फिफा निर्वाचनमा इन्फान्टिनोका प्रतिस्पर्धीमा डियालो र तासिमा हुने

काठमाडौं, ३ मंसिर । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचनको प्रयासलाई फ्रान्सेली र जापानी फुटबल महासंघका अध्यक्षहरू फिलिप डियालो र कोजो तासिमाले चुनौती दिने भएका छन्।

फुटबलको विश्वव्यापी प्रशासकीय निकायले यसको पुष्टि गरेको छ। गत महिना उम्मेदवारी दिने घोषणा गरेका स्विट्जरल्यान्डका पूर्व डिफेन्डर रामोन भेगा बिहीबार फिफाले उल्लेख गरेका उम्मेदवारहरूको सूचीमा समावेश छैनन्।

सन् २०२७ को मार्चमा हुने निर्वाचनमा इन्फान्टिनोले पहिलो पटक चुनौतीको सामना गर्नेछन्। यसअघि सन् २०२३ मा उनी कुनै प्रतिस्पर्धा बिना नै पुनः निर्वाचित भएका थिए।

फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) का अध्यक्ष डियालोले सोमबार आफ्नो उम्मेदवारी घोषणा गरेका थिए  । उनलाई कार्यकारी समिति र फिफा काउन्सिलमा प्रतिनिधित्व गर्ने युइएफए (यूईएफए) सदस्य संघहरूको समर्थन प्राप्त छ भने जापानी फुटबल महासंघका अध्यक्ष तासिमाले यसै महिनाको सुरुमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए र बुधबार औपचारिक रूपमा मनोनयन दर्ता गराए।

फिफाले एक विज्ञप्तिमा भनेको छ, “उम्मेदवारीहरू निर्वाचन समितिसमक्ष पठाइएका छन्, जसले तिनको जाँचबुझ गरी उम्मेदवारहरूको स्वीकृतिबारे निर्णय लिनेछ, प्रस्तावित र स्वीकृत उम्मेदवारहरूको नामबारे सदस्य संघहरूलाई १८ फेब्रुअरी २०२७ सम्ममा जानकारी गराइनेछ।”

विश्वकप र अन्य प्रमुख प्रतियोगिताहरूमा आफ्नो हिस्सा बिक्री गर्ने उद्देश्यले ल्याइएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) प्रस्ताव असफल भएपछि फिफा अध्यक्ष इन्फान्टिनोलाई राजीनामा दिन बारम्बार आग्रह गरिएको छ।

तर सन् २०१६ देखि फिफा अध्यक्ष रहँदै आएका ५६ वर्षीय स्विट्जरल्यान्डका नागरिक इन्फान्टिनो भने आफूलाई पुनः निर्वाचित गराउन विश्वभरका सदस्य संघहरूको पर्याप्त समर्थन रहेको दाबी गर्छन्। सन् २०२३ मा एफएफएफको अध्यक्ष बनेका डियालोले एफएफई विवादका कारण यस वर्ष फ्रान्स र अन्य युरोपेली फुटबल संघहरूले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिँदा प्रमुख भूमिका खेलेका थिए।

सोमबार युइएफएले भन्यो, “फिफाको कार्यदिशालाई लिएर गम्भीर चिन्ताहरू व्यक्त भइरहेको पृष्ठभूमिमा राष्ट्रिय फुटबल संघहरूले विश्वव्यापी फुटबल समुदायभित्र पुनः एकता र विश्वास कायम गर्न आह्वान गरेका छन्।”