भाइटीकाले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन्।

यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको र यमुनाले विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गर्नुभएको प्रसङ्ग उल्लेख गरेका छन्।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले त्यस दिन बहिनीबाट टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको उनले बताएका छन्।

सोही धार्मिक विश्वासअनुसार भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै विधिपूर्वक पूजा गर्ने, दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने र सप्तरङ्गी टीका लगाउने परम्परा रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

त्यसैगरी, विभिन्न मिष्ठान्न परिकार खुवाउने तथा दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने चलनले यस पर्वको पारिवारिक आत्मीयता र सांस्कृतिक महत्वलाई थप उजागर गर्ने उनको भनाइ छ।

भाइटीका नेपाली समाजमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र पारिवारिक एकतालाई अभिव्यक्त गर्ने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।

अर्घाखाँची डट कम
www.arghakhanchi.com