
स्पेनको बार्सिलोना सहरस्थित एक अस्पतालले रोगको अवस्था पूर्वानुमान गर्न र बिरामीअनुसार उपचार पद्धति छनोट गर्न सकिने ‘ह्युमन डिजिटल ट्विन’ प्रविधि विकास गर्ने भएको छ ।भल डी’हेब्रोन अस्पतालले प्रमुख प्रविधि कम्पनीहरूसँगको सहकार्यमा उक्त प्रविधि विकास गर्न लागेको हो ।
अस्पतालकाअनुसार यस प्रविधिमार्फत बिरामीको शरीरका अंग वा विशेष स्वास्थ्य अवस्थाको कम्प्युटरमा डिजिटल प्रतिरूप तयार गरी रोगको सम्भावित विकासक्रमको अध्ययन गर्न सकिनेछ । अस्पतालको डायग्नोस्टिक रेडियोलोजी विभागका निर्देशक डा. मानेल एस्कोबारकाअनुसार डिजिटल प्रतिरूपको प्रयोगबाट कुनै व्यक्तिमा रोग कसरी अघि बढ्न सक्छ भन्ने अनुमान गर्न सकिनेछ ।


साथै, कुन उपचार विधि उक्त बिरामीका लागि बढी प्रभावकारी हुन्छ र उपचारपछि स्वास्थ्य अवस्था कस्तो हुन सक्छ भन्ने पनि परीक्षण गर्न सकिने उनले बताए । यस प्रविधिअन्तर्गत बिरामीका विभिन्न मेडिकल इमेजिङ, प्रयोगशालाका परीक्षण नतिजा, आनुवंशिक विवरण तथा अन्य चिकित्सकीय तथ्याङ्क प्रयोग गरिनेछ ।

ती विवरणका आधारमा कम्प्युटेसनल मोडेल तयार गरी कृत्रिम बुद्धिमत्ता (एआई) र शरीरको जैविक प्रक्रियासम्बन्धी वैज्ञानिक मोडेललाई एकीकृत गरिनेछ । एस्कोबारकाअनुसार यस प्रविधिले जन्मजात तथा जटिल रोगको उपचार व्यवस्थापनमा सहयोग पु¥याउन सक्छ । विशेषगरी मुटुसम्बन्धी रोगका साथै माइग्रेनजस्ता सामान्य स्वास्थ्य समस्याको उपचारमा समेत यसको प्रयोग सम्भव हुने अपेक्षा गरिएको छ । युरोपेली क्षेत्रीय विकास कोष (ईआरडीएफ) ले यस परियोजनाका लागि एक करोड १७ लाख युरो अर्थात् करिब एक करोड ३० लाख अमेरिकी डलर उपलब्ध गराएको छ ।
आगामी तीन वर्षभित्र अस्पतालका विशेषज्ञ तथा प्रविधि साझेदारहरूले विभिन्न चिकित्सा र शल्यचिकित्सा विधिका लागि उन्नत कम्प्युटेसनल मोडेल विकास गर्नेछन् । यसमार्फत डिजिटल ट्विन प्रविधिलाई वास्तविक चिकित्सकीय अभ्यासमा प्रयोग गर्न सकिने अवस्थामा पु¥याउने लक्ष्य राखिएको छ । ‘ह्युमन डिजिटल ट्विन’ प्रविधिले प्रत्येक बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार उपचारको सम्भावित परिणाम पहिल्यै आकलन गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।





