
५ हजार करोडको केदारनाथ रोपवे परियोजना अघि बढ्दै,
-सञ्जय मिश्रा

रौतहट ९ मंसिर। लामो समयदेखि निकै कठिन मानिएको बाबा केदारनाथको यात्रा अब एकदम सहज र सरल हुने भएको छ।
केदारनाथ धामको कठिन पहाडी यात्रा अब सहज हुने अपेक्षा गरिएको हो।
भारत सरकारले करिब ५ हजार करोड भारतीय रुपैयाँको लागतमा केदारनाथ रोपवे परियोजना अघि बढाउने तयारी गरेको छ। परियोजना निर्माण सम्पन्न भएपछि श्रद्धालु गौरीकुण्डबाट केदारनाथ मन्दिरसम्म केवल २७ मिनेटमै पुग्न सक्नेछन्।


केन्द्रीय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले मंगलबार सातौँ विश्व पहिरो मञ्चमा सम्बोधन गर्दै यस महत्वाकांक्षी परियोजनाबारे जानकारी दिएका हुन्।

भारु ५ हजार करोडको लगानी, सरकारलाई वार्षिक ८०० करोड रोयल्टी
गडकरीका अनुसार केदारनाथ रोपवे परियोजनामा लगानी गर्न एक लगानीकर्ता अघि आएका छन्। निर्माण, सञ्चालन र हस्तान्तरण (बीओटी) मोडेलअन्तर्गत लगानीकर्ताले आफ्नै लगानीमा ५ हजार करोड रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेको छ।

यसको बदलामा लगानीकर्ताले सरकारलाई प्रत्येक वर्ष ८०० करोड रुपैयाँ रोयल्टी दिनेछ।
गडकरीले परियोजना स्वीकृतिका लागि आफ्नो मन्त्रालयमा आउँदा पूर्ण सरकारी लगानीको विकल्पमा बीओटी मोडेल अपनाउन सुझाव दिएको बताए। निजी क्षेत्रको चासो देखिएपछि परियोजना अघि बढाउने बाटो खुलेको उनको भनाइ छ।

कठिन यात्राबाट श्रद्धालुलाई राहत

उत्तराखण्डको गढवाल हिमालय क्षेत्रमा अवस्थित केदारनाथ मन्दिर हिन्दू धर्मावलम्बीको प्रमुख तीर्थस्थलमध्ये एक हो। यहाँ दर्शन गर्न जाने श्रद्धालुले गौरीकुण्डबाट कठिन पहाडी बाटो हुँदै पैदल उकालो यात्रा गर्नुपर्ने हुन्छ।
उकालो बाटो, प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण केदारनाथ यात्रा निकै चुनौतीपूर्ण मानिन्छ। विशेषगरी वृद्धवृद्धा, अशक्त तथा लामो दूरी हिँड्न नसक्ने श्रद्धालुलाई यात्रा गर्न कठिनाइ हुँदै आएको छ। रोपवे निर्माण भएपछि लामो र कठिन यात्रा छोटिने तथा श्रद्धालुले सहज रूपमा मन्दिरसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ।
धार्मिक पर्यटनमा नयाँ सम्भावना
केदारनाथ रोपवे परियोजना सम्पन्न भएपछि धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। यात्राको समय घट्दा तीर्थयात्रीको आवागमन सहज हुनुका साथै पर्यटन क्षेत्रको आर्थिक गतिविधिमा समेत वृद्धि हुन सक्नेछ। यद्यपि, परियोजना निर्माण सम्पन्न हुने निश्चित समयसीमा भने सरकारले अहिलेसम्म सरकारले सार्वजनिक नगरेको
भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ।





