसम्म सैन्य सेवाबाट छुट पाउँदै आएको अति धार्मिक हरेदी समुदायलाई पनि अनिवार्य सेवामा समेट्नुपर्ने बताएका छन् ।
यसैबीच, याशारले नेतान्याहुको लिकुड पार्टीमाथि आफ्ना सांसदलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरेको आरोप लगाएको छ । लिकुडका नेताहरूले फोन गरेर सांसदलाई नेतान्याहुको समर्थन गर्न आग्रह गरिरहेको याशारको दाबी छ ।





