आजदेखि प्रदर्शनमा आयो फिल्म ‘पाँच पाण्डव’

काठमाडौं । तिहारको अवसर पारेर आजदेखि फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ । यस पटक तिहारमा एकल रिलिज भएको भएपनि यसको सिधा प्रतिष्पर्धा भारतीय फिल्म ‘रामायण’ बन्ने देखिएको छ ।

वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ को विषयमा विवाद समेत भएको थियो । फिल्मको पोस्टरमा द्रौपदीको रूपमा चिनाइएकी इभा गिरीलाई ‘राजा चाहिया छ’ गीतमा बोल्ड अवतारमा प्रस्तुत गरिएपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ । यद्यपि, निर्माण पक्षले फिल्मले कुनै धर्म र आस्थाप्रति चोट नपुर्‍याउने दाबी गरिरहेको छ ।

फिल्मलाई लिएर विवाद चर्किएपछि गृह मन्त्रालयको ठाडो आदेशमा प्रदर्शन रोक्ने प्रयास समेत भएको थियो । तर, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट प्रदर्शन अनुमति पाइरहेको फिल्मलाई रोक्न नमिल्ने भन्दै फिल्मकर्मीले आवाज उठाएपछि बिहीबार सञ्चार मन्त्रालयमा भएको छलफलबाट फिल्मलाई प्रदर्शन गर्न दिने सहमति भएको थियो ।

फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, नीरज पन्थीलगायतका कलाकारको अभिनय छ । फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा छन् ।