
केन्या र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले कुटनीतिक सम्बन्ध पूर्ण रूपमा पुनःस्थापना गर्ने सहमति गरेका छन् । केन्याका राष्ट्रपति विलियम रुटो र डीआर कङ्गोका राष्ट्रपति फेलिक्स चिसेकेदीबीच भएको भेटवार्तामा दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधार गर्ने सहमति भएको हो ।
कङ्गो गणतन्त्रको उत्तरी सहर ओयोमा आयोजित चारपक्षीय शिखर सम्मेलनका क्रममा दुई नेताबीच उक्त सहमति भएको जनाइएको छ । सहमतिअनुसार दुवै देशले राजदुतस्तरमा कुटनीतिक प्रतिनिधित्व पुनःस्थापना गर्ने, संयुक्त वृहत सहयोग आयोगलाई पुनःसक्रिय बनाउने र नियमित कुटनीतिक परामर्शलाई निरन्तरता दिने भएका छन् । त्यसैगरी व्यापार, आर्थिक विकास, सुरक्षा तथा संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने र क्षेत्रीय शान्ति, स्थायित्व तथा एकीकरणलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि दुवै देशले व्यक्त गरेका छन् । राष्ट्रपति रुटोले सामाजिक सञ्जाल एक्समार्फत संवाद, पारस्परिक सम्मान र मतभेदको शान्तिपूर्ण समाधानलाई दुई देशबीचको सम्बन्धको आधार बनाइने बताएका छन् ।


डीआर कङ्गोको राष्ट्रपतिको कार्यालयले पनि पारस्परिक समझदारी र क्षेत्रीय शान्तिप्रतिको प्रतिबद्धताका साथ दुवै देशले आफ्ना राजदूत फिर्ता बोलाउने निर्णयसहित द्विपक्षीय सम्बन्ध पूर्ण रूपमा पुनःस्थापना गर्न सहमति जनाएको जनाएको छ । दुवै नेताले राज्यको सार्वभौमिकता, भौगोलिक अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेप, असल छिमेकी सम्बन्ध र विवादको शान्तिपूर्ण समाधानका सिद्धान्तप्रति प्रतिबद्धता दोहो¥याएका छन् । त्यस्तै व्यापार तथा लगानीमा विशेष जोड दिँदै आर्थिक सहकार्य बढाउने र इबोला भाइरस रोगको रोकथाम तथा नियन्त्रणमा संयुक्त प्रयास तिब्र बनाउने सहमति पनि भएको छ ।

कङ्गो गणतन्त्रका राष्ट्रपति डेनिस सासु एनगुएसोको आतिथ्यमा आयोजित सम्मेलनमा केन्याका राष्ट्रपति रुटो, डीआर कङ्गोका राष्ट्रपति चिसेकेदी र टोगोका मन्त्रिपरिषद् अध्यक्ष फाउरे एसोजिम्ना ग्नासिङ्बे सहभागी थिए । ग्नासिङ्बे पूर्वी डीआर कङ्गोको संकट समाधानका लागि अफ्रिकी संघका मध्यस्थकर्तासमेत हुन् । सन् २०२३ डिसेम्बरदेखि केन्या र डीआर कङ्गोबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । त्यसबेला एम २३ विद्रोही समूहसमेत संलग्न रहेको ‘कङ्गो रिभर एलायन्स’ नामक राजनीतिक–सैन्य गठबन्धन गठन भएपछि किन्सासाले केन्याका लागि आफ्नो राजदुत फिर्ता बोलाएको थियो । पछिल्लो सहमतिलाई दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ ।




