इरानमाथि तत्काल सैन्य आक्रमण गर्नुपर्ने खतरा नरहेको इजरायली विपक्षी नेताको भनाइ

इजरायलको विपक्षी गठबन्धनका नेता गादी आइसेनकोटले आगामी केही साताभित्र वा नयाँ सरकार गठन हुनुअघि इरानमाथि सैन्य आक्रमण गर्नुपर्ने तत्काल र प्रत्यक्ष खतरा नरहेको बताएका छन् । प्रशारण गरिएको एक वक्तव्यमा उनले इरानबाट उत्पन्न सबैभन्दा गम्भीर खतरा ४४० किलोग्राम प्रशोधित युरेनियम रहेको उल्लेख गर्दै त्यसलाई नष्ट गर्ने वा इरानबाट हटाउने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनको यो भनाइ इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल भइरहेका बेला आएको हो ।

यसैबीच, इजरायली सञ्चारमाध्यमहरूले निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि तत्काल संयुक्त सैन्य आक्रमण गर्न आग्रह गरिरहेको समाचार सार्वजनिक गरेका छन् ।

नेतान्याहुले इजरायल आफैँले पनि इरानमाथि आक्रमण गर्नुपर्ने दबाब दिइरहेको समाचारमा उल्लेख छ । यद्यपि, नेतान्याहुले इजरायली संसद (नेसेट) मा आफ्नो लिकुड पार्टीको बैठक उद्घाटन गर्दै इरानबाट उत्पन्न तत्कालीन खतरालाई कम आँकलन गर्नेहरूले राजनीतिक स्वार्थका कारण त्यसो गरिरहेको आरोप लगाए ।

उनले इरानको खतरा वास्तविक र गम्भीर रहेको बताए । त्यस्तै, पूर्वरक्षामन्त्री तथा विपक्षी गठबन्धनका नेता गादी आइसेनकोटका सहयोगी अविग्दोर लिबरम्यानले नेतान्याहुले इरानमाथि एकपक्षीय सैन्य आक्रमणको आदेश दिए त्यो स्पष्ट रूपमा गैरकानुनी आदेश हुने टिप्पणी गरेका छन् । इजरायलको सरकारी सञ्चारमाध्यम कान न्युजका अनुसार लिबरम्यानले पार्टीको बैठकमा यस्तो धारणा राखेका हुन् । इरानको आणविक कार्यक्रम र त्यससँग जोडिएको सुरक्षा चुनौतीलाई लिएर इजरायलभित्रै तत्काल सैन्य कारबाही गर्ने वा कुटनीतिक तथा अन्य उपायलाई प्राथमिकता दिने भन्ने विषयमा मतभेद देखिएको छ ।