गहिरो मतभेदका कारण जी–२० विदेशमन्त्री बैठक संयुक्त विज्ञप्तिबिनै सम्पन्न

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूको समूह जी–२० का विदेशमन्त्रीहरूको दुईदिने बैठक कुनै संयुक्त विज्ञप्ति जारी नगरी सम्पन्न भएको छ । अमेरिकाको एटलान्टामा सम्पन्न बैठकमा युक्रेन संकट, अमेरिका–इरान द्वन्द्व तथा विश्वव्यापी आर्थिक र सुरक्षा चुनौतीका विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि संयुक्त विज्ञप्ति जारी हुन नसकेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको अध्यक्षतामा भएको बैठकमा भूराजनीतिक तनाव, ऊर्जा सुरक्षा र आपूर्ति शृङ्खलाका विषयमा छलफल भएको थियो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री रुबियोले होर्मुज जलडमरूमध्य र ब्ल्याक सीजस्ता महत्वपूर्ण जलमार्गमा आवागमनको स्वतन्त्रता, महत्त्वपूर्ण खनिजको आपूर्ति श्रृङ्खला तथा खाद्य सुरक्षाको विषयमा सबै राष्ट्रको साझा चासो रहेको बताउनु भयो । तर यी विषयको समाधान कसरी गर्ने भन्नेमा सदस्य राष्ट्रहरूबीच अझै मतैक्य हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । बैठकमा सहभागी चिनियाँ उपविदेशमन्त्री मा झाओसुले अन्तर्राष्ट्रिय परिस्थिति गहिरो परिवर्तनको चरणमा रहेको र भूराजनीतिक तनाव बढिरहेको बताउनु भयो । उहाँले विश्वको विकाससम्बन्धी एजेण्डा पनि पछाडि परेको उल्लेख गर्दै विश्व शान्ति र स्थायित्व कायम गर्न जी–२० ले थप जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।

चीनले अघि सारेको विश्व सुरक्षा पहलले साझा, व्यापक, सहकार्यमा आधारित र दिगो सुरक्षाको अवधारणा अघि सारेको उल्लेख गर्दै उहाँले क्षेत्रीय द्वन्द्वको मूल कारण सम्बोधन गर्न र अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउन आह्वान गर्नुभयो ।

ऊर्जा सुरक्षा र दिगो विकासका लागि सहकार्य बढाउनुपर्नेमा जोड दिँदै उहाँले ऊर्जा सबैको पहुँचमा पुग्ने गरी किफायती बनाउन, ऊर्जा संरचनाको रूपान्तरण गर्न तथा विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न ठोस कदम चाल्नुपर्ने बताउनु भयो ।

बैठकमा युक्रेन संकट, अमेरिका–इरान द्वन्द्व र अमेरिकी भन्सार नीतिलगायत विषयमा सदस्य राष्ट्रहरूबीच गम्भीर मतभेद देखिएको थियो । सहभागी प्रतिनिधिहरूले यी विवादका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको र अन्तर्राष्ट्रिय व्यापारमा अनिश्चितता थपिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण गर्न सक्ने र त्यसको जवाफमा इरानले पनि प्रतिकार गर्न सक्ने सम्भावनाबारे समेत प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका थिए ।
बैठकको पहिलो दिनमै अमेरिकी पक्षले विदेशमन्त्रीहरूको परम्परागत सामूहिक तस्बिर खिच्ने कार्यक्रमसमेत अचानक रद्ध गरेको थियो । रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगै तस्बिर खिच्न केही युरोपेली मुलुक, अस्ट्रेलिया र क्यानडाका प्रतिनिधिले असहमति जनाएको समाचारमा उल्लेख छ ।

 

त्यस्तै, गत वर्ष जी–२० को अध्यक्षता गरेको सदस्य राष्ट्र दक्षिण अफ्रिकालाई यसपटक अमेरिकाले बैठकमा आमन्त्रण नगरेपछि पनि विवाद उत्पन्न भएको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरमा फ्लोरिडाको मियामीमा जी–२० नेताहरूको शिखर सम्मेलन आयोजना गर्नुहुनेछ । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ ।

अमेरिकी विदेशमन्त्री रुबियोका अनुसार रुसी राष्ट्रपति पुटिनले सम्मेलनमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म औपचारिक जानकारी दिएका छैनन् ।

images